Monday 6th May 2024

कामदारको क्याम्प – कथा


होम कार्की – साँझ ६ बज्दै छ । कामदारहरू बासस्थान आउने क्रम बाक्लिँदै छ । गेटबाहिर कामदारलाई बोकेर ल्याएको बसको ताँती लागेको छ । क्याम्पभित्र जोसुकै छिर्न मनाही छ । गेटमा नेपाली सुरक्षागार्ड तैनाथ छन् । उनीहरूले अनुमति पाएका सवारी साधनको प्रवेश पास हेर्दै भित्र छिर्न अनुमति दिइरहेका छन् ।

उनीहरू कतारमा सन् २०२२ मा हुन गइरहेको रंगशाला निमार्णमा संलग्न कामदार हुन् । यसको नाम ‘शैक्षिक सहर रगंशाला’ हो । जुन कतार फाउन्डेसनको शैक्षिक क्षेत्रभित्र बन्दै गरेकाले रंगशालाको नाम नै शैक्षिक सहर रंगशाला राखेको हो । कतारमा वनिरहेको ८ रंगशालामध्ये यो एउटा हो । रंगशाला निर्माणमा संलग्न कामदारको बासस्थान गएर हेर्ने पहिलेदेखिकै धोको बल्ल यस पटक सम्भव बन्यो ।

यी कामदार बिहान ५ बजे क्याम्पबाट निस्केका थिए । क्याम्पबाट कार्यस्थल पुग्न गाडीमा १५/२० मिनेट लाग्छ । क्याम्पबाट कार्यस्थल पुर्‍याउने र ल्याउने काम कम्पनीले नै गर्छ । गेटबाट प्रवेश पाएका चौथो गाडीबाट मोरङका शिव मण्डल ओर्लिए । पहेंलो पोसाक लगाएका उनी सरासर आफ्नो कोठाभित्र लम्किए । उनको शरीर पसिनाले निधु्रक भिजेको देखिन्छ । उनी क्याम्पको तेस्रो तलमा बस्दा रहेछन् । क्याम्प अस्थायी प्रकृतिका बनेका छन् । बाहिरबाटै माथि जाने भर्‍याङ बनाइएको रहेछ । भर्‍याङ सफा छ । फराकिलो पनि ।
मण्डल लुगा फेर्न कोठाभित्र छिरे । म तेस्रो तलाको भर्‍याङमै रोकिएर बाहिरी दृश्य नियाल्नतिर लागें । यहाँबाट क्याम्पको पूरा क्षेत्र देखिन्छ । क्याम्प एकातिर लस्करै छ । यसको सामुन्ने फुटबल मैदान छ । फुटबल मैदान बलौटे छ । दुबो लगाइएको छैन । त्यस्तो रुख्खा मैदानमा पनि ज्यान फालेर उनीहरू फुटबल हानिरहेका छन् । छेउमा भलिबल र बास्केटबलको मैदान छ । दुवै खाली छन् ।

एक छिनअघिसम्म खाली भर्‍याङका बारमा लुगाहरू झुन्डिसकेका छन् । ‘भोलि बिहान यही लगाएर काम गर्न जानुपर्छ,’ मण्डलले पहेंलो आफ्ना पोसाक टाँग्दै भने, ‘हुन त कम्पनीबाटै लुगा धोइदिने सुुविधा छ । आज दिएमा तीन दिनमा पालो आउँछ । हिजो दिएको लुगा आएको छैन । आज नधोए भोलि फेरि लगाएर जान सकिँदैन ।’
उनी लुगा सुकाएर आफ्नो कोठाभित्र छिरे । कोठाभित्र चारवटा बेड छन् । एसीले कोठा निकै चिसो । तीन जना बेडमा पल्टिएका छन् । ‘अर्को साथीले नदेख्ने गरी बेडमाथि पर्दा टाँग्न मिल्छ । कहिले पर्दा टाङ्छौं । कहिले त्यति नै छाडिदिन्छौं,’ उनले भने, ‘अरू ठाउँमा जस्तो यहाँ एकले अर्कालाई बाधा पुग्दैन ।’
मण्डलको कोठामा अरू तीन जना नेपाली नै हुन् । सहदेव विष्ट, राकेश राई र सुनम गुरुङ । उनीहरू एउटै कम्पनीबाट यहाँ सप्लाईमा आएका हुन् । मण्डल ५ वर्षदेखि कतारमा कार्यरत छन् । उनी रगंशालाका स्कापफोल्डर हुन् । जुन रंगशाला बनाउने सबैभन्दा जटिल र जोखिम कामभित्र पर्छ ।

मान्छेहरू बाहिर रंगशाला बनाउने कामदारको विषयमा धेरै चासो दिइरहेका छन् । तपाईंहरू आफैंलाई कस्तो अनुभूति हुन्छ त ? मैले मण्डलसमक्ष प्रश्न राखें । ‘मलाई त केही लाग्दैन । जहाँ गए पनि काम नगरी हुन्न । रंगशाला भन्दैमा गर्मी कम हुने होइन । जे डयुटी अह्रयाइएको छ, हामीले त्यही गर्नुपर्छ । हाम्रा लागि विशेष केही हुन्न क्यारे,’ मण्डलले भने, ‘बाहिरी चर्चा बेकारका हुन् ।’

