Monday 29th April 2024

पढाइका नाममा अष्ट्रेलिया पुगेका नेपालीहरू नराम्रोसँग ठगिए


तितोपाटी – शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ। अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो। त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र (नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीले विद्यार्थी समस्यामा परेका हुन्। एआइबिटी कलेजले अस्ट्रेलियन सरकारको नर्सिङ काउन्सिल (एनम्याक) बाट स्वीकृति नलिई नेपालका परामर्श दातृ निकायलाई कमिसनको प्रलोभनमा पारी १२ सय नेपाली विद्यार्थी भर्ना लिएको थियो। एनम्याकको स्वीकृतिबिना विद्यार्थीले हासिल गरेको नर्सिङ शैक्षिक प्रमाणपत्र कुनै काम लाग्दैन।

नागरिकको सम्पर्कमा आएकी काठमाडौं जोरपाटीकी सब्रिसा खरेलले दुईवर्षे नर्सिङ अध्ययनका लागि सन् २०१७ डिसेम्बर १२ मा सिड्नीमा रहेको एआइबिटी पुगेको सुनाइन्। उनले अध्ययनको सबै प्रक्रिया पुतली सडकमा रहेको सनराइज कन्सल्टेन्सीबाट पूरा गरेकी हुन्। कलेजबाट अफर लेटर आउँदा त्यतिखेर कलेज अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (एएसक्युए) बाट मात्र मान्यता प्राप्त रहेको र एनम्याकको स्वीकृति प्रकृयामा रहेको लेखिएको थियो। उनले यसबारे सनराइज कन्सल्टेन्सी सञ्चालकसँग कुरा राख्दा २०१८ को सेप्टेम्बरमा स्वीकृति पाउने विश्वास दिलाएपछि एआइबिटीलाई डेढ वर्षको २५ हजार डलर तिरेर अफर लेटरमा साइन गरिन्।

‘म कलेज पुगेपछि पनि सोधिखोजी गरें। कलेजले पनि सन् २०१८ को सेप्टेम्बरमा जसरी पनि एनम्याकको स्वीकृति पाउने विश्वास दिलायो। तर दुई साताअघि मात्रै हामी नेपाली विद्यार्थी आफैं एनम्याक पुगेर सोधीखोजी गर्दा पो एआइबिटीलाई एनम्याकले नर्सिङ कक्षा सञ्चालनको मापदण्ड नपुगेको भन्दै सम्बन्धन प्रकृया नै अस्वीकृत गरेको थाहा भयो,’ खरेलले नागरिकसँग अस्ट्रेलियाबाटै भनिन्, ‘त्यसपछि कलेजसँग हामीलाई अन्य कलेज सर्न रिलिज लेटर माग्यौं दिन मानेन। उल्टै १२ बजे राति इमेल गरेर हामीसँग ६ महिनाको थप ५ हजार डलर पो मागियो।’ एनम्याकले सञ्चालन स्वीकृति नदिएपछि एआइबिटी कलेजलाई मंगलबारदेखि एएसक्युएले समेत खारेज गरिसकेको छ।

खरेलका अनुसार त्यस कलेजमा नेपालका अल्फाबिटा, कंगारु, चितवनको प्लानेट, अक्फोर्ड कन्सल्टेन्सी, निरवाना, मर्सी एजुकेसन, काठमान्डु इन्फोसिस, इमपल्स एजुकेसन, क्याथफोर्ड एजुकेसन फाउन्डेसन, क्यासटल एजुकेसन, इसान एजुकेसनलगायतले विद्यार्थी पठाएका थिए। ‘कन्सल्टेन्सीले हामीलाई एआइबिटीमा पठाएबापट प्रतिविद्यार्थी ५ लाख कमिसन पाउँदा रहेछन्,’ खरेलले भनिन्, ‘हाम्रो पैसा र समय दुवै खेर गयो।’ कन्सल्टेन्सीले आफूहरुलाई झुक्याएर ठगेको उनले बताइन्।

कलेज खारेजीमा परेसँगै त्यहाँ अध्ययनरत विद्यार्थीलाई भिसाको समस्या समेत आएको छ। ‘हामी १२ सय पीडित साथीमा एक सातादेखि बढीमा एक वर्षमात्र भिसाको म्याद बाँकी छ,’ खरेलले भनिन्, ‘अरु कलेजमा अध्ययन गर्न फेरि थप ३० हजार डलर जुटाउन मुस्किल छ, समयसमेत बर्वाद भयो।’ पीडित विद्यार्थीले कलेज सञ्चालक र कन्सल्टेन्सी सञ्चालकलाई कारबाही माग गरेका छन्। नेपाल एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर) का महासचिव विज्ञान श्रेष्ठले विद्यार्थीको समस्या अष्ट्रेलियन सरकार र नेपाल सरकार मिलेर समाधान गर्नुपर्ने बताए। नायर अस्ट्रेलियामा अध्ययनका लागि परामर्श उपलब्ध गराउने कम्पनीहरुको संगठन हो।

श्रेष्ठले नेपालका शैक्षिक परामर्शदातृ निकायले सम्बन्धित देशको सरकारी निकायसँग मान्यता नै नपाएका कलेजमा विश्वासकै आधारमा विद्यार्थी पठाउने प्रवृत्ति नेपालमा फस्टाउँदै गएको भन्दै चिन्ता व्यक्त गरे। ‘अस्ट्रेलियन सरकारको स्वीकृतिबिनै सञ्चालित कलेजमा पढ्न अस्ट्रेलियन दूतावासले भिसा स्वीकृत गर्नु नै गलत हो’, उनले भने। शिक्षा मन्त्रालयले पनि स्वीकृति नै नपाएका कलेजमा अध्ययनका लागि विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन तत्काल रोक्नुपर्ने माग गरेको उनले बताए। उनले थपे, ‘परामर्शदाताले समेत विद्यार्थीको भविष्य नै चौपट हुनेगरी आर्थिक हिसाबले मात्र सोच्ने विकृति अन्त्य गर्नुपर्छ।’ उनले पीडित विद्यार्थीले अध्ययन खर्च दाबी गरी अस्ट्रेलियन सरकारलाई निवेदन दिएमा रकम फिर्ता हुने बताए।

शिक्षा मन्त्रालयका सचिव खगराज बरालले एआइबिटी कलेजमा पढ्न जारी भएको नो अब्जेक्सर लेटरबारे तथ्यांक संकलन गर्न लागिएका बताए। ‘शिक्षा मन्त्रालयले पीडित विद्यार्थीको समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्नेछ,’ उनले भने, ‘बिहीबार परराष्ट्रसँग छलफल हुन्छ।’ विद्यार्थीसमेत आफू अध्ययन गर्न जाने देश, कलेजजस्ता विषयमा पूर्ण जानकारी लिन सचेत हुनुपर्ने उनले बताए।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...