काभ्रे, मंसिर ३। काभ्रे जिल्लाको एक रिसोर्टबाट ३५ जापानीसहित ४० जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई दिनभित्र काभ्रेका रिसोर्टमा विदेशी नागरिकमाथि गरिएको यो दोस्रो प्रहरी कारबाही हो।
बुधबार बिहान करिब ११ बजे पनौतीस्थित बल्थली माउन्टेन रिसोर्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा ३५ जापानी र पाँच चिनियाँ नागरिक रहेका छन्। उनीहरूले रिसोर्टको सम्पूर्ण क्षेत्र भाडामा लिएर बसेको बताइएको छ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनुको कारण भने सार्वजनिक गरेको छैन। उनीहरूलाई थप अनुसन्धान तथा सोधपुछका लागि अध्यागमन विभागको जिम्मा लगाइएको छ। उनीहरू नेपाल आउनुको उद्देश्य र यहाँ बसेर गरिरहेका गतिविधिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि एक दिन अगाडि पनि काभ्रेकै अर्को रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। प्रहरीले उक्त रिसोर्टबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोनसमेत बरामद गरेको थियो। उनीहरू अनलाइन ठगीमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ।
तर बल्थली रिसोर्टबाट पक्राउ परेका जापानी तथा चिनियाँ नागरिक कुनै गैरकानुनी गतिविधिमा संलग्न रहेको अहिलेसम्म पुष्टि नभएको प्रहरीले स्पष्ट पारेको छ।
लगातार दुई दिनमा काभ्रेका रिसोर्टबाट ठूलो सङ्ख्यामा विदेशी नागरिक पक्राउ परेपछि उनीहरूको नेपाल बसाइको उद्देश्य, गतिविधि र सम्भावित गैरकानुनी सञ्जालबारे चासो बढेको छ। यद्यपि अनुसन्धान पूरा नहुँदासम्म पक्राउ परेका सबैलाई एउटै प्रकृतिको गतिविधिमा संलग्न भएको ठान्न मिल्दैन।