उनीसँगै बस्ने मोरङका राकेश राई अलि उत्साहित देखिए । ‘म त फुटबल भनेपछि हुरुक्कै हुन्छु । गरिबीले फुटबल खेल्न पाइनँ मात्रै । नत्र नेपाली राष्ट्रिय खेलाडी बन्थें होला । आज भाग्यको खेलले फुटबल खेल्न होइन मेसी, रोनाल्डो खेल्ने मैदान बनाउन आइपुगेको छु,’ उनले भने, ‘यो बनिसकेपछि भोलि छेउमा त आउन पाइँदैन होला ।
तर, विश्वकप भइरहेको दिनमा भने म खुबै सम्झन्छु ।’

सहदेव विष्टलाई भने तलबबारे चित्ता नै बुझिरहेको छैन । ‘विश्वकप रंगशाला वनाउने काम पाएपछि तलब पनि त्यस्तै होलाजस्तो लागेको थियो । कामअनुसारको हाम्रै तलबै भएन । एउटा साधारण घर बनाउँदा पाउने तलब र रंगशाला बनाउने तलबमा केही फरक छैन,’ उनले भने, ‘कमसेकम साधारण घर बनाउँदा हाम्रो ओभरटाइम दिनमा चार घन्टा हुन्थ्यो । यहाँ आएर झन् फसियोजस्तो पो लाग्छ ।’

‘केही फाइदा छैन त ?’
‘बस्ने सुविधा राम्रो छ ।,’ मण्डलले भने, ‘साइडमा पानी खाने सुविधा छ । आराम गर्ने कक्ष छ । सेफ्टीमा बढी ध्यान दिइएको छ ।’
उनीहरू काम गर्ने एकाइमा भने दुर्घटना भएको खबर सुन्नुपरेको छैन । ‘अरू ठाउँमा के भयो थाहा छैन । सबै कुरा थाहा पनि हुन्न । तर, हाम्रो साथीभाइ कसैलाई केही भएको छैन,’ उनले भने, ‘चोटपटक लाग्नु त सामान्य हो ।’

दिउँसोको खाना साइडमै आउँछ । बेलुका भने राति ९ बजेभित्र क्याम्पको खानाको मेस बन्द भइसक्छ । कोठाभित्र खाना पकाउन भने प्रतिबन्ध छ । मेसमै खाना खानु अनिवार्य । ‘दिनभर थोकेर आएको शरीरले खाना त बनाउनुपरेन । यो सहज हो,’ राकेश राईले भने, ‘अर्को साइडमा हुँदा निकै गार्‍हो हुन्थ्यो । ग्यास खोज्न जानुपर्ने । तरकारी किन्न जानुपर्ने । अहिले यतातिर त तनाब लिनुपरेको छैन ।’

करिब ५ सय जना अट्ने क्षमता रहेको हलमा कामदारहरू खचाखच भरिएका छन् । खाना खानेको लाइन लागिरहेको छ । म पनि मण्डलको पछाडि बसेर प्लेट लिए । चामलको भात दुईथरीको छ । मोटो र मसिनो चामल । माछा, चिकेन, सब्जी र दाल । अर्को प्लेटमा रोटी पनि । कामदारलाई चाहिने पौष्टिक तत्त्व पुग्ने गरी खानामा मात्र मिलाइएको छ भनेर सूचना पाटीमा लेखिएको छ । ‘कम्पनीलाई निकै घाटा पर्‍यो,’ प्लेट उठाउँदै आएका नेपाली कामदारले हाम्रो टेबुलमा आएर भने, ‘खाना सबैले फाल्छ ।’
‘नमीठो भएर खाना फाले जस्तो छ,’ मैले सोधें ।

‘योभन्दा मीठो त कसले दिन्छ ?’ उनी झोक्किए, ‘खाना गुणस्तर र मीठो छ कि छैन भनेर माथिबाटै चेक गर्न आइराख्छ । तिमीहरूलाई के थाहा ?’
मेस भएको लाइनमा तीनथरीको भवन छ । मस्जिद, कपडा धोइदिने पसल र टीभी हेर्ने हल । जिमखाना पनि छ । टेबुल टेनिस र टेबल टप मिनी फुटबल खेलकुद सामग्री पनि छन् । यी सबै प्रयोगविहीनजस्तै छ । खेल्ने कोही छैन । ‘दिनभर फलामका पाइप उठाउँदै शरीर लत्रक परिसकेको हुन्छ । हामीले जिम के काम,’ विष्टले भने, ‘क्याम्प आउनासाथ आराम गर्न मन लाग्छ ।’

रंगशाला बनाउने सबै लेबरहरू यही क्याम्पभित्र बस्छन् । ‘रात र दिनमा दुई सिफ्टमा काम भइरहेको छ,’ मण्डलले भने, ‘त्यही भएर यहाँ भीड नदेखिएको हो । आधाजसो त यतिखेर (राति ९ बजे) उतै पाइप उचाल्दै होलान् ।’

-कान्तिपुर कोसेलीबाट


सम्बन्धित शीर्षकहरु

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

प्रतिकृयाहरू
...