Saturday 7th March 2026

डीभीदेखि डिभोर्ससम्मः कीर्ते कागज देखाएर दोस्रो बिहे !


तिताेपाटी – म ३४ वर्षकी युवती हुँ । विवाह हुनुअघि म एउटा एनजीओमा रिसर्चको काम गर्थेँ । ०६८ सालको कुरा हो, फिल्डको काममा साथीको घर (बिराटनगर) पुगेकी थिएँ । साथीकी ममीले बिहे-सिहेका बारेमा सोध्नुभयो । उहाँकी माइजूले केटासँग कुरा चलाउनुभयो ।

बिहे गर्न केटा दुबईबाट आउनुभयो । उहाँहरुले केटी मन परिन् भन्नुभयो । मलाई पनि केटो मन पर्‍यो । केटाले पनि केटी मन पर्‍यो भनेपछि बुबाममीले पनि केही भन्ने कुरा भएन । यसरी ०६८ साल फागुन १९ गते इन्गेजमेण्ट गरेर २९ गते हाम्रो सामाजिक परम्परा अनुसार बिहे भयो ।

हामीले चैत १६ गते बिहे दर्ता गर्‍यौं । बैशाख ९ गते उहाँ दुबई जानुभयो ।

सबै राम्रै नै थियो । बिहेपछि मलाई जागिर छोड भन्नुभयो । हुन्छ भनेर म बिराटनगर नै बसेँ । त्योबेला बिराटनगर घरमा देउरानी, जेठानी र देबरसमेत हुनुहुन्थ्यो ।

पछि तिमीलाई अप्ठेरो भयो होला, काठमाडौंमै बसेर पार्लर सिक्दा हुन्छ भन्नुभयो । हुन्छ त भनेर म कोटेश्वरमा बुबाआमासँगै बस्न थालंे । मेरो जन्मघर जनकपुर भए पनि बुबाआमा यतै (कोटेश्वर) आउनुभयो । अहिले पनि उहाँहरु कोटेश्वरमै हुनुहुन्छ ।

दुबईमै छँदा उहाँलाई डीभी पर्‍यो । मैले हामी दुबैको भिसाका लागि काठमाडौंमा सबै कामहरु गरेँ । सँगै अमेरिका जाने भन्ने भएको थियो । उहाँ आउनुभयो र भन्नुभयो- तिमी तीन महिनापछि आउ, म अहिले जान्छु र उता बन्दोबस्त मिलाउँदै गर्छु । परिवारमा पनि त्यही सल्लाह भयो ।

हुन्छ भनियो र उहाँ भदौमा अमेरिका जानुभयो । अमेरिका जाने भनेपछि खुशी हुँदै सँगै मन्दिर गएर पूजा गर्‍यौं । हामी दुबै पक्षका परिवारले उहाँलाई विदाइ गर्‍यौँ । उहाँ हाँसीखुसी ०७० भदौ २२ गते अमेरिका जानुभयो ।

मेरो अपरशेन भयो, तर उहाँले सम्झनुभएन

उहाँको मनमा के कुरा चलिराथ्यो खै, अमेरिका गएपछि सम्पर्कमै नआउने गर्न थाल्नुभयो । म यहाँ बिरामी भएँ । मेरो पाठेघरमा ट्युमर रहेछ । त्यसको अपरेशन भयो । तर, उहाँले सम्झनुभएन । उहाँका परिवारका अन्य सदस्यहरु सासू, बहिनीहरु सबैजना आउनुभएको थियो । म ठीक भएँ तर, उहाँ सम्पर्कमै आउनुभएन ।

लोग्ने स्वास्नीको झगडा त हो, उतै गएर  भेटिहाल्छु भनेर उहाँ गएको पाँच महिनापछि माघ १० गते म पनि अमेरिका गएँ । ६ महिनामा त भिसाको म्याद पनि सकिन्थ्यो ।

