Monday 24th August 2026

किर्ते कागज गरि युएइ जाने लागेकी एक नेपाली महिला भारतको बैंगलोरबाट पक्राउ


तितोपाटी – कीर्ते कागजात प्रयोग गरेर संयुक्त अरब इमिरेट्स (यूएई) उड्न लागेकी एक नेपाली महिला भारतको अध्यागमन विभागको फन्दामा परेकी छन् । बैङ्लोरको केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर यूएई जाँदै गरेकी ३४ वर्षीया सीता सिंगालीलाई शनिबार त्यहाँको अध्यागमन अधिकारीले पक्रेका हुन् । नेपाली दूतावासका नाममा जारी पत्र नक्कली पुष्टि भएपछि सिंगाली पक्राउ परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार फर्जी पत्रमा दूतावासको अंग्रेजी रुप गलत देखिएपछि ती महिलामाथि अध्यागमन अधिकारीले केरकार गरेका थिए । ‘Embassy’ लेख्नुपर्नेमा ‘Emnassy’ लेखिएको समाचारमा उल्लेख छ ।

काठमाडौंबाट शनिबार इमिरेट्स उडानमार्फत् आएकी सिंगाली त्यही दिन रातिको फ्लाइटमार्फत् सारजहा उड्न अध्यागमनको जाँच लाइनमा उभिएकी थिइन् । समाचार अनुसार यूएईको ३ महिनाको भिसा लगाइएको पासपोर्ट बोकेकी सिंगालीले नयाँदिल्लीको नेपाली दूतावासले अनुमति दिएको पत्रसमेत बोकेकी थिइन् ।

तर, अध्यागमन कर्मचारीले कागजात परीक्षणपछि उनलाई नियन्त्रणमा लिए । दूतावासको अंग्रेजी रुप गलत भेटिएसँगै थप अनुसन्धान अघि बढाए पनि शुरुमा उनले भारतमा रहेको नेपाली दूतावासबाटै पत्र लिएको जिकिर गरिन्  तर अध्ययनको क्रममा पत्र नक्कली रहेको खुल्यो र अध्यागमन अधिकारीले विमानस्थल प्रहरीलाई जिम्मा लगाइदिए ।

इन्डियन एक्सप्रेसले त्यहाँको प्रहरी अधिकारीलाई उद्धृत उनीमाथि भारतीय दण्ड संहिताअनुसार तीन किसिमको मुद्दा चलाएर न्यायिक हिरासतमा राखिएको जनाएको छ ।

सोधपुछका क्रममा सिंगालीले ५ कक्षासम्म मात्रै अध्ययन गरेको र फूलको बजारमा काम गर्ने गरेको खुलेको छ । बैंग्लोरको विमानस्थल प्रहरीले सिंगालीको दाबीबारे परीक्षण गर्न नेपाली दूतावासलाई पत्राचारको तयारी गरेको छ ।

नेपाल सरकारले महिलालाई घरेलु कामदारमा विदेश पठाउन रोक लगाएपछि पछिल्लो समय भारतीय बाटो प्रयोग गर्ने क्रम बढेको छ । केही समयअघि मात्रै पनि यसरी विदेश जान लागेका महिलालाई भारतबाट उद्धार गरिएको थियो तर कागजात नै नक्कली प्रयोग गरेर जाँदै गरेको अवस्थामा महिला पक्राउ परेको भने यो पहिलो घटना हो ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा,…

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

प्रतिकृयाहरू
...