Sunday 27th September 2026

वैदेशिक रोजगारीका लागि युरोप उत्तम


तितोपाटी- गुणस्तरीय वैदेशिक रोजगारीका लागि सरकारले युरोपियन मुलुकको तयारी गरेको छ । कामदारको सुरक्षा, सुविधा र पारिश्रमिकलाई मध्यनजर गर्दै सरकारले उत्तम गन्तव्यका रूपमा युरोपियन मुलुकहरूलाई प्राथमिकतामा राखेको छ ।

श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार केही युरोपियन मुलुकसँग कूटनीतिक छलफल भएको छ । हाल नेपालले विभिन्न ११० मुलुकमा वैदेशिक रोजगारी खुला गरेको छ । त्यसमध्ये हाल इराक, लिबिया र अफगानिस्तानलाई बन्द गरिएको छ । अफगानिस्तानमा निश्चित क्षेत्रका लागि भने खुला छ । त्यस्तै विभागले ९ मुलुकसँग वैदेशिक रोजगारीका लागि श्रम सम्झौता गरेको छ । तर, सुरक्षा, सुविधा र पारिश्रमिकको दृष्टिकोणले खाडी मुलुक अत्यन्तै जोखिम भएको मन्त्रालयको ठम्याइ छ । त्यसैले यसको विकल्प र गुणस्तरीय रोजगारीको सरकारले खोजी गरेको छ ।

सरकारले जेनेभामा भएको बैठकमा पोचुर्गल, टर्कीलगायतका अन्य मुलुकसँग छलफल भएको मन्त्रालयले बताएको छ । मन्त्रालयले कूटनीति तहबाट छलफल पनि अगाडि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालका लागि युरोपियन र उत्तर अमेरिकी मुलुकमा श्रम बजारको ठूलो सम्भावना रहेको बताएको छ । यी मुलुकहरू विकासतर्फ उन्मुख भइरहेकाले श्रमिकको माग बढ्दै गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार विभागका सहसचिव दीपक ढकालले बताए ।

‘यी मुलुकमा हामीले सम्बन्ध विस्तार गर्न सक्यौँ भने खाडीका लागि उचित विकल्प हुनेछ,’ उनले भने । अहिले युरोपियन, उत्तर अमेरिकी, अफ्रिका र अस्ट्रेलियालगायतका मुलुक नेपालका लागि श्रम बजारको बढी सम्भावना भएको मुलुक हो । त्यस्तै, न्युजिल्यान्ड, क्यानडालगायतका मुलुकमा छोटो अवधिका लागि श्रमिकको माग हुने गरेको उनले बताए । ढकालका अनुसार चीन पनि बढी सम्भावना भएको नजिकको मुलुक हो  ।
साभार नयाँपत्रिका


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...