Wednesday 29th July 2026

विदेशमा सिकेको सीपले स्वोदेशमा मालामाल


तितोपाटी-करिब अढाई वर्ष कतारमा संघर्ष गरेका पकुवाका गणेश पौडेल २ वर्षअघि गाउँ फर्किए । कतारमा गरेको संघर्षबाट पाठ सिकेका उनले गाउँमै केही गर्ने योजना बनाए । सजिलो उपाय रोजे, तरकारी ।

गाउँमै परिवारसँगै बसेर कतारमा जस्तै संघर्ष गर्न उनलाई जाँगर पनि चल्यो । फर्किएलगत्तै तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा साताव्यापी तालिम लिए । कतारको दुःख सम्झिँंदै व्यवसायमा तल्लीन गणेशलाई पहिलो वर्षमै उल्लेख्य सफलता मिल्यो ।

५ लाख खर्चेर ३ वटा हाइटेक टनेलमा गोलभेंडा लगाएका उनले पहिलो वर्षमै ४ लाख आम्दानी गरे । उनको जाँगरलाई गण्डकी प्रदेश सरकारले अझै हौसला दियो । गत वर्ष मोडेल फर्म साझेदारी कार्यक्रमअन्तर्गत ५ लाख रुपैयाँ अनुदान दिएपछि उनले टनेल थपेका छन् । अहिले पाँचवटा हाइटेक टनेल छन् । चारवटामा गोलभेंडा लगाएका छन् । एउटामा मिटर बोडी ।

बेसिजनमा फलेको गोलभेंडाबाट राम्रो आम्दानी गरेको बताउँछन् । ‘एक महिना निरन्तर प्रतिकिलो सय रुपैयाँमा बेचें,’ गणेशले भने, ‘राम्रो मूल्य पाउँदा त्यसमा गरेको संघर्ष बिर्सिन्छ ।’ दैनिक ६ घण्टा तरकारी बारीमा खट्ने गणेशले मासिक ५० देखि ६० हजारसम्म तरकारीबाट मात्रै आम्दानी भइरहेको जनाए । सुरुमा कुखुरापालन व्यवसायबाट ऋण लागेपछि कतार हानिएका गणेशले ठूलै हन्डर खाएपछि मात्रै चेत खुलेको बताए ।

पकुवामा विदेशबाट फर्केर मोडेल फर्म सञ्चालन गर्ने गणेश एक्ला होइनन् । नजिकैका दीपेन्द्रबहादुर क्षत्रीले पनि विगत ११ वर्षदेखि निरन्तर तरकारी खेती गर्दै आएका छन् । क्षत्री पनि १३ महिना कतारमै बसेर फर्किएका हुन् । दलालले राम्रो काम लगाइदिन्छु भन्दै कतार पुगेका क्षत्री पुग्नेबित्तिकै ३५ दिन जेल परे ।

जेलपछि एक वर्ष कठिन संघर्षसाथ कतार बिताएका क्षेत्री गाउँ फर्किएलगत्तै तरकारी खेती थाले । १० टनेलभित्र गोलभेंडा लगाएका उनले गत वर्षदेखि मोडेल फर्म सञ्चालन गरेका छन् । ‘आम्दानीले ८० लाखको घर बनाएँ,’ क्षत्रीले भने, ‘तरकारीबाटै भएको आम्दानी हो । अब झन् विस्तार गर्दै छु । हालसम्म ८ रोपनीमा तरकारी लगाएका क्षत्रीले ५ रोपनी थप्दै छन् । २ हाइटेक टनेल बनाइसकेका छन् । ‘अहिलेसम्म आफ्नै लगानीमा काम गरिरहेको छु,’ क्षत्रीले भने, ‘प्रदेश सरकारले सहयोग गर्ने सुनेको छु । यो वर्ष त्यहाँ प्रपोजल हाल्दै छु । सहयोग पाए खेती विस्तारमा अझै उत्साह हुन्थ्यो ।’

पकुवाकै प्रदीप तिमिल्सिना, सूर्य केसी, गोविन्द पौडेल, विश्वराज जोशीलगायत युवा व्यावसायिक तरकारी खेतीमा क्रियाशील छन् । उनीहरूलाई लगानी र प्रतिफलका आधारमा सरकारी सहयोग प्रदान गरिएको कृषि ज्ञानकेन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष मात्रै पर्वत र बागलुङमा यस्ता मोडेल फर्म सञ्चालन गर्ने किसानको संख्या ८० पुगेको छ ।

सरकारले कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणका लागि यस्ता फर्ममा सहयोग गरिरहेको केन्द्रप्रमुख वासुदेव रेग्मीले बताए । वैदेशिक रोजगारीबाट फर्केका, एकल महिला, बेरोजगार तथा व्यावसायिक ज्ञान भएका युवालाई प्रोत्साहन गर्न गत वर्षदेखि मोडल फर्म कार्यक्रम सुरु गरेको हो । पर्वत र बागलुङ जिल्ला हेर्ने गरी पर्वतमा ज्ञानकेन्द्र सञ्चालन भएपछि यो कार्यक्रम लागू भएको हो । एक वर्षको अवधिमा मोडल फर्म तयार गरि किसानहरूले आर्थिक लाभसमेत लिइसकेका छन् ।

कृषिको व्यवसायीककरण, यान्त्रीकरण र आधुनिकीकरण गर्न भन्दै सरकारले सुरु गरेको मोडल फर्म कार्यक्रममा युवाको उत्साहजनक सहभागिता छ । रेग्मीका अनुसार व्यावसायिक फर्म सञ्चालनका लागि आवश्यक हाइटेक टनेल, सिंचाइ व्यवस्थापन, प्राविधिक उपकरण र अन्य पूर्वाधार निर्माणका लागि गत वर्षदेखि यस्तो अनुदानको कार्यक्रम सञ्चालन गरिएको छ ।

किसानको उत्साह, लगानी र प्रतिफलका आधारमा ५० देखि ७० प्रतिशतसम्म अनुदान दिइएको छ । अघिल्लो वर्ष मात्रै यसका लागि तीन करोड ४४ लाख रुपैयाँ बजेट खर्च भएको छ । प्राविधिकले उत्पादनको सम्भावना हेरेर मोडल फर्म बनाउन किसानलाई सहयोग गरेका हुन् । कार्यालयले विभिन्न ९ वटा बाली समेटेर नमुना फर्म सञ्चालन भएको जानकारी दिएको छ ।
साभार कान्तिपुर


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...