म गएँ । तर, उहाँ मलाई रिसिभ गर्न आउनुभएन । म उहाँकैमा गएकी थिएँ । तर, मलाई लिन नआएपछि दाइ (ठूलाबुबाका छोरा) लाई सम्पर्क गरेँ र उहाँकोमा गएँ । पछि श्रीमानलाई सम्पर्क गर्दा ‘मलाई मतलब छैन जेसुकै गर्’ भन्नुभयो । म दाइकोमा मेरिल्याण्ड मै बस्न थाँले ।

कुार गर्न खोज्दा उहाँले झगडा मात्रै गर्ने, झर्किने गरिरहनुभयो । उहाँ पनि त्यही शहरमा बस्नुहुन्थ्यो ।

मैले केही समयपछि काम गर्न थालें । अहिले पनि अमेरिकामै पसलमा क्यासियरको काम गर्छु ।

विवाहमण्डपमै झडप !

श्रीमान गत साउनमा नेपाल आउनुभएथ्यो । यता आएर फेक डिभोर्स पेपर बनाएर दोस्रो बिहेको चाँजोपाँजो मिलाउनुभएछ । त्यो केटीसँग मेरो श्रीमानको गत भदौ २ गते बिहे भयो । बिहे धुम्बाराहीको एक बैङ्क्वेटमा भएको रहेछ ।

गोडा धुने बेलामा मेरा बुबाममी पुग्नुभएछ र मेरी छोरीको जिन्दगी बर्बाद हुन्छ भनेर अलाप-विलाप गर्नुभएछ । सामान्य झडप पनि भयो रे । तर, उनीहरुले ०७१ मै मसँग डिभोर्स भइसकेको भनेर पेपर देखाएपछि प्रहरीले त्यो घटना साम्य पारिदिएछ ।

त्यसपछि मैले नक्कली डिभोर्सका बारेमा थाहा पाएँ । र, मेले काम गर्ने ठाउँमा विदा मिलाएर भदौ १४ गते काठमाडौं आइपुगँे । १५ गते टेकु गएर मेरो डिर्भोस भएकै छैन भनेर प्रहरीमा निवेदन दिएँ ।

वडासचिवको गद्दारी 

बिराटनगरको वडा नम्बर ६ का सचिवले एकतर्फी डिर्भोस पेपर बनाइदिएको भन्ने सुनेँ ।  त्यो डिर्भोस पेपर पनि टेकुले अनुसन्धानका क्रममा मगाएको रहेछ । त्यो डिभोर्स पेपरमा मेरो नागरिकता नम्बर छैन । डिभोर्स पेपर तयार गर्दा मलाई कुनै जानकारी पनि दिइएको होइन ।

बिराटनगर ६ नम्बर वडा कार्यालयले भर्जिनियास्थित नेपाली दूतावासको निर्णयअनुसार ‘भर्जिनियाँ अदालत’बाट डिर्भोस निर्णय पत्रका आधारमा भनेर उल्लेख गरेको रहेछ ।

त्यसपछि म परराष्ट्र मन्त्रालय गएँ । परराष्ट्रले त्यो डिर्भोस पेपर फेक हो भन्ने प्रमाणित गरिदिएको छ ।

परराष्ट्रले नेपाली दुतावास भर्जिनियामा नभई वासिङ्टन डीसीमा रहेको र सम्बन्ध विच्छेदको निर्णय दुतावासमा नहुने ब्यहोराको पत्र दिएको छ ।

सम्बन्ध विच्छेदको पत्रमा काठमाडौं जिल्ला अदालतको निर्णय भन्ने उल्लेख छ, तर, त्यो माग गर्दा जिल्ला अदालतमा फेला नपरेको जवाफ दिइयो ।

बिराटनगर महानगरपालिका वडा कार्यालयको गद्दारीले गर्दा दुईवटी केटीको जिन्दगी वर्वाद भयो । त्यही कागजका आधारमा उनले दोस्रो विवाह गरेे । डिर्भोस नै भएको रहेछ भनेर विवाह गर्ने युवती फसिन् । शायद उनलाई पनि यो सबै कीर्ते कार्य थाहा थिएन होला । किनभने बिराटनगर वडा कार्यालयले बकाइदा कागज बनाइदिएको थियो । त्यसकारण सबैभन्दा ठूलो कारवाही त वडा कार्यालयलाई हुनुपर्ने हो । श्रीमतीको मञ्जुरीविनै, एकचोटि पनि श्रीमान-श्रीमतीलाई नराखी कसरी डिभोर्स पेपर बन्यो ?

