Monday 14th September 2026

शेखर समूहले स्वीकार्‍यो गगनको नेतृत्व


नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो समूह अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राख्ने बैठकमा सहभागी नहुने भएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा आज राखेको बैठकमा सहभागी नेता कोइरालासहित उनीनिकट केन्द्रीय सदस्यहरूले अबदेखि आफूहरू यस्तो छलफलमा सहभागी नहुने कुरा जानकारी गराएका हुन्।

विघटित केन्द्रीय समिति बैठकमा सहभागी हुनुअघि नेता कोइरालाले सम्पर्क कार्यालय विशालनगरमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा कोइरालानिकट नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्नुपर्ने र चुनावमा पनि भाग लिनुपर्ने निष्कर्ष निकालेका थिए।

यही निष्कर्ष नेता कोइरालाले सानेपामा बसेको विघटित केन्द्रीय समिति बैठकमा प्रस्टसँग राखेका हुन्।

कोइरालाले बैठकमा भनेका कुरा उद्धृत गर्दै निवर्तमान केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले भने, ‘निर्वाचन आयोगले मान्यता दिइसकेको अवस्था छ, यो सडक आन्दोलनतिर नलगौँ, निर्वाचन आयोगले तपाईंहरू अदालत जान सक्नुहुन्छ भनेकोले अदालत जान सकियो। तर आन्दोलनतिर नलागौँ, चुनावतिर लागौँ भनेर उहाँले भन्नुभएको छ।’

नेता कोइरालाले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सफल पार्नुपर्ने कुरा सानेपा बैठकमा राखेका थिए।

नेता कोइरालाले आन्दोलनमा जान हुन्न भन्ने कुरा राखेपछि विघटित केन्द्रीय समिति बैठकले अदालतमा जाने भन्ने मात्रै निर्णय गरेको छ ।

विघटित केन्द्रीय समिति बैठकमा सहभागी भएर कुरा राखे पनि नेता कोइरालासहित उनी पक्षका अधिकांश केन्द्रीय सदस्यले निर्णय र उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका थिएनन्।

उनीहरूले हामी केन्द्रीय सदस्य छैनौँ भनेर बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर पनि गरेनन् । कोइरालानिकट धेरै विघटित केन्द्रीय सदस्यहरू अबदेखि देउवा समूहले राख्ने छलफलमा सहभागी नहुने भएका छन् ।

कोइरालानिकट कतिपय नेता भने अदालतले निर्णय नगर्दासम्म यस्ता छलफलमा सहभागी हुनुपर्ने पक्षमा छन्। निवर्तमान सभापति देउवा पक्षका नेताहरू भने निर्वाचन आयोगको निर्णयविरूद्ध कानुनी र राजनीतिक लडाइँ लड्नुपर्ने पक्षमा छन्। कतिपयले त चुनाव लड्न छाडेर सडक आन्दोलनमा जानुपर्ने भनाइ राखेका थिए । तर नेता कोइरालाले चुनाव लड्ने वा नलड्ने भन्ने कुरा व्यक्तिलाई स्वतन्त्र रूपमा छाड्नुपर्नेमा छन्।

शेखरनिकट नेतृ सुजाता कोइरालाले पनि शनिबार बिहानै एक भिडियो सन्देश जारी गर्दै गगन थापाको नेतृत्वलाई स्वीकार गर्दै निर्वाचनमा जानुको विकल्प नरहेको बताएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...