Friday 23rd October 2026

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १६ जनाको मृत्यु


तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। भूकम्पका कारण सयौं घरमा क्षति पुगेको र उद्धार कार्य तीव्र रूपमा जारी रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रबिन्दु नागछु सहरबाट करिब १८३ किलोमिटर पूर्व–उत्तरपूर्वमा रहेको थियो। प्रारम्भिक विवरणअनुसार कम्तीमा ३३९ घर पूर्ण रूपमा भत्किएका छन् भने अन्य धेरै भवनमा क्षति पुगेको छ।

प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ। स्थानीय गाउँहरूमा केही व्यक्ति घाइते अवस्थामा फेला परेका छन् भने धेरै घरमा चिरा परेको बताइएको छ। सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियोहरूमा भूकम्प आएपछि मानिसहरू घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेको देखिन्छ।

भूकम्पपछि प्रभावित क्षेत्र भएर सञ्चालन हुने रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको छ। चाइना अर्थक्वेक एडमिनिस्ट्रेसनले दोस्रो उच्चस्तरको आपत्कालीन प्रतिक्रिया लागू गरेको जनाएको छ।

भूकम्पको केन्द्रविन्दु समुद्री सतहबाट करिब ४ हजार ८ सय मिटरभन्दा बढी उचाइमा पर्ने क्षेत्रमा रहेको बताइएको छ। चीनको दक्षिणपश्चिमी भाग, विशेषगरी तिब्बती पठार र हिमालय आसपासको क्षेत्र, युरेसियन र भारतीय टेक्टोनिक प्लेटको ठोक्किने क्षेत्रमा पर्ने भएकाले बारम्बार शक्तिशाली भूकम्प आउने गर्दछ।

यसअघि सन् २०२४ को जनवरीमा सिन्जियाङ क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प जाँदा तीन जनाको मृत्यु भएको थियो। त्यस्तै सन् २०२३ डिसेम्बरमा गान्सु प्रान्तको जिशिशान काउन्टीमा आएको भूकम्पमा एक सयभन्दा बढी मानिसको ज्यान गएको थियो, जुन पछिल्लो एक दशककै सबैभन्दा घातक भूकम्पमध्ये एक मानिन्छ।

अधिकारीहरूले क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेकाले मृतक र घाइतेको संख्या थप बढ्न सक्ने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...