Sunday 12th October 2025

३७ किलो चरेससहित तीन पक्राउ


तिताेपाटी — रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ परेका मध्ये एक स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको र पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

पक्राउ हुनेमा बागलुङ जिल्ला नसीखोला गापा–९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका–२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँची पाणिनी गाउँपालिका–५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी रहेका छन् । रास्कोटी सोही वडाका वडा सदस्य रहेको प्रहरीले जनाएको छ ।

उक्त परिणामको लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको र पक्राउ परेका सबै लागुऔषध कारोबारी हुनसक्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए । उक्त चरेस नेपाली मूल्यमा करीब रु १८ लाख बराबरको हुनसक्ने उनले बताए ।

रासस


सम्बन्धित शीर्षकहरु

विश्वका ४० भन्दा बढी देशमा क्रियाशील झापाली समाजहरूको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौं अधिवेशन झापाको बिर्तामोडमा भव्यतापूर्वक सम्पन्न भएको…

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

प्रतिकृयाहरू
...