Saturday 25th July 2026

अध्यागमन विभागकै नक्कली डिपार्चर स्ट्याम्प प्रयोग गरी युएइ जान लागेका २ जना पक्राउ


तितोपाटी –  राहदानीमा नक्कली डिपार्चर स्ट्याम्प लगाएर दिल्ली हुँदै दुबई जान लागेका दुई जना पक्राउ परेका छन् । नेपालीले नागरिकताकै भरमा भारत जान पाउने सुविधाको दुरुपयोग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियामार्फत दिल्ली उड्न लागेका जीवनकुमार बर्देवा र नूतन तामाङलाई विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो ।

उनीहरू एयर इन्डियाको फ्लाइट नम्बर एआई २१४ बाट जाने तयारीमा थिए । अध्यागमनका अनुसार दुवैका साथबाट दुबईको पर्यटक भिसासहितको राहदानी पनि बरामद भएको छ । उक्त राहदानीमा अध्यागमनको छापसमेत नक्कली पाइएको छ । अध्यागमनले पर्यटक भिसामा खाडी जान कडाइ गरेपछि उनीहरू राहदानी लुकाएर भारत पुग्ने र त्यहाँबाट दुबई छिर्ने योजनामा थिए ।

भ्रमण उद्देश्यबारे सोधपुछ गरेपछि अध्यागमन अधिकारीले एयर इन्डियासँग उनीहरूको यात्रा विवरण मागेका थिए । एयर इन्डियाले दिल्ली हँुदै दुबई जान लागेको सूचना दिएपछि नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि महानगरीय प्रहरी अपराध महाशाखाले थप अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार उनीहरूले चाबहिलको एक म्यानपावर कम्पनीले नक्कली डिपार्चर स्ट्याम्प हानिदिएको बयान दिएका छन् । अध्यागमन विभागका महानिर्देशक ईश्वरीराज पौडेलले यो घटनाले सबैलाई झस्काइदिएको बताए । ‘पासपोर्ट लुकाएर नागरिकताका भरमा भारत जाने र त्यहाँबाट तेस्रो मुलुक जाने घटनाबारे गम्भीर अनुसन्धान भइरहेको छ,’ उनले भने ।

पछिल्लो घटनाको अनुसन्धान गरिरहेको महाशाखाका प्रमुख धिरजप्रताप सिंहका अनुसार नक्कली डिपार्चर स्ट्याम्प हान्ने काममा संलग्न एक म्यानपावर एजेन्टको पहिचान भइसकेको छ । ‘फरार एजेन्ट छिट्टै पक्राउ पर्नेछन्, सबै तथ्य बाहिर आउनेछ,’ उनले भने ।

भिजिट भिसा निर्देशिका अस्वीकृत 
पर्यटक भिसामा खाडी जान स्थानीय तहबाट आर्थिक हैसियत खुल्ने सिफारिस बनाउनुपर्ने गरी अध्यागमन विभागले बनाएको निर्देशिका गृहले अस्वीकृत गरिदिएको छ । विभागले सेटिङमा खाडी देश पठाएर अलपत्र पार्ने क्रम बढेपछि ‘भिजिट भिसा निर्देशिका’ बनाएर गृहमा पठाएको थियो । निर्देशिकामा ४० वर्ष कटेका र स्नातक तह उत्तीर्णबाहेकले खाडी देश जाँदा सिफारिस बनाउनुपर्ने नियम समेटिएको थियो ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा इरानसँग सम्बन्धित बढ्दो क्षेत्रीय तनावका बीच यमन पुनः व्यापक युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार इरानसँग…

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

प्रतिकृयाहरू
...