Friday 3rd July 2026

नेपाल र चीन बीच यातायात र पारवहन सम्झाैताको प्रोटोकलमा हस्ताक्षर


तितोपाटी – नेपाल र चीनबीच यातायात र पारवहन समझाैताको प्रोटोकलमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा सोमबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि प्रोटोकलमा हस्ताक्षर भएको हो। दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी को रोहबरमा सो प्रोटोकल सहित जम्मा ७ वटा सम्झाैतामा दुइ देशले हस्ताक्षर गरेका हुन ।

सोमबार भएको सम्झौताहरुमा सबैभन्दा महत्वपूर्ण नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकल रहेको छ। १७ बुँदा रहेको सो प्रोटोकलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् भने चीन सरकारको तर्फबाट चिनियाँ यातायात मन्त्री ली सियाओफङले हस्ताक्षर गरेका छन्। विगत चार दशकदेखि छलफलमा रहे पनि नेपाल र चीनबीचमा यातायात तथा पारवहन प्रोटोकल बन्न सकेको थिएन। तीन वर्ष अगाडि प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीको पहिलो चीन भ्रमण गर्दा नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौता भए पनि यसलाई कार्यान्वयन गर्नका लागि प्रोटोकल अनिवार्य रहेकाले दुई देशका अधिकारीहरु प्रोटोकल बनाउन जुटेका थिए। चीन भ्रमणपछि केपी ओली प्रधानमन्त्रीबाट हटेपछि प्रोटोकल निमार्णको काम पनि सुस्ताएको थियो। फेरि केपी ओली प्रधानमन्त्री बनेपछि प्रोटोकल निर्माणले गति लिएको हो। गत वर्ष उनको दोस्रो भ्रमणका समयमा प्रोटोकलमा हस्ताक्षर हुने चर्चा चले पनि प्रोटोकलले मूर्त रुप लिइनसकेकाले हस्ताक्षर हुन सकेको थिएन।

सोमबार प्रोटोकलमा हस्ताक्षर भइसकेपछि नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौता कार्यान्वयनमा आएको छ। यसले नेपाललाई भारतीय भूमि नछोइकन समुद्रसम्मको पहुँच स्थापित गराएको छ। सत्र बुँदे प्रोटोकलमा नेपाल र चीनबीच ६ नाकाबाट व्यापार हुने उल्लेख गरिएको छ। जसमा तातोपानी, केरुङ, किमाथांका, कोराला, यारी र ओलाङगुङगोला नाका छन्। यीमध्ये ओलाङगुङगोला, किमाथांका र कोरालाचाहिँ औपचारिक रुपमा खुल्न बाँकी छन्। हस्ताक्षरित प्रोटोकलमा हस्ताक्षर भएपछि भारतीय भूमि नछोइकन नेपालको समुद्रसम्म पहुँच स्थापना भएको छ। सन् १९८२ मा जारी संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिले भूपरिवेष्टित मुलुकहरुको पनि समुद्रसम्म पहुँच पुर्‍याएको थियो। तर यस प्रकारको पहुँचलाई उपभोग गर्नका लागि जुन मुलुकको जमिन हुँदै समुद्रसम्म जानुपर्ने हो सो मुलुकसँग यातायात तथा पारवहन सम्झौता गर्न अनिवार्य थियो।

सोमबार प्रोटोकलमा हस्ताक्षर भइसकेपछि नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौता कार्यान्वयनमा आएको छ। यसले नेपाललाई भारतीय भूमि नछोइकन समुद्रसम्मको पहुँच स्थापित गराएको छ। सत्र बुँदे प्रोटोकलमा नेपाल र चीनबीच ६ नाकाबाट व्यापार हुने उल्लेख गरिएको छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता हुनु नेपालको युवा शक्ति, राष्ट्रिय अनुशासन र आपतकालीन तयारी क्षमतालाई संस्थागत गर्ने दिशामा एउटा…

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

प्रतिकृयाहरू
...