Friday 3rd July 2026

टर्कीले ३०० भन्दा बढी नेपालीलाई फिर्ता पठायो, फ्रि भिसा र फ्रि टिकट दिंदा पनि म्यानपावरले ठगेको आरोप


तितोपाटी – म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ। म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारललाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो।

कामदार ल्याउँदा लाग्ने सबै खर्च बेहोरेको टर्कीको अंकारास्थित आइजिए एअरपोर्ट कम्पनीले म्यानपावर र दलालले ठूलो रकम असुल गरेको तथ्य फेला पारेपछि रकम तिर्ने कामदारलाई नै फिर्ता गरेको पीडितले गुनासो गरेका छन्। विभिन्न चरणमा १०–११ महिनाअघि टर्कीको त्यो कम्पनीले युरो नेपाल र एचआर म्यानपावरमार्फत एक हजार तीन सय ५० कामदार लिएको थियो। तीमध्ये तीन सय २० जनालाई फर्काइदिएको र अरु फर्कने क्रममा रहेको उदयपुर, बेलका नगरपालिका–१ का किरण वान्तवाले बताए।

‘टर्की जानुअघि सबैले दुईदेखि चार लाख रुपैयाँसम्म म्यानपावर र दलाललाई बुझाएका थियौं,’ रोजगारदाताले फर्काएपछि वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्ने क्रममा वान्तवाले भने, ‘कम्पनीले विभिन्न स्रोतबाट त्यो कुरा थाहा पाएछ। अनि सबैलाई घर फर्काउने निर्णय ग-यो।’ उनका अनुसार युरो नेपाल र एचआर म्यानपावरमार्फत टर्की पुगेका सबै कामदार पनि फर्कने क्रममा छन्।
आफैंले निःशुल्क भिसा र टिकट पठाउँदा पनि म्यानपावरले अत्यधिक रकम असुलेपछि कम्पनीको बदनाम भएको भन्दै उसले फिर्ता पठाएको वान्तवाले बताए। टर्की जानुअघि गाउँगाउँमा रहेका दलालले ती युवालाई म्यानपावरसम्म पु-याएका थिए।

अर्का पीडित उदयपुर, चौदन्डीगढी नगरपालिका–४ का चन्द्रबहादुर खड्काका अनुसार रोजगारदाताले अन्तर्राष्ट्रिय स्तरमै ठूलो बेइज्जत भएको ठानेको छ। सरकारले २०७२ असार २५ गते रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकट लागू गर्ने निर्णय गरेको थियो।

यद्यपि त्यसअघि समेत ती मुलुकका राम्रा रोजगारदाताले कामदारलाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउँथे। तर, कामदारले त्यस्तो सुविधा पाउनु त कता हो कता उल्टै ठूलो रकम तिरेर जान्थे। वैदेशिक रोजगारीमा जाने कामदारलाई आर्थिक भार कम होस् भनेर तत्कालीन सरकारले निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि कार्यान्वयन भने अझै भएको छैन।

निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन गर्न सरकार उदासीन रहेको बेला कतिपय रोजगारदाताले नै त्यसमा चासो राख्न थालेका हुन्। यद्यपि टर्की निःशुल्क भिसा र टिकट लागू गरिएको मुलुक होइन। टर्की जाने कामदारको हकमा निःशुल्क भिसा र टिकट लागू नगरिए पनि रोजगारदाताले निःशुल्क भिसा र टिकट उपलब्ध गराएका कारण त्यस्तो सुविधा पाउनुपर्ने कामदारको माग छ।

काम गर्ने क्रममा रोजगारदाताले ठूलो रकम खर्च गरेको थाहा पाएपछि त्यतिबेलै म्यानपावर र दलालाई सम्पर्क गरेको तर उनीहरूले कुनै वास्ता नगरेको खड्काले गुनासो गरे। टर्की जाँदा आफूले तीन लाख रुपैयाँ जति खर्च गरेको उनको भनाइ छ। ‘त्यतिबेला म्यानपावरले चासो लिएको भए विवाद मिल्न सक्थ्यो,’ उनले भने, ‘म्यानपावरले उल्टै जे सक्छौं। त्यहीँ गर भन्दा घर न घाटको भइयो।’

घर फर्काउँदा रोजगारदाताले टिकट समेत नदिएको उनीहरूको भनाइ छ।‘काम गर्दा कटौती गरेको रकमबाटै रोजगारदाताले टिकट काटेर घर पठाइदियो,’ उनले भने। म्यानपावरको बदमासीले वैदेशिक रोजगारी अलपत्र परेपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्। ती लगायत वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको पिपुल फोरमका अधिवक्ता सुदीप देवकोटाले एकैचोटि ठूलो कामदार फर्केको घटनामा सरकारको ध्यान जानुपर्ने बताए।

‘कामदारसँग मनपरी ढंगले रकम असुली गर्ने र कामदार समस्यामा पर्दा बेवास्ता गर्ने यस्ता म्यानपारको दर्ता खारेजी हुनुपर्छ,’ देवकोटाले भने। कामदार ठग्नेलाई कडा रूपमा कारबाही नगरेसम्म वैदेशिक रोजगारीका समस्या समाधान नहुने उनको भनाइ छ। वैदेशिक रोजगार विभागका अधिकारीहरूले उजुरी परेको म्यानपावरविरुद्ध अनुसन्धान थालिएको र कमी, कमजोरी देखिए कारबाही गर्ने बताएका छन्।

म्यानपावरले ती युवासँग प्रतिव्यक्ति दुईदेखि चार लाख रुपैयाँसम्म असुल गरे पनि रसिद भने ८० हजार रुपैयाँको मात्र दिएका छन्। म्यानपावरले बढी रकम असुल गरेको थाहा पाउनेबित्तिकै रोजगारदाताले नेपाली कामदारसँग गर्ने व्यवहार पनि परिवर्तन भएको तथा पारिश्रमिक र काममा विवाद सिर्जना भएको पीडितको भनाइ छ। ‘स्काफोल्डिङको काममा गएका श्रमिकलाई विमानस्थल सफा गर्न लगाइयो। ड्राइभरको लाइसेन्स दिइयो,’ वान्तवाले भने। रोजगारदाताले कामदार फिर्ता गरेपछि म्यानपावर सञ्चालक भने सम्पर्कविहीन भएका छन्।

-नागरिकबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...