Sunday 27th July 2025

पञ्चाङ्ग साहित्य समाजको चित्रमा पञ्चाङ्ग, भाग-५२


चित्रमा पञ्चाङ्ग
===========
भाग: ५२
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०७९/११/०४
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बाउन्नौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

मुसा र बिराला कतिबेर खेल्छन् होला
मुसाले बिराला कतिसम्म झेल्छन् होला
बिरालोले मुसा खेलाउँदैन मार्छ हो
बिरालाले मुसालाई रोटी बेल्छन् होला
मुसा त आहार बिरालाले पेल्छन् होला ।

ठाउँ पाए मुसाले दुलो किन पस्दैन र
भाग्ने ठाउँ पाएमा कुलेलाम कस्दैन र
ठाउँ नपाएर बिचरा च्यापोमा बसेको
खेलाएरै मार्छ ! एकै पटक डस्दैन र
लुके पनि बिरालोको जालमा फस्दैन र !

एक झाप्पु हान्न पाए मुसालाई हान्छ बाबै
खेलाएर लखतरान पारेर खान्छ बाबै
भोक जागेपछि हिंसा गर्न कति बेर छैन
कहिले यता कहिले उता मुसा जान्छ बाबै
काँचै खान्छ मुसा न पकाउँछ न झान्छ बाबै ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

बिरालोले पायो आहारा
भोको होला खायो आहारा
मुसाको ज्यान् गयो भुतुक्कै
समाउन धायो आहारा
मुखैभित्र लायो आहारा ॥

बिरालोको आहारा पायो
लौ मुसोको आहारा पायो
कोही मरे कोही खाने हौ
भयो भोको आहारा पायो
पुग्यो धोको आहारा पायो ॥

गुणनिधि घिमिरे सूर्यविनायक भक्तपुर

पञ्चाङ्ग ३

बिरालाको घाँटीमा बज्ने घण्टी बानी देऊ
हामीलाई चैनले खान दाना पानी देऊ
हैरान पार्यो यो मुसालाई त्यो भतुवाले
दिन अनि रातमा राज कस्को छानी देऊ
आ-आफ्नो ठाउँमा रहने सीमा तानी देऊ !

बलियाले सधैँ पेलेकै छ
निर्धालाई सधैँ ठेलेकै छ
बाँच्न गाह्रो डराइ डराइ
मरणको खेल खेलेकै छ
जीवनको हार झेलेकै छ ।

टीकाराम जोशी, टीकापुर

पञ्चाङ्ग ४

बिराला त मुसो को खेलमा परेछ
सधैं उसैको जाल झेलमा परेछ
कहिले मुसो कहिले बिरालो कुद्दै
मुसा कुना कानिको जेलमा परेछ
संघीयता ठेलाम ठेलमा परेछ ।

सरस्वती श्रेष्ठ इटहरी

पन्चाङ्ग ५

पहिलेदेखि धाको कहाँ छोड्छु र
बल्ल त मौका पाको कहाँ छोड्छु र
शिकारी हुँ खोज्दै हिनेको आहारा
छेकि कुनोमा लाको कहाँ छोड्छु र
मासुको बास्ना आको कहाँ छोड्छु र ।

अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा

पञ्चाङ्ग ७

मुसा र बिरालाको खेल जस्तो छ
धर्ती र आकाशको मेल जस्तो छ
उत्तर र दक्षिण कहाॅ मिल्छन् र
देखावटी मात्रको झेल जस्तो छ
अहिले सङ्घीयता फेल जस्तो छ ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ७

दुवै जीवित प्राणी एकापसमा सहारा बन्नु पर्थ्यो
हातेमालो गरि एकले अर्कोलाई मीत भन्नू पर्थ्यो
आहारा त कसैको मासु नै खानु पर्छ भन्ने थिएन
बरु दुवै मिलेर कति रहेछन् दुश्मन गन्नु पर्थ्यो
यौटाले दुश्मन हेर्ने अर्कोले लुक्न खाल्डो खन्नु पर्थ्यो ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ८

मुसा बिरालो यहाँ लुकामारी गर्छन्
प्वाल भित्र बाहिर वारीपारी गर्छन्
देख्न हुन्न बिल्लिले खाइदिन्छ कप्पै
घर भित्र बाहिर खेत बारी गर्छन्
बास बस्न यता र उता सारी गर्छन् ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग ९

मुसा बिरालो लुकामारी गर्दैछन् यहाँ
राखिएका अन्न दुबैले छर्दैछन् यहाँ
बिरालो र मुसा एक अर्को दुस्मन हुन्
दुवैजना मिलेर दुख हर्दैछन् यहाँ
दुवै एक अर्कोको कमि भर्दैछन् यहाँ ।

शोभा आचार्य गौतम, काठमाडौँ

पञ्चाङ्ग १०

समय फेरियो काल फेरियो
महिना फेरियो साल फेरियो
अहिले बिरालो चुप लागेर
मुसाको आखिर चाल फेरियो
प्रवृति फेरियो थाल फेरियो ।

– आर्त अकुलीन, कैलाली

ञ्चाङ्ग ११

कसैलाई यति सम्म पेल्न सक्छ कोही
दुःख दर्द हर क्षण झेल्न सक्छ कोही
मुसो बिरालो कै खेल भयो राजनिति
देश र जनता माथि खेल्न सक्छ कोही
निति नियमले झनै बेल्न सक्छ कोही ।

रतन बिष्ट _आलिताल,डडेल्धुरा

पञ्चाङ्ग १२

जीव मै छैन विश्वास र भर पनि
मलिन मुहार अनेक कर पनि
जिन्दगीभर यस्तै दु:ख भोग्नै पर्ने
सेकेन्ड सेकेन्डमा अति डर पनि
शान्ति छैन विक्षिप्त छ अधर पनि ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १३

नजिक तानेर बिताउँछ
चड्कन हानेर बिताउँछ
बिरालोको राजनैति यस्तै
सिकार ठानेर बिताउँछ
सौभाग्य मानेर बिताउँछ ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १४

मुसो र विरालोकै खेल भयो राजनीति
बेइमानी र जालझेल भयो राजनीति
जनताको वर्तमान अवस्था देख्दा यहाँ
इमानदार बस्ने जेल भयो राजनीति
देश नबनाएर फेल भयो राजनीति ।

तेजप्रसाद खनाल
लमही दाङ ।

पञ्चाङ्ग १५

मुसो बिरालोको खेल यस्तै रहेछ
एक आपसमा झेल यस्तै रहेछ
नेताको राजनीतिमा देखिएकै हो
कुनै पास कुनै फेल यस्तै रहेछ
निर्धो पर्ने जेलनेल यस्तै रहेछ ॥

तिलकप्रसाद लुइटेल, काठमाडौँ ।

पञ्चाङ्ग १६

बिरालो खाउ भन्दैछ
मुसोले जाउ भन्दैछ
भनेको मान्ने