कुवेतबाट सञ्चालित नेपाली डिजिटल सञ्चारमाध्यम निरेम अपडेटको प्रधान सम्पादकको जिम्मेवारी पत्रकार दीपेन्द्र निरौलाले सम्हाल्ने भएका छन्। कार्यव्यस्तताका कारण निवर्तमान प्रधान सम्पादक सुरेश बुढाथोकीले सम्पादकीय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएपछि निरेम अपडेटले नयाँ सम्पादकीय नेतृत्वका रूपमा निरौलालाई जिम्मेवारी दिएको हो।
दुई दशकभन्दा बढी समयदेखि छापा, रेडियो, श्रव्य–दृश्य तथा अनलाइन पत्रकारितामा सक्रिय निरौला सन् २०२४ देखि निरेम प्रोडक्सन्ससँग आबद्ध छन्। उनले मोरङबाट प्रकाशित जनआवाज साप्ताहिक मार्फत पत्रकारिता यात्रा सुरु गरेका थिए भने स्टार एफएम र विजयपुर एफएममा विभिन्न जिम्मेवारी सम्हाल्दै स्टेसन म्यानेजरसम्मको भूमिका निर्वाह गरेका छन्।
नयाँ जिम्मेवारीसँगै निरौलाले समाचारको गुणस्तर, विश्वसनीयता, तथ्यपरकता र निष्पक्षतालाई प्राथमिकता दिँदै प्रवासी नेपाली समुदायका आवाज, सामाजिक गतिविधि तथा समसामयिक विषयलाई अझ प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।