Friday 17th July 2026

रोजगारीको लागि युरोप जाने लोभमा तीन दर्जन युवा ठगिए


तितोपाटी- वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्तानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौं रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन्।

जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालिका जाँतेका भोपाल थापाले जिल्लाका साउने, खाबु, त्रियुगा नगरपालिका, जाँते, लाफागाउँ, चुहाडे क्षेत्रका तीन दर्जन युवालाई विदेश पठाइदिने भन्दै करोडौं रकम असुलेर बेपत्ता भएपछि आफूहरू ठगिन पुगेको पीडित युवाको गुनासो रहेको छ।जिल्लाका पीडितमध्येका हरिबहादुर कार्कीका अनुसार कसैलाई युरोप, कसैलाई दुबई र अफगानिस्थान पठाइदिने भनेर आफूहरुबाट रु अढाइ लाखदेखि चार लाखसम्म रकम उठाएर मगर र थापा अहिले सम्पर्कविहीन भएका छन्।

अर्का पीडित अमृत आलेमगरले काठमाडौंस्थित सिनामङ्गलमा रहेको भेरी ओभरसिज मार्फत आफूहरूलाई विदेश पठाइदिने भन्दै रकम असुलेर उनीहरू अहिले सम्पर्कविहीन भएको कारण आफूहरूको रकम डुबेको बताए। केही पीडित युवाले न्यायको लागि जिल्ला प्रशासन उदयपुरमा समेत निवेदन दिएको र आफूहरूलाई ठगी गर्नेविरुद्ध कारवाहीको लागि निवेदन दिएको बताउँछन्। यस विषयमा उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का भन्छन्, ‘केही युवा आफूहरू ठगिएको गुनासो लिएर प्रशासनमा आएको तर पठाउने कम्पनी आधिकारिक हो कि हैन, ती पठाउने व्यक्ति सम्बन्धित कम्पनीका हुन् कि हैनन भनेर बुझ्न र आधिकारिकता र कारवाहीका लागि क्षेत्रीय श्रम कार्यालय विराटनगरमा जान सुझाव दिएको छु।’

पीडित युवामा जिल्लाका विभिन्न स्थानका इन्द्र मगर, रामबहादुर मगर, गोविन्द मगर, सुपबहादुर मगर, अम्बर रिमाल, अमृत आले, हरिबहादुर कार्की, डम्बर मगर रहेका छन्। त्यसैगरी राजेश श्रेष्ठ, पूर्णथापा मगर, रामकुमार मगर, खगेन्द्र मगर, बमहादुर राईसहित तीन दर्जन युवा वैदेशिक रोजगारी पठाइदिने नाममा दलालबाट ठगिन पुगेको पीडितले बताएका छन्। विदेश पठाइदिने भन्दै पटक–पटक सबैबाट चार लाखसम्म रकम सङ्कलन गरेर अब तयारी रहनु भनेर उनीहरू हाल मोबाइलसमेत स्विचअफ गरेर बेपत्ता भएपछि आफूहरू ठगिएका रहेछौं भनेर जानकारी भएको पीडित युवाले बताएका छन्।
-रातोपाटी


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...