Tuesday 13th October 2026

नयाँदिल्लीमा नेपाल–भारत गृहमन्त्री भेटवार्ता, सुरक्षा सहकार्य सुदृढ गर्ने विषयमा छलफल


भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका साझा सुरक्षा चासो, आपसी समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ।

भेटवार्तामा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीहरूले भारतीय बजारमा पहुँचका क्रममा भोग्दै आएका प्राविधिक समस्याका विषयसमेत उठाएका थिए। विशेषगरी भारतीय मानक ब्युरो (बीआईएस) प्रमाणीकरणलगायतका विषयमा नेपाली व्यवसायीले सामना गरिरहेका कठिनाइबारे उनले भारतीय पक्षको ध्यानाकर्षण गराएको मन्त्रालयले जनाएको छ। यस विषयमा भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको पनि मन्त्रालयले उल्लेख गरेको छ।

गृहमन्त्री गुरुङ प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत गएका हुन्। बैठकमा उनले दक्षिण तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा देखिएका साझा सुरक्षा चुनौतीहरूको सामना गर्न सदस्य राष्ट्रबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।

उनले आतंकवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणलाई क्षेत्रीय सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरेका छन्। यस्ता अन्तरदेशीय अपराध नियन्त्रणका लागि बिमस्टेक सदस्य राष्ट्रहरूबीच सुरक्षित सूचना आदानप्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्यलाई सुदृढ बनाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै, जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिमलाई पनि गृहमन्त्री गुरुङले बैठकमा प्राथमिकताका साथ उठाएका छन्। उनले विपद्को पूर्वतयारी र प्रतिकार्यमा सदस्य राष्ट्रबीच सहकार्य व्यवस्थित गर्न ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

यसका साथै उक्त क्षेत्रमा साझा संयन्त्र विकास गर्न बिमस्टेक सदस्य राष्ट्र सम्मिलित संयुक्त कार्यदल गठन गर्ने प्रस्ताव पनि नेपालले अघि सारेको गृह मन्त्रालयले जनाएको छ।

नेपालले बैठकमार्फत परम्परागत सुरक्षा चुनौतीसँगै साइबर अपराध, मानव बेचबिखन, अवैध वित्तीय कारोबार तथा जलवायुजन्य विपद्जस्ता उदीयमान चुनौती सामना गर्न क्षेत्रीय समन्वय र संयुक्त पहलको आवश्यकता औंल्याएको छ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...