Saturday 15th August 2026

रोल्पाका दिल बहादुर ६७ लाख ब्लड मनी तिरेर स्वदेश फर्के


तितोपाटी – रोल्पा जिल्लाको रोल्पा नगरपालिका–१० धबाङ पेवा गाउँका ३० वर्षीय दिलबहादुर  घर्ती करिब ६७ लाख रुपैयाँ ब्लड मनी (क्षतिपूर्ति रकम) तिरेपछि साउदी अरेबियामा जेलजीवनबाट मुक्त भर्इ स्वदेश फर्केका छन् । उनी  दुई वर्षअघि साउदीको राजधानी रियादमा जेल परेका थिए । दिलबहादुर यसै सेप्टेम्बर ५ तारिख (भदौ २१ गते) जेलमुक्त भएका हुन् । ब्लड मनी तिरेको ३७ दिनपछि उनी नेपाल पुगेका हुन् ।

शनिबार बिहान १० बजे दिलबहादुरकी श्रीमती मनिका, दुई छोराछोरी, आफन्तलगायत दिलबहादुर बचाउ अभियानमा जुटेका अभियन्ताहरुले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा, फूलमाला र खादा ओढाएर स्वागत गरे । शुक्रबार रोल्पाबाट रात्रि बसको लामो यात्रा गरी शनिबार बिहान काठमाडौं आएका मनिका र उनका छोराछोरी थकाइका बीच पनि निकै खुसी देखिएका थिए ।

साउदीस्थित नेपाली दूतावासको प्रतिनिधिको रोहबरमा दिलबहादुर रिहा भएका हुन् । दिलबहादुर रियादस्थित मजेद अलदियाबही कन्ट्राक्टिङ एण्ड इस्ट नामक कम्पनीमा ट्रकचालकको रुपमा कार्यरत थिए । साउदी छिरेको ३ महिनामै २०१६ जुन १३ तारिखका दिन दिलबहादुरले चलाउँदै गरेको ट्रकले साउदी नागरिक मोटेबबिन अतिखबिन दअफाको कारलाई ठक्कर दिँदा ती साउदी नागरिकको मृत्यु भएपछि उनी जेल चलान भएका थिए ।

साउदी नागरिक मृत्यु अभियोगमा त्यहाँको अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाएको थियो । अदालती फैसलाबमोजिम उनीरियादमा बन्दी जीवन बिताइरहेका थिए । अदालतले तोकेको ब्लड मनी साउदी रियाल २ लाख २५ हजार सम्बन्धित मृतकको परिवारलाई तिरे मात्र रिहाइ हुने अवस्था थियो । यति धेरै रकम उनी र उनको परिवारले केही गरी पनि तिर्न सक्ने ल्याकत थिएन । आर्थिक अवस्था कमजोरका कारण नेपाली रकम ६७ लाख रुपैयाँ तिर्न नसक्दा जेलमै रहनु परिरहेको समाचार सार्वजनिक भएपछि उनलाई कैदमुक्त गर्न ब्लड मनी संकलन सुरु गरिएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनको संयोजकत्वमा ४१ सदस्यीय दिलबहादुर बचाउन ब्लड मनी संकलन अभियान समिति गठन गरी स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग रकम संकलन गरिएको थियो । उनका लागि १ करोड ४ लाख २६ हजार रुपैयाँ ब्लड मनी संकलन भएको थियो । आवश्यकता भन्दा ३७ लाख २६ हजार रुपैयाँ बढी रकम उठेको हो । बाँकी रहेको रकमका सवालमा सोमबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी गराइने समितिका सचिव जीवनप्रवेश रोकामगरले बताए ।

जेल जीवनबाट छुटकारा भएपछि दिलबहादुरले नयाँ जीवन पाएको बताए ।


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...