दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार करिब ५० जनाको समूहले प्रदर्शनका बेला सडक किनारमा उभिएका ती व्यक्तिमाथि आक्रमण गरेको थियो।
मृतकको राष्ट्रियता सार्वजनिक गरिएको छैन। उनी ३० देखि ४० वर्ष उमेर समूहका रहेको अनुमान गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दक्षिण अफ्रिकामा पछिल्ला केही महिनादेखि आप्रवासीविरोधी तनाव बढ्दै गएको छ। गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीविरुद्ध कडा कदम चाल्न माग गर्दै विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। कतिपय प्रदर्शन हिंसात्मक बनेका छन्।
नाइजेरिया, मोजाम्बिक र मलावी लगायतका देशहरूले आफ्ना नागरिकहरू आप्रवासीविरोधी आक्रमणमा मारिएको दाबी गर्दै आएका छन्। यद्यपि दक्षिण अफ्रिकी अधिकारीहरूले केही घटनाहरू आप्रवासीविरोधी हिंसाभन्दा पनि आपराधिक गतिविधिसँग सम्बन्धित रहेको बताएका छन्।
बढ्दो असुरक्षाका कारण पछिल्ला महिनाहरूमा हजारौं आप्रवासी दक्षिण अफ्रिकाबाट बाहिरिएका छन्। धेरैले स्थानीय बासिन्दाबाट हिंसाको डर रहेको बताएका छन्। सरकारले पनि आवश्यक कागजात नभएका धेरै आप्रवासीलाई देश निकाला गरिएको जनाएको छ।
अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने दक्षिण अफ्रिकामा रोजगारी र आर्थिक अवसरको खोजीमा विभिन्न देशबाट मानिसहरू आउने गर्छन्। तर उच्च बेरोजगारी, गरिबी र सार्वजनिक सेवामाथिको बढ्दो दबाबका कारण स्थानीय र आप्रवासी समुदायबीच तनाव बढ्ने गरेको छ।
करिब ४० लाख जनसंख्या रहेको डरबन सहर यस वर्ष आप्रवासीविरोधी आन्दोलनको प्रमुख केन्द्र बनेको छ। गत जुनमा हजारौं मलावी नागरिकले आफूहरूमाथि हिंसाको खतरा बढेको भन्दै स्वदेश फर्काइदिन माग गरेका थिए।
यसै महिनाको सुरुमा जोहानेसबर्गको सोवेटो क्षेत्रमा आप्रवासीसम्बन्धी विवादपछि सवारीसाधनमा आगजनी भएको र केही पसलहरू लुटिएका थिए।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले आप्रवासीविरुद्ध हुने हिंसाको निन्दा गरेका छन्। साथै सीमा व्यवस्थापनमा विगतमा कमजोरी रहेको स्वीकार गर्दै त्यसलाई सुधार गर्न सरकार लागिपरेको बताएका छन्।
सरकारी तथ्यांकअनुसार ६ करोड २० लाख जनसंख्या रहेको दक्षिण अफ्रिकामा करिब २४ लाख विदेशी नागरिक बसोबास गरिरहेका छन्। तर प्रदर्शनकारीहरूले कागजातविहीन आप्रवासीको वास्तविक संख्या सरकारी तथ्यांकभन्दा धेरै रहेको दाबी गर्दै आएका छन्।
Provide your feedback on BizChat