Saturday 26th September 2026

रसियामा १३ जना नेपाली अलपत्र


तितोपाटी- ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन्। काठमाण्डौको बौद्धमा रहेको ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महिना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन।

अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर गुरुङ र शेरबहादुर गुरुङ, धनकुटाका बोमदेवान राई, पाँचथरका विनोद गुरुङ, ओखलढुङ्गाका तेजबहादुर राई, नवलपुरका दीपबहादुर आले मगर र सुजन झण्डी मगर, चितवनका अनिल तामाङ, काठमाण्डौका सविन बस्ताकोटी तथा उदयपुरका देवराज विष्ट रहेका छन्। दुई चरणमा गरेर रसिया पुगेका ३४ कामदारमध्ये केहीलाई आंशिक मात्रामा काम दिएर न्यून पारिश्रमिक मात्र दिइएको बताइएको छ। ५०० अमेरिकी डलर मासिक पारिश्रमिक दिने भनी सम्झौता गरेर लगिए पनि अहिले विभिन्न बहानामा कम्पनीले आठ हजारमात्र पारिश्रमिक दिएको कामदारले आरोप लगाएका छन्। कामदारले पाउनुपर्ने तलब अर्को महीना दिन्छौँ भन्दै आए पनि अहिलेसम्म पूरा तलब नपाएको उनीहरुको भनाइ छ।

रसिया ओर्लनेबित्तिकै कम्पनीको आधिकारिक प्रतिनिधि नआइ उहाँहरुलाई लिन एजेन्टलाई पठाइएको थियो। ‘रसियाको विमानस्थलमा झरेपछि रसियन एजेन्टले हामीलाई सेन्टपिटरवर्ग जाने ‘ट्रेन’मा चढाएर छाड्यो’ अलपत्र परेका कामदार प्रेमबहादुरले भने, ‘त्यसपछि फेरि भारतीय एजेन्ट आएर हामीलाई लग्यो, काम लगाइदिने आश्वासन दिएर उ पनि फरार भयो।’ कामको आश्वासनमा मेनपावर कम्पनीले पठाएको ४०० अमेरिकी डलर अमृक सिंह भन्ने सो भारतीय एजेन्टलाई दिइएको उनले बताए।

काम नपाएर अलपत्र परेका कामदारलाई पटक÷पटक डेरा सारिएको उनको भनाइ थियो। अलपत्र कामदार प्रेमबहादुरले भने, ‘हामी यहाँ आएदेखि नै काम दिनुको सट्टा दुई पटक डेरा सा¥यो।’ तत्कालका लागि खानाका केही प्रबन्ध गरेको भए पनि केही दिन अघिमात्रै आएको रसियन एजेन्टले मङ्गलबारदेखि खाना खान दिन नसक्ने र खानाको आफै व्यवस्था गर्न भनेको अलपत्र परेका कामदारको भनाइ छ।

खान, बस्न, यातायात सुविधा, निरन्तर काम, जाँदा, आउँदा हवाई टिकट कम्पनीले व्यहोर्ने दोहोरो सम्झौता गरेर गएका उनीहरुले अहिलेसम्म कुनै पनि सेवा सुविधा प्राप्त गरेका छैनन्। ‘रोजगारदाता कम्पनी र कामदारबीच सेवा सुविधाको सम्बन्धमा दोहोरो सम्झौता भएको छ’, प्रेमबहादुरले भने, ‘तर कम्पनीले हामीलाई सम्झौता अनुसारको व्यवहार गरेको छैन।’

दुई पक्षबीच भएको सम्झौताअनुसारको काम गर्ने वतावरण निर्माण गरिदिन पटक÷पटक म्यानपावर कम्पनीसँग आग्रह गरे पनि बेवास्ता गर्दै आएको उनीहरुको भनाइ थियो। ‘हामीले पटक÷पटक मेनपावर सञ्चालकलाई काम दिलाइदिन आग्रह गरेका र्गयै छौँ, उसले विभिन्न बहानामा टार्दै आएको छ।’ अलपत्र परेका अर्का कामदार बोम देवान राईले भने, ‘म्यानपावर सञ्चालकले उल्टो हामीलाई धम्क्याउँदै आएको छ।’

योे म्यानपावर कम्पनीले रसियाको सेन्ट पिटरवर्ग्स्थित फाइनभल कम्पनीबाट ‘गार्मेन्ट टेलर’को पदमा ४० पुरुष कामदारको माग ल्याएको थियो। म्यानपावरले चर्को सेवा शुल्क लिएर दुई चरणमा ३४ नेपालीलाई रसिया उडाएको थियो। पहिलो चरणमा गत फागुन २९ गते २५ युवा र गत चैत ७ गते नौ युवालाई रसिया उडाएको थियो।

वैदेशिक रोजगार विभागले रु १० हजार सेवा शुल्क लिएर कामदार पठाउन उक्त म्यानपावर कम्पनीलाई स्वीकृति दिएको भए पनि कामदारसँग रु एक लाख ६० हजारदेखि तीन लाख २५ हजारसम्म असुलेको अलपत्र परेका कामदारले आरोप लगाएका छन्। दुई देशबीचको सम्बन्धलाई सुधार गर्दै जुनसुकै पक्षमा समस्या आइपरे कूटनीतिक ढङ्गबाट समाधान खोज्नका लागि क्रियाशील हुनुपर्ने नेपाली दूतावाससमेत अलपत्र कामदारको उद्धारमा मौन रहेको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...