Wednesday 9th September 2026

कोरियामा अलपत्र परेका ५ नेपाली स्वदेश फर्किए


तितोपाटी-दक्षिण कोरियाको इन्छन विमानस्थलमा एक महिनादेखि अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका र कोरियाको पोछन नगरपालिकाबीच भएको सहमतिअनुसार त्यहाँ पुगेका नेपाली अलपत्र परेका थिए। गत अगष्ट १२ मा कलकत्ता विमानस्थलबाट कोरिया उडेका उनीहरु कोरिया प्रवेश गर्नु अगावै भिसा रद्द भएपछि इन्छन विमानस्थलमा अलपत्र परेका थिए।

उनीहरुले मौसमी कामदारको रुपमा पोछन नगरपालिकाले सम्झौता गराएर आफूहरूलाई ल्याईएपनि बिनासूचना भिसा रद्द गरिएको भन्दै कोरियामा नै काममा लगाउन माग गरेका थिए।

लामो समयसम्म विमानस्थलमै बसेका उनीहरुलाई शनिबार यहाँको नगरपालिकाले नेपाल फर्किने टिकट उपलब्ध गराएर फिर्ता गराएको बताइएको छ। उनीहरुले यहाँको नगरपालिकासँग भिसा रिन्यू गराउन असंभव भए नेपालबाट पुन: कोरिया आउन पाउने गरी सम्झौता गराइदिन माग गरेका थिए। तर नगरपालिकाले अस्विकार गरेको थियो।

नगरपालिकाले नेपाल फर्कने टिकटको शुल्क दिने बाहेक अन्य कुनैपनि सहयोग गर्न नसकिने बताएपछि उनीहरु नेपाल फिर्ता भएका हुन्। सुर्खेतको पञ्चपुरी नगरपालिकाले कोरियाको ख्यङगीदो प्रान्तको पोछन नगरपालिकासँग ३ महिनाका लागि मौसमी कामदार पठाउने सम्झौता गरेपनि नगरपालिकाले गैरजिम्मेवारीपूर्वक दलाललाई जिम्मा लगाएर पठाएको थियो।

नगरपालिकाले स्थानीय तहलाई कामका लागि युवा विदेश पठाउने क्षेत्राधिकार नभए पनि युवाहरुलाई कोरिया पठाएको थियो। दुवै देशका नगरपालिकाहरुबीच आपसी सम्झौता गरेर तोकिएको समयमै नेपाली कामदार कोरिया पठाउनु पर्नेमा पञ्चपुरी नगरपालिकाले दलाललाई जिम्मा लगाइदिएको थियो। दलालले उनीहरुलाई तोकिएको समयभन्दा तीन महिना ढिलो पठाएको थियो।

सम्झौतामा उल्लेख गरिएको समयावधि सकिएर कोरिया आएका उनीहरुलाई विमानस्थलले रोकेको थियो। नगरपालिकाले उनीहरुसँग अप्रिल २० भित्रै कोरिया प्रवेश गर्नु पर्ने गरी सी—फोर भिसामा सम्झौता गराएको भए पनि अगस्ट १३ मा मात्र ती युवा कोरियास्थित इन्छन विमानस्थल उत्रिएका थिए।

यसअघि अप्रिल २० भित्रै कोरिया प्रवेश गराउन नगरपालिकाले प्रयास गरेको थियो। पञ्चपुरी नगरपालिकाले स्थानीय युवाका साथै बाहिरी जिल्लाका युवालाई पनि सिफारिस गरेको थियो। उनीहरूलाई समयमै पठाउन प्रयास गरिए पनि नेपालस्थित अध्यागमनले त्रिभुवन विमानस्थलले रोकेको थियो। गलत कागजपत्र पाइएपछि ती २८ जनालाई विमानस्थलले गत महिना रोकेको थियो।
– नेपाल लाईभ बाट


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...