Wednesday 4th November 2026

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता


अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले प्रारम्भिक सफलता हासिल गर्दै रिपब्लिकनको एक सिनेट सिट जितेको छ । रिपब्लिकनको बलियो पकड मानिएका क्षेत्रमा समेत डेमोक्रेटिक पार्टीले प्रभाव विस्तार गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि राजनीतिक दबाब बढ्ने सङ्केत देखिएको छ ।

डेमोक्रेटहरूले सिनेटका महत्त्वपूर्ण सिट सुरक्षित राख्नुका साथै जर्जियाको गभर्नर पदमा पनि सफलता हासिल गर्ने अनुमान गरिएको छ । यद्यपि, कङ्ग्रेसका दुवै सदनको नियन्त्रण कसले लिने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन ।

ट्रम्पको दोस्रो कार्यकालप्रति जनमत परीक्षणका रूपमा हेरिएको यस चुनावमा जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानविरुद्धको अमेरिकी युद्ध प्रमुख मुद्दा बनेका छन् । युद्धका कारण इन्धनको मूल्य तीव्र रूपमा बढेको विषयले राष्ट्रपति र उहाँको पार्टीमाथि दबाब थपेको छ ।

डेमोक्रेटहरूले उत्तरी क्यारोलिनामा रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाको एक सिट जितेका छन् । उक्त क्षेत्रमा ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनावमा सहज जित हासिल गर्नुभएको थियो । फ्लोरिडामा पनि निर्वाचन क्षेत्रको पुनः निर्धारणबाट रिपब्लिकनले अपेक्षा गरेअनुसार लाभ लिन नसक्ने सङ्केत देखिएको छ ।

जर्जियामा एटलान्टाकी पूर्वमेयर केइशा ल्यान्स बटम्सले गभर्नर पद जित्ने अनुमान गरिएको छ । उनी निर्वाचित भए अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बन्नेछिन् । यससँगै जर्जियामा २४ वर्षदेखि कायम रिपब्लिकन शासनको अन्त्य हुनेछ ।

यद्यपि, फ्लोरिडामा ट्रम्पको समर्थन प्राप्त बायरन डोनाल्ड्सले गभर्नर पदको चुनाव जितेका छन् । उनी निर्वाचित भए राज्यको पहिलो अश्वेत गभर्नर बन्ने छन् । रिपब्लिकन एशले मूडीले पनि सिनेटको आफ्नो सिट सुरक्षित राख्नुभएको छ ।

उत्तरी क्यारोलिनामा डेमोक्रेट रोय कुपरले ट्रम्पद्वारा छनोट गरिएका पूर्वरिपब्लिकन राष्ट्रिय समिति अध्यक्ष माइकल ह्वाटलीलाई पराजित गरेका छन् । ट्रम्पलाई लगातार तीन पटक समर्थन गरेको यस राज्यमा कुपरले जीवनयापनको लागत घटाउने प्रतिबद्धतासहित चुनावी अभियान चलाएका थिए । उनले राष्ट्रपतिसँग मतभेद राख्दै आएका अवकाशप्राप्त रिपब्लिकन सिनेटर थोम टिलिसको स्थान लिन प्रतिस्पर्धा गरेका थिए ।

जर्जियामा सन् २०२८ को राष्ट्रपतीय चुनावका सम्भावित उम्मेदवारका रूपमा हेरिएका डेमोक्रेटिक सिनेटर जोन ओसोफले पनि आफ्नो रिपब्लिकन प्रतिद्वन्द्वीलाई पराजित गरे । त्यस्तै, न्यु ह्याम्पसायरमा क्रिस पप्पास निर्वाचित भए । उनी अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो खुलेर समलिङ्गी पहिचान सार्वजनिक गरेका व्यक्ति हुन् ।

चुनावअघि सिनेटका कुल १०० सिटमध्ये रिपब्लिकनसँग ५३ र डेमोक्रेटसँग ४७ सिट थिए । सिनेटको नियन्त्रण लिन डेमोक्रेटहरूले कम्तीमा चार सिटको खुद लाभ हासिल गर्नुपर्ने थियो । प्रतिनिधिसभाका सबै ४३५ सिटमा भएको चुनावमा बहुमत प्राप्त गर्न उनीहरूले कम्तीमा तीन सिट आफ्नो पक्षमा पार्न आवश्यक थियो ।

प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले देश ‘दिशाको नाटकीय परिवर्तनको सँघारमा’ रहेको बताए ।

डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गरे ट्रम्पका विधायी योजनाहरू अवरुद्ध गर्न र इरानसँगको युद्ध, आप्रवासी निष्कासन तथा कथित भ्रष्टाचारबारे प्रशासनको छानबिन गर्न सक्नेछन् । सिनेटमा पनि नियन्त्रण हासिल गरे न्यायाधीश तथा वरिष्ठ प्रशासनिक अधिकारीको नियुक्ति रोक्न सक्नेछन् । यसले ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षमा शासन सञ्चालन गर्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ ।

मतदाताका लागि जीवनयापनको बढ्दो खर्च प्रमुख चिन्ताको विषय बनेको छ । लस एन्जलसका २४ वर्षीय मतदाता टेलर कुकले भाडा, खाद्यान्न, उपयोगिता सेवाका बिल र सम्पत्ति कर बढिरहेको बताउँदै यी खर्च घटाउन काम गर्ने प्रतिनिधि कङ्ग्रेसमा चाहिएको एएफपीलाई बताए ।

मङ्गलबार अन्तिम टेलिभिजन उपस्थितिका क्रममा ट्रम्पले भन्सार शुल्क, आप्रवासन नियन्त्रण र इरानविरुद्धको सैन्य अभियानको बचाउ गरेका थिए । ‘हामीले अमेरिकालाई महान् राख्नुपर्छ । अहिले हामी महान् छौँ । दुई वर्षअघि हामी भयावह अवस्थामा थियौँ’, ८० वर्षीय ट्रम्पले फक्स न्युजसँग भनेका थिए ।


सम्बन्धित शीर्षकहरु

चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा न्याय क्षेत्र अध्ययन समिति गठन न्यायालयभित्र देखिएका विकृति, विसङ्गति तथा भ्रष्टाचारका आरोपमाथि अध्ययन गर्न चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा…

भ्रष्टाचारविरोधी अभियन्ता राजकुमार तिम्सिनाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भवन निर्माण तथा स्वास्थ्य उपकरण खरिदमा भएको भनिएको अनियमिततासम्बन्धी पुरानो…

अमेरिकी राजनीतिक टिप्पणीकार टकर कार्लसनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही दिनभित्रै इरानमाथि परमाणु आक्रमण गर्न सक्ने दाबी गरेका छन्। उनले…

प्रतिकृयाहरू
...