Saturday 23rd May 2026

चीनद्वारा खर्वाैं रूपैया लगानीको प्रतिवद्धता


तितोपाटी – एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि ७९ अर्ब ४० करोड ५१ लाख ९० हजार रुपैयाँबराबरको प्रतिबद्धता आएको छ ।

कृषि तथा वनजन्य उद्योग १००, निर्माण दश, ऊर्जासँग सम्बन्धित १८, सञ्चार प्रविधि १०, उत्पादनमूलक उद्योग २६५, खानीजन्य उद्योग ४७, सेवा क्षेत्र ४०३ र पर्यटन उद्योगसँग जोडिएका ४४६ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । ती उद्योगबाट करीब ६० हजारले रोजगारी पाउनेछन् । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले पछिल्लो दिनमा चिनियाँ लगानी बढ्दै गएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा केही ठूला भौतिक पूर्वाधारका योजनामा चिनियाँ सहयोग उपलब्ध गराउन आग्रह गर्ने तयारी गरिएको छ । हिमालय सीमापार रेलमार्ग, विभिन्न सडक करिडोर निर्माण, ऊर्जा जलस्रोत क्षेत्रमा साझेदारी र लगानीका विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा द्विपक्षीय सहमति गरिने बताइएको छ ।

आगामी आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्राथमिकता दिएको छ । यस्तो सन्दर्भमा पछिल्लो दिनमा चिनियाँ लगानीको प्रतिबद्धता गुणात्मक र मात्रात्मकरुपमा समेत बढेको प्रवक्ता भुसालको भनाइ छ ।

विभागका अनुसार चीनको हङ्कङबाट ४० उद्योग स्थापनाका लागि २७ अर्ब ३६ करोड ६६ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमा निर्माण दुई, ऊर्जा, दुई, सञ्चार प्रविधि एक, उत्पादनमूलक सात, सेवामूलक १४ र पर्यटनका १४ उद्योग स्थापनाका लागि प्रतिबद्धता प्राप्त भएको हो । ती उद्योगबाट करिब पाँच हजार जनाले रोजगारी पाउनेछन् ।

यस्तै चीनको ताइवानबाट १९ उद्योग स्थापनाका लागि ४० करोड ४६ लाख २० हजार रुपैयाँबराबरको प्रतिबद्धता प्राप्त भएको छ । ती उद्योगले करीब एक हजारजनालाई रोजगारी प्रदान गर्नेछ । कृषि, सञ्चार प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्योग र पर्यटनमूलक उद्योग स्थापना हुनेछन् ।

चीनबाट ठूला ३९, मझौला १०४ र साना एक हजार एक हजार १५६ उद्योग स्थापनाका लागि प्रस्ताव आएको विभागको भनाइ छ । यस्तै हङ्कङबाट ठूला ११, मझौला नौ र साना २० उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । विभागले दिएको जानकारीअनुसार चीनको ताइवानबाट एक ठूला उद्योग, चार मझौला र १४ साना उद्योग स्थापनाका लागि प्रस्ताव आएको छ । प्राप्त भएका प्रस्तावलाई आवश्यक प्रक्रिया पुर्‍याएर उद्योग स्थापनाका लागि स्वीकृति दिइसकिएको छ ।

पछिल्लो समयमा चिनियाँ लगानीकर्ता जलविद्युत्, सिमेन्ट, पर्यटन तथा सेवामूलक क्षेत्रमा आकर्षित भएका छन् । ३६ अर्ब रुपैयाँ लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन शुरु गरिसकेको छ । यस्तै १५ अर्ब रुपैयाँ लगानीको अर्को सिमेन्ट उद्योग स्थापनाका लागि चिनियाँ कम्पनी हुवाजिनले लगानी बोर्डसँग प्रारम्भिक सम्झौता गरिसकेको छ ।

यस्तै पछिल्ला दिनमा निजी क्षेत्रको सहकार्यमा विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ लगानीकर्ता आकर्षित भएका छन् । सुपर साञ्जेन, रसुवा भोटेकोशी, खिम्ती दुई, त्रिशूली गल्छीजस्ता आयोजनामा चिनियाँ लगानी आकर्षित भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणपछि थप लगानी भित्रने निजी क्षेत्रको विश्वास छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सरकारी र निजी क्षेत्रको साझा प्रयत्नमा विकास निर्माणका योजना अगाडि बढाउन भ्रमणबाट थप बल पुग्ने विश्वास व्यक्त गर्छन् ।

उनले प्रधानमन्त्रीको भ्रमणपछि केही ठूला परियोजनामा चिनियाँ लगानी भित्रने बताए । यस्तै बुटवल पावर कम्पनीको साझेदारीमा करीब एक हजार मेगावाट क्षमताको आयोजना निर्माणका लागि चिनियाँ लगानी भित्र्याउने तयारीसमेत गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै…

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा…

प्रतिकृयाहरू
...