Saturday 29th August 2026

विनाशकारी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय सहयोग, उद्धारमा चुनौती कायमै


नेपालको भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजी तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढ्दै गएको छ। युरोपेली आयोगले प्रभावित परिवार र समुदायलाई राहत उपलब्ध गराउन २० लाख युरो बराबरको आकस्मिक मानवीय सहायता घोषणा गरेको छ।

अमेरिकाले पनि रसुवामा आश्रयस्थलका रूपमा प्रयोग भइरहेका विद्यालयहरूका लागि खाद्यान्न तथा अत्यावश्यक सामग्रीसहित प्रारम्भिक राहत सहयोग पठाएको जनाएको छ। क्यानडाले ५० लाख क्यानेडियन डलर, न्युजिल्यान्डले २० लाख न्युजिल्यान्ड डलर तथा भारतले थप १० टन राहत सामग्री, चिकित्सक, प्यारामेडिक र सुरुङ उद्धार विशेषज्ञ टोली नेपाल पठाएको छ।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) ले विश्वव्यापी सञ्जाल परिचालन गर्दै तत्काल उद्धार तथा राहतका लागि २ करोड ५० लाख स्विस फ्र्याङ्कको आपत्कालीन अपिल आह्वान गरेको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य भने अझै चुनौतीपूर्ण बनेको छ। नेपालमा हालसम्म ६२६ भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने करिब २४२६ जना अझै बेपत्ता रहेका छन्। चार हजारभन्दा बढी व्यक्तिको उद्धार गरिए पनि सडक, पुल तथा सञ्चार संरचनामा पुगेको क्षति र निरन्तर वर्षाका कारण प्रभावित क्षेत्रसम्म पुग्न कठिनाइ भइरहेको छ।

चीनतर्फ पनि कम्तीमा पाँच जनाको मृत्यु भएको तथा सयौं व्यक्ति बेपत्ता रहेको जनाइएको छ। भारी वर्षा र पहिरोको जोखिमले उद्धार कार्य थप जटिल बनेको अधिकारीहरूले बताएका छन्।

उद्धारकर्मीहरूका अनुसार त्रिशूली नदी किनारका बस्ती, जलविद्युत् संरचना तथा सीमावर्ती क्षेत्रका धेरै भागमा ठूलो विनाश भएको छ। प्रभावित क्षेत्रमा अझै खोजी तथा राहत वितरण कार्य जारी रहेको छ भने हजारौं पीडित परिवार सहायता र पुनर्स्थापनाको प्रतीक्षामा रहेका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि बेपत्ता हुनेको संख्या १ हजार ९२४ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ जना तीर्थयात्री भारत फर्किएका छन्। भारतका एक उच्च अधिकारीले तीर्थयात्रीहरूको…

काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि १२ भन्दा बढी देशले नेपाल सरकारसँग सहयोगको अनुमति मागेका…

प्रतिकृयाहरू
...