राजन रिमाल – चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड छ। तर लोकतन्त्र यति सतही होइन कि यिनै दृश्यका आधारमा नेतृत्वको मूल्यांकन गरियोस्। उत्सव लोकतन्त्रको विकल्प हुन सक्दैन, र भावनात्मक प्रदर्शन जवाफदेहिता होइन।
अब मतदाताले सिधा र स्पष्ट प्रश्न गर्नुपर्छ।
अघिल्लो कार्यकालमा तपाईंले के–के वाचा गर्नुभयो? तीमध्ये कति पूरा गर्नुभयो? पूरा हुन नसकेका काम किन भएनन्? यी प्रश्नको ठोस जवाफ बिना भोट माग्ने नैतिक अधिकार कसैसँग हुँदैन।
संसदमा पुगेपछि तपाईंले के गर्नुभयो?
कति पटक सदनमा बोल्नुभयो? कस्ता कानुन बनाउन भूमिका खेल्नुभयो? तपाईंको उपस्थिति जनताको आवाज बनेर देखियो कि पार्टीको आदेश पालनामै सीमित रह्यो? संसद केवल कुर्सी ओगट्ने थलो होइन, जनहितको लडाइँ लड्ने ठाउँ हो।
देश आर्थिक र राजनीतिक संकटमा पर्दा तपाईंको योगदान के रह्यो?
बेरोजगारी बढ्दा, मूल्यवृद्धिले जनजीवन थिचिँदा, युवाहरू विदेशिन बाध्य हुँदा तपाईंले कस्तो नीति र रणनीति अघि सार्नुभयो? कि संकटका बेला मौन रहनु नै तपाईंको “राजनीति” थियो?
भ्रष्टाचार आज लुकाएर बस्ने विषय रहेन। सबैले देखिरहेका छन्। तर प्रश्न अझै गम्भीर छ—
भ्रष्टाचारविरुद्ध तपाईंले के कदम चाल्नुभयो? कति मुद्दा सदनमा उठाउनुभयो? कि भाषण र नारामै सीमित रहनुभयो?
राज्यले करिब ३२ अर्ब रुपैयाँ खर्च गरेर चुनाव गर्दैछ। यो रकम न नेताको प्रचारका लागि हो, न कार्यकर्ताको रमाइलाका लागि। यो खर्च जनताको भविष्य सुरक्षित गर्न सही प्रतिनिधि छान्नका लागि हो।
अब मतदाताले स्पष्ट निर्णय गर्नुपर्छ।
नेतालाई स्वागत गर्नुस्, तर आँखा चिम्लेर होइन।
भोट दिनुस्, तर प्रश्न नगरी होइन।
लोकतन्त्रको सार यही हो—
नेताले जवाफ दिनुपर्छ, जनताले प्रश्न सोध्नुपर्छ।