Thursday 1st October 2026

अविरल वर्षा पछिको बाढी-पहिरोमा परि २२ भन्दा बढीको मृत्यु, हजाराैं विस्थापित


तितोपाटी – नेपालमा बिहिबार साँझ देखि परेको अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३ जना, काभ्रे, भोजपुर र धादिङमा २/२जना, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो । बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् । काठमाडौं र त्यसपूर्वको भूभागमा बढी प्रभाव परेको छ ।

राजधानी उपत्यकाका अधिकांश ठाउँ, पूर्वी र मध्य तराईका धेरैजसो जिल्ला डुबानमा परेका छन् भने बाढी र पहिरोले दर्जनौं ठाउँमा यातायात अवरुद्ध भएको छ । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएका छन् । काठमाडौंबाट बाहिरिएका र भित्रिने सवारी साधन जाममा फसेका छन् । हजारौं यात्रु बिचल्लीमा परेका छन् । डुबानका कारण तराईका जिल्लामा खानेपानीको समस्या हुन थालेको गृह मन्त्रालयले जनाएको छ ।

अविरल पानी परिरहँदा नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ । नदी र खोलाहरूमा बहाव बढ्दै गइरहेको छ । बाढीपहिरो र डुबानबाट मोरङका ४ सय परिवारका १ हजार जना र बाराका ३५ परिवारका १ सय ७५ जना विस्थापित भई घरबाट अन्यत्र शरण लिन बाध्य भएका छन् । मुलुकभरबाट बाढीपहिरोमा परेका १ सय ५३ जनाको उद्धार गरिएको गृहले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबारसम्म पानी परिरहने जनाएको छ । विभागले वर्षाबाट नदी र खोलाको बहाव निरन्तर बढ्ने र बाढीपहिरोको खतरा भएकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ । गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको हवाला दिँदै आइतबारसम्म वर्षा जारी रहने भएकाले नदी र खोला छेउका बस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । २४ घण्टामा सबैभन्दा बढी सिमरामा ३११ मिलिमिटर वर्षा भएको छ ।

विपद्मा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट विशेष टिम परिचालन गरिएको छ । उपत्यकामा डुबान भएका क्षेत्रमा डुंगासहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ । तराईमा पनि सेना र सशस्त्र प्रहरीका विशेष टोली खटिएका छन् । पहाडी जिल्लाहरूका लागि पनि उद्धारमा सुरक्षा टोलीहरू राखिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ११५, ओखलढुंगामा १०१, धनकुटामा ७५.५ र भैरहवामा ४३ मिलिमिटर पानी परेको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...