मैले वडा सचिवविरुद्ध अख्तियारमा पनि निवेदन दिएकी छु । वडा सचिवले रकम लिएर एकतर्फी रुपमा डिभोर्स पेपर बनाइदिएको मलाई प्रत्यक्षदर्शी बताएका छन् ।

५ वर्षदेखि डिभोर्स मागिरहनुभएको थियो 

म अमेरिका गएपछि दाजुकोमा बस्न थालें । उतै बसेर काम पनि गर्न थालें । श्रीमानसँगै बस्न पाउँ भनेर कत्ति वर्षसम्म कति अनुनय गरें, त्यो मलाई मात्रै थाहा छ । म सम्पर्क गर्न खोज्थें, उहाँ सम्पर्कमै आउन चाहनुहुन्थेन । उहाँका फुपूका छोरालाई सम्पर्क गर्‍यो भने हामीलाई धेरै कचकच नगर् पुलिस केस गरिदिन्छौं भन्थे ।

बीचमा हाम्रो कुराकानी नै नभएको भने होइन । बल्ल-बल्ल सम्पर्कमा आउनुभयो भने,  जहिल्यै झगडा मात्रै गर्ने । उहाँ खाली मलाई डिर्भोस चाहियो भन्नुहुन्थ्यो म दिन्न भन्थेँ ।

उहाँ ‘मलाई तँसँग बस्नु छैन’ भन्नुहुन्थ्यो । मैले किन भनेर लामो कुरा गर्न खोज्यो भने फोन काटिदिननुहुन्थ्यो । योभन्दा अन्य कुरा हुनै पाएन ।

यसैवीच एकपटक उहाँका मामाले ‘अब तपाईको भविश्य बन्यो, मान्छे अमेरिका जान कत्ति गर्छन्, तपाईले भविश्य बनाउनुभयो, अब लोग्नेलाई छोडिदिनू’ भनेर मलाई भने ।

मेरा श्रीमानले किन यस्तो गर्नुभयो, मलाई थाहा भएन । भगवान जानुन् । त त अहिलेसम्म त उहाँ नै भनेर बसिरहेकी छु । किनभने, बुबाआमाले बिहे गरेर दिएको हो मलाई । अमेरिकामा बसे पनि हामी नेपाली हौं । हाम्रो संस्कार अमेरिकाको जस्तो छैन र हाम्रो समाजले पचाउँदैन ।

मलाई लोग्नेस्वास्नेको झगडा हो भन्ने लाग्थ्यो । र, एक दिन उहाँको दिल फर्किन्छ भनेर अहिलेसम्म नराम्रो केही सोचिनँ ।

अर्काको देशमा के हुन्छ, कसो हुन्छ, थाहा पनि हुँदैन । त्यसैले म कानुनीरुपमा पनि गइनँ । उहाँले के गर्नुभयो, कसरी हो उतैबाट डिभोर्स पेपर बनाएको रहे छ । तर, हाम्रो नराम्रो नहोस् भनेर उहाँलाई हर्ट हुने केही पनि गरिँन । तर, अहिले आफ्नो कुरा बताउँन बाध्य भएँ । बुबाआमा त अझै पनि तिम्रो राम्रो हुने गर, १२ वर्षपछि खोला फर्किन्छ नानी भनेर भनिरहनुभएको छ ।

अब के गर्ने ?

