बुल्गेरियाको कालो सागर तटनजिक दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण हुँदा ११ जना नाविक बेपत्ता भएका छन् भने केही घाइते भएका छन्।
गिनी-बिसाउको झण्डावाहक एचएस डिग्निटी जहाजमाथि आक्रमणपछि उक्त जहाज डुबेको थियो। जहाजमा रहेका १६ जनामध्ये पाँच जनाको उद्धार गरिएको छ भने बाँकी ११ जनाको खोजी जारी छ।
यसैगरी, माल्टाको झण्डावाहक तथा युक्रेनी स्वामित्वको चेल्सी-३ जहाजमा तीनवटा ड्रोन प्रहार भएको बताइएको छ। जहाजमा रहेका सबै १५ जनाको सकुशल उद्धार गरिएको छ भने पाँच जनालाई सामान्य चोट लागेको छ।
घटनापछि बुल्गेरियाले आक्रमणको कडा निन्दा गर्दै ड्रोनको स्रोत र आक्रमणमा संलग्न पक्ष पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ। प्रधानमन्त्री रुमेन रादेभले घटनाबारे रुसी राजदूतलाई बोलाएर छलफल गरेका छन्। यद्यपि आक्रमणको जिम्मेवार पक्षबारे अहिलेसम्म ठोस प्रमाण नआएको बुल्गेरियाले जनाएको छ।
युक्रेनले भने आक्रमणका लागि रुसलाई जिम्मेवार ठहर गरेको छ। घटनापछि बुल्गेरियाले नेटो र युरोपेली संघलाई जानकारी गराउँदै अनुसन्धान तथा कालो सागर क्षेत्रमा सुरक्षा निगरानी सुदृढ गर्न सहयोग मागेको छ।