अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन गरेका छन्। यो अध्ययन Nature जर्नलमा प्रकाशित भएको छ।
वैज्ञानिकहरूका अनुसार भाइरसको बाहिरी सुरक्षा आवरण (क्याप्सिड) हजारौं सम्भावित संयोजनमध्ये सही संरचनामा आफैं निर्माण हुन सक्छ। तर यो प्रक्रिया कसरी सम्भव हुन्छ भन्ने कुरा दशकौँदेखि रहस्यमय थियो। नयाँ अध्ययनले भाइरसका प्रोटिनहरू बारम्बार जोडिने र छुट्टिने प्रक्रियाबाट सही संरचना बनाउँदै जाने देखाएको छ।
अनुसन्धान टोलीले नयाँ प्रविधिको प्रयोग गरेर भाइरसजस्तो कण निर्माण हुँदै गर्दा प्रत्येक अणु कसरी थपिन्छ भन्ने प्रत्यक्ष रूपमा हेर्न सफल भएको जनाएको छ। वैज्ञानिकहरूले यसलाई जटिल भूलभुलैयामा सही बाटो खोज्ने प्रक्रियासँग तुलना गरेका छन्।
अध्ययनका अनुसार सुरुमा प्रोटिनहरूबीचको सम्बन्ध कमजोर हुन्छ। गलत संरचना बनेमा ती सजिलै छुट्टिन्छन् र फेरि नयाँ संयोजन प्रयास गर्छन्। जब सही ढंगले बन्द संरचना तयार हुन्छ, त्यो स्थिर बन्छ र त्यसपछि भाइरसको आवरण छिटो निर्माण हुन थाल्छ।
अनुसन्धानमा संलग्न रोइ एसोरका अनुसार भाइरसले कुनै नक्सा वा निर्देशनबिना नै सही संरचना बनाउने कठिन समस्या समाधान गर्छ। अब वैज्ञानिकहरूले यो प्रक्रिया अणु–अणु स्तरमा हेर्न सक्ने भएकाले यसको भौतिक नियमहरू बुझ्न सजिलो भएको छ।
वैज्ञानिकहरूका अनुसार यो खोजले भविष्यमा नयाँ एन्टिभाइरल औषधि र खोप विकासमा सहयोग पुर्याउन सक्छ। भाइरसको निर्माण प्रक्रिया बीचमै रोक्न सकिने उपाय विकास गर्न सके संक्रमण नियन्त्रणका नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ। साथै, यो अध्ययनले जीवविज्ञानमा हुने अन्य आत्म–निर्माण (self-assembly) प्रक्रियाहरू बुझ्न पनि मद्दत गर्ने अपेक्षा गरिएको छ।