Saturday 16th May 2026

सत्ता गुमेपछि समाजवादी मोर्चा सक्रिय


नेकपा एमालेसँग सत्ता साझेदारीमा रहुन्जेल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई खासै वास्ता गरेनन्।

मोर्चाका बैठकहरू नियमित हुन सकेनन् र कार्यक्रम पनि केही भएन। मोर्चामै रहेको महत्वपूर्ण दल जसपा नेपालको विभाजनकै आरोप प्रचण्डलाई लागेको थियो। सत्तामा हुँदा नखोजेको समाजवादी मोर्चा प्रमुख प्रतिपक्षी दलको नेता बनेपछि प्रचण्डलाई फेरि चाहिएको छ।

२०८० असार ४ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मिलित समाजवादी मोर्चाको घोषणा भएको थियो।

मोर्चा गठनको बेला माओवादीसँग नेपाली कांग्रेसले सत्ता सहकार्य गरिरहेको थियो। गत फागुनमा कांग्रेस प्रचण्ड सरकारबाट बाहिरिएपछि एमाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी बन्यो।

त्यसयता प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन कुनै पहल गरेका थिएनन्। एमाले अध्यक्ष केपी शर्मा ओली समाजवादी मोर्चाप्रति सकरात्मक नभएकै कारण प्रचण्डकै डिजाइनमा मोर्चा निष्क्रिय भएको थियो।

सत्ताबाट बहिर्गमन भएलगत्तै प्रचण्डले मोर्चालाई सक्रिय बनाउन खोजेका छन्। मोर्चाको बैठक मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्यो। बैठकमा माओवादी, नेकपा एस, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी थिए।

बैठकले संविधानले सुनिश्चित गरेका राजनीतिक अधिकारहरू हनन हुन नदिन खबरदारी गर्ने निर्णय लिएको छ। संसद्को सबैभन्दा ठूला दुई दल मिलेर सरकार बनाउँदा निरंकुशता बढ्नसक्ने, संविधान संशोधनको चर्चाले उपलब्धिमाथि प्रहार हुनसक्ने लगायतका विषयमा छलफल भएको बताइएको छ। बैठकले समाजवादी मोर्चालाई प्रतिपक्षी शक्तिका रूपमा सक्रिय गराउने निर्णय पनि लिएको छ।

प्रमुख दुई दल मिलेर ओली नेतृत्वमा सरकार बनाएपछि संसद्मा प्रचण्डको भूमिका विपक्षी नेतामा सीमित भएको छ। नेकपा एस पनि प्रतिपक्षमा छ। यस्तो अवस्थामा समाजवादी मोर्चालाई सक्रिय बनाउने तयारी प्रचण्डले गरेका हुन्।

‘सरकारमा हुँदा अन्य व्यस्तताले पनि बैठक बसेन होला तर समाजवादी मोर्चाको आवश्यकता अझ बढेर गएको छ । अध्यक्ष कमरेडले मोर्चालाई सक्रिय बनाउने पहल गर्नुभएको हो । यसलाई अन्यथा लिनुहुन्न’, एक माओवादी नेताले भने।

उपेन्द्रको कुर्सी खाली

समाजवादी मोर्चाको बैठक कक्षको पहिलो लहरमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महेन्द्र राय यादव बसेका थिए। चन्दको छेउमा एक कुर्सी खाली राखिएको थियो।

सहभागी नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका लागि कुर्सी खाली रािखएको बताएका छन्। ‘समाजवादी मोर्चाको प्रमुख घटक उपेन्द्र यादव नेतृत्वको जसपा पनि हो।

त्यसैले उनका लागि कुर्सी खाली राखेका छौँ’, मोर्चाका एक नेताले बताए। जसपा नेपाल विभाजनपछि यादवले आफ्नो पार्टी विभाजनमा प्रचण्डको भूमिका रहेको आरोप लगाएका थिए। जसपा विभाजनको मुद्दा अदालतमा विचाराधीन छ।

हिमालय टाइम्स दैनिकबाट


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...