Friday 23rd October 2026

गाउँ गाउँ रहेन: शून्यता देखेर दशैँले नि झ्याउ मान्यो


यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई र ज्येष्ठ व्यक्तिहरूको हातबाट पहेंलपुर जमरासहित अक्षता लिनेको भीडले भरिने गाउँहरू यसपालि सुनसान र उज्यालोविहीन देखिए। गाउँको यो उजाड र खल्लो रूप देख्दा लाग्थ्यो मान्छे त परै जाओस् दशैँ पर्व आफैँले पनि झेउ मान्यो। गाउँबाट मान्छे र मन दुवै हराएपछि दशैँ एकाएक हराए जस्तो भयो। चाड त आयो, तर गाउँको दैलोमा खुसीको एउटा सानो दियो सम्म बोल्न सकेन।

म आफैँ यसपालि गाउँका कुनाकाप्चा डुलेँ, धेरै बस्तीहरू घुमेँ, अनि कयौँ पुराना आँगनहरूमा पाइला टेकेँ। चौतारीमा भारी बिसाएर बसेका भरियादेखि पिँढीमा एकलै घाम तापिरहेका वृद्धवृद्धाहरूसँग भलाकुसारी गरेँ। धेरै संग साक्षात्कार गर्ने मौका त मिल्यो, तर विडम्बना! मैले जसको अनुहार नियालेँ, त्यहाँ केवल एउटा गहिरो उदासी मात्रै फेला पारेँ। कसैको ओठमा पनि त्यो पुरानो हाँसो थिएन। गाउँका चौतारीहरू चौतारी जस्ता थिएनन्, तिनमा सुख-दुःख साट्ने मान्छेहरूको कुनै जमघट थिएन। मनभरी यही रिक्तता बोकेर मैले सिंगो गाउँ चहार्दा कतै पनि त्यो दशैँको असली सुगन्ध भेट्दै भेटिनँ।

अहिले गाउँभरी लौरी टेकेका र आँखा धमिलो भइसकेका बुढाबुढीबाहेक कोही भेटिँदैनन्। तन्नेरी सपनाहरू राहदानी बोकेर खाडीको रातो मरुभूमि र युरोपका चिसो गल्लीहरूमा पुगेपछि गाउँ रित्तिएको भेटे। दशैँको मुख्य दिनमा पनि ती वृद्ध आमाबुबाहरू आँखाभरी आँसु र मनभरी पट्यारलाग्दो पिर बोकेर पिँढीमा परदेशी छोराछोरी सम्झँदै आकास टोलाइरहेका कारुणिक दृश्यहरू जताततै देखिन्थे। दैलो उघारेर ‘आमा’ भन्दै भित्र छिर्ने र पछ्यौरीमा झुम्मिने कोही नहुँदा ती बुढा आँखाहरू भित्रभित्रै रोइरहेका थिए। यो चाड उनीहरूका लागि उत्सव होइन, मन अमिलो पार्ने र विगतका यादहरूले मुटु चसक्क बनाउने एउटा बहाना मात्र बन्यो।

गाउका घरहरू र बाटोघाटोले आफैँ बोलिरहेका छन्, कुनै मान्छेले बयान गरिरहनु नै पर्दैन। पहिले पहिले दशैँ आउनुअघि नै रातो माटो र कमेरो लिन जानेहरूको ताँती हुन्थ्यो, घरहरू दुलही जस्तै उज्याला देखिन्थे। तर यसपालि ती भित्ताहरू फुस्रा, चर्किएका र खल्लो देखिए। सायद ती भित्ताहरूलाई मायाको लेप लगाउने कोमल हातहरू गाउँमा नभएर होला। हिँड्ने मान्छे नहुँदा गाउँका गोरेटोहरूमा काँडा र झारपात पलाएर बाटो पुरिइसकेको छ। घर वरिपरि न दाउराको चाङ छ, न त दशैँका लागि गरिने फाँडफोड नै देखिन्छ। दाउरा काट्ने, चलाउने र प्रयोग गर्ने युवाहरूको अनुपस्थितिले ग्रामीण जनजीवनको यो डरलाग्दो रिक्ततालाई थप छर्लङ्ग पारिदिएको छ।

मैले गाउँका धेरै थलोहरूमा पुगेर मानिसहरूसँग मनका कुरा खोतल्दा कसैको अनुहारमा पनि त्यो पुरानो आत्मीयता र दशैँको वास्तविक रस भेटिएन। मान्यजनको आशिर्वाद लिने सिंगो देशको यो महान् पर्व आजभोलि केवल एउटा औपचारिकता र सामाजिक सञ्जालमा फिल्टरवाला तस्बिर हालेर ‘डिजिटल खुसी’ देखाउने माध्यम मात्र बनेको छ। नाम मात्रको दशैँमा न त पहिलेको जस्तो मनै जुरुक्क पार्ने रौनक बाँकी छ, न त त्यो हाम्रो माटोको रैथाने नेपालीपन नै। चाडबाड त केवल पात्रोको एउटा रातो पानामा मात्र खुम्चिएर रह्यो, गाउँको आँगनबाट त यसको प्राण नै उडेर गइसकेछ।

तर, गाउँ रित्तियो र संस्कृति हराउन लाग्यो भन्दैमा हात बाँधेर, आँसु मात्रै खसालेर र निराशाका कुरा गरेर बस्ने बेला यो पटक्कै होइन। गाउँको यो शून्यताले हामी सबैलाई एउटा ठूलो र भयानक सामाजिक चेतावनी दिएको छ। प्लीज, हाम्रो दशैँलाई फेरि त्यही पुरानो, न्यानो र आत्मीय दशैँ बनाउन अब हामी आफैँले एउटा दरिलो पहल गरौँ। हामी संसारको जुनसुकै कुनामा पुगे पनि, शहरका जतिसुकै ठूला महलमा बसे पनि, चाडबाडको बेला आफ्नै माटो र आफ्ना जराहरूलाई बिर्सनु महापाप हुनेछ।

परदेश वा शहरमा रहेका तन्नेरीहरू वर्षदिनको यो पवित्र अवसरमा गाउँ फर्कने र आफ्ना बुढा आमाबाबुको ओठमा मुस्कान छर्ने वातावरण अब बन्नैपर्छ। युवाहरू आफैँ जुर्मुराएर गाउँका बाटोघाटो सोर्ने, पुराना भत्किएका कुला-पँधेरा ब्युँझाउने र रातो माटोको त्यो रैथाने परम्परालाई जोगाउने साझा प्रयासको खाँचो छ। आउँदा दिनहरूमा गाउँलाई फेरि तन्नेरी बनाउन र दशैँको त्यो हराएको वास्तविक रौनक फर्काउन हामी प्रत्येकले आ-आफ्नो ठाउँबाट एउटा इँटा थप्नैपर्छ। किनभने गाउँ बाँचे मात्र हाम्रो मौलिक संस्कृति बाँच्नेछ, र संस्कृति बाँचे मात्र हाम्रो असली नेपालीपन जोगिनेछ।

-सुशिल बस्याल “राष्ट्रप्रेमी”
बगनासकाली -८ पाल्पा।


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...