Wednesday 30th September 2026

उड्दा उड्दैको भंगेरो भुइंमा खस्यो, गर्मी कति बढेछ त ?


दिउँसोको ४ बज्दै थियो, ५ नं. प्रदेशसभा परिसरमा आकाशमा उडिरहेको भंगेरा अकस्मात भुइँमा खस्यो। प्रदेशसभा सचिवालयको बरण्डामा बसेका आधा दर्जन जति पत्रकार र केही सुरक्षाकर्मी उक्त घटनाका प्रत्यक्षदर्शी थिए।घटना केही दिन अघिको हो।हामी बसेकै अगाडि उड्दै आएको एउटा भंगेरा भुइँमा खसेपछि अरु दुई तीन वटा भंगेरा पनि कराउँदै भुइँमा बसे। तर वरिपरि धेरै मानिस देखेर होला अरु भंगेरा उडेर गए।भुइँमा खसेको भंगेरा भने भुइँमा छटपटाइ रह्यो। एकैछिनमा चलमलाउन पनि बन्द भयो, मुख भने आ.. आ.. गरिरहेको अवस्थामा थियो।

प्रदेशसभा सचिवालयको सुरक्षार्थ खटिएका प्रहरी जवान सुजन अधिकारी उक्त घटनाका प्रत्यक्षदर्शीमध्ये एक थिए। अधिकारीले भुइँमा खसेको भंगेरालाई हातमा लिएर पानी पिलाए।अधिकारीले दुई चार थोपा पानी के पिलाएका थिए चराले आँखा खोल्यो, हातमा राख्दा उभिन सक्ने भयो, लामो समय तिर्खाएकोले होला मुख भने आ.. आ.. नै गरिरहेको थियो। केही समय शितलमा राखेपछि तंग्रियो।पहाडी क्षेत्रमा अझै पनि मानिसहरू तराई झर्न हिचकिचाउनुको कारण तराईको प्रचण्ड गर्मी हो।कुनै बेला तराईमा औलो लाग्छ भन्ने डरले तराई झर्दैनथे।

पहाडी र हिमाली क्षेत्रका बासिन्दाको साझा बुझाइ थियो वैशाख जेठ महिनाको गर्मीमा मधेशमा उडिरहेका आकाशका चरा पनि भुइँमा खस्छन्, दौडिरहेका जनावर पनि हिँड्दा हिँड्दै पल्टिन्छन्।अहिले तराईमा त्यस्तै गर्मी बढेको छ। यो क्रम पछिल्लो समय बढ्दै गएको छ। विकास निर्माण गर्ने भन्दै खाली रहेका चौर तथा जंगल मासेर ठूला/ठूला भौतिक संरचना बनाइएका छन्।५ वर्ष अघि सडकको दायाँ र बायाँ पहेंलै र रातै फूल फुलेर ढकमक्क देखिने बेलहिया बुटवल खण्डमा सबै बोट बिरुवा मासेर ६ लेनको चिल्लो सडक बनेको छ।

पहिले एक घण्टामा पुगिने बुटवल भैरहवाको यात्रा २० मिनेटमा छोट्टिए पनि सडक छेउछाउको हरियाली र शितलता भने मासिएको छ।सबै जसो स्थानीय तहले टोलटोलमा चिल्ला सडक निर्माण गरेका छन्। चिल्लो बनाउन नसकेका स्थानमा पनि पहाड काटेर र खोला खनेर निकालिएको गिट्टी बालुवा भए पनि बिच्छाएर ग्राभेल बनाएका छन्।बिहान सूर्य उदाएदेखि बेलुका अस्ताउने बेलासम्म एकनासको चर्को घाम लाग्दा सडकमा हिँडडुल गर्नेहरू पनि पातलिएका छन्। मुख्य सडक र बाटो छेउका छायादार रुख सडक विस्तारका नाममा मासिँदा सर्वसाधारणले शितलमा बस्ने ठाउँ पाउन छोडेका छन्।

पहिले बोटबिरुवासहितको हरियाली रहेको सहर बजार अहिले भने सिमेन्टको जंगल बनेको छ। बजारमा खाली जग्गा पाउन मुश्किल छ। भएका जमिनमा पनि हरियो रुख बिरुवाभन्दा गिट्टी बालुवा र ढुंगा थुपारिएका छन्।असार लागेपछि वर्षा सुरू हुने भए पनि चैत महिनादेखि जेठसम्म तराइमा खडेरी पर्छ, कुनै वर्ष त माघ फागुनमा पनि पानी नपरेपछि चार पाँच महिना नै खडेरी पर्छ।पानी परे पनि जताततै कालोपत्रे र ढलान गरिएका सडक, जमिनमुनि ढलान नै गरिएका नाली र ढलको कारण केही घण्टामै जमिनको सतहमा पानी भेटिँदैन। त्यसैले पनि पानी रोकिएलगत्तै पनि महिनौंसम्म पानी नपरेजस्तो सुख्खा र गर्मी भइहाल्छ।

तराईमा पछिल्ला वर्षहरूमा तापक्रम अचाक्ली बढेको छ। रुख बिरुवा नभएपछि दिउँसोमा चल्ने हावा पनि अत्यन्त तातो हुने गरेको छ। एक दुई दिनयता रुपन्देही आसपासको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।वर्षेनी गर्मी बढ्न थालेपछि स्वीमिङ पुल र वाटर पार्कहरू निर्माण गर्ने क्रम पनि बढेको छ। मानिसले गर्मी छल्न विभिन्न विकल्प अपनाउने गरे पनि पशुपंक्षी र जंगली जनावर भने छटपटिन थालेका छन्।चुरे क्षेत्रमा वर्षेनी डढेलो लगाउँदा तापक्रम बढ्ने मात्र होइन खानेपानीका स्रोत पनि मासिएका छन्। त्यसको प्रभाव स्वरूप नजिकैको तराई क्षेत्रमा खानेपानीको अभाव हुने गरेको छ।

-सेतोपाटीको लागि भगवती पाण्डेको समाचारबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...