म यो बिहे त बदर गराउँछु । नयाँ मुलुकी संहिता अनुसार दोस्रो बिहे बदर हुन्छ, पहिलेको जस्तो कारवाही भोग्दैमा सदर हुँदैन भन्ने सुनेकी छु । उहाँले आज मलाई यस्तो गर्नुभयो, भोलि अरुलाई पनि यस्तै गर्न सक्नुहुन्छ । बिहे गर्दै छोड्दै गर्ने अनि आफ्नै मनले डिर्भोस गर्ने, त्यो पनि झूठो कागज बनाएर । फेरि भोलि मन लागे अर्कीसँग यस्तै गर्न त दिनुभएन नि ।

म उहाँसँग दोस्रो बिहे गर्ने केटीलाई पनि दोष दिन्न । किनभने, उनलाई पनि झुक्याएको होला । अमेरिका लैजाने आश देखाएको होला । उनको पनि सपना होला आफूभन्दा २० वर्ष जेठोसँग बिहे गरेर अमेरिका जाने ।

लिखित डिर्भोस पेपर नै बनाएर देखाएपछि त उनले मात्रै होइन, उनका परिवारले नै विश्वास गरेका रहेछन् । छोरीलाई अमेरिका पठाउने उनीहरुको पनि सपना थियो होला ।

तर, मेरा बुबाले विवाह मण्डपमै गएर यो बिहे रोकौं भन्दाभन्दै त्यो केटीको परिवारले पनि बिहे गराइदिए । अब जानीजानी अरुको परिवारमा हस्तक्षेप गर्न आउनेले पनि कानुन अनुसार कारवाही त भोग्नैपर्छ ।

मेरी आमा डिप्रेसनको बिरामी हुनुहुन्छ । सुगरको औषधि खाइरहनुपर्छ । बुबा पनि ७१ वर्षको हुनुभयो, उहाँ पनि बिरामी हुनुहुन्छ । हिजो पनि बुबालाई अस्पताल लगेर, डाक्टर देखाएरै आएकी हुँ ।

मेरा ममीबुबाहरु मसँगै निर्भर हुनुहुन्छ । म नै कमाउने हुँ । म आफू पनि पालिनुपर्‍यो । अमेरिकारमा घण्टाको हिसावले पैसा आउने हो, मासिक तलबमा आउँदैन । नेपालमा त कमाइ केही छैन, अमेरिकाबाट आएको पनि तीन महिना भइसक्यो । ७/८ लाख खर्च गरेर आएकी छु । अमेरिकामै भएको भए तीन हजारको दरले पनि ८/९ हजार त कमाउँथे । यहीँ बसिरहँदा त थप समस्या हुन्छ ।

अब, डिसेम्बर पहिलो साता अमेरिका जाने सोच बनाएकी छु, वारेसनामा दिएर । उहाँबाट पनि सम्पर्क गरिरहन्छु । आउनुपरे नेपाल तुरुन्तै आउछु । अब गएपछि त्यहीँ अमेरिकामै पनि प्रहरीमा फेक डिभोर्स पेपर बनाएको भनेर निवेदन दिने विचार गरेकी छु ।

मैले न्याय त पाउनुपर्‍यो नि । अमेरिकामा पनि नेपाली सोसाइटी छ । एनआरएनए छ । नेपाली दुतावासमा पनि कुरा गर्छु ।

मलाई चाहिएको न्याय हो । न्याय पाएँ भने अब म आफ्नो जीवन एक्लै बिताउन सक्छु । अर्को बिहे गर्ने पनि सोचेकी छैन र सोच्दिनँ पनि । आफैँ माग्नेले, आफैँ चिना देखाएर बिहे गर्नेले बीच बाटोमा आएर यसरी अलपत्र छोड्नुहुन्छ भन्ने लागेको थिएन ।

नेपालमा भएको विवाह दर्ता अमेरिकाबाट सम्बन्ध विच्छेद हुन्छ त ? हुँदा पनि एकतर्फी ? अनि नेपालको स्थानीय तहले एकतर्फीरुपमा श्रीमतीसँग नसोधी डिभोर्स पेपर बनाउन मिल्छ ?

उहाँले यस्तो सम्म त गर्नुभयो… !

प्रस्तुती: रघुनाथ बजगाईं

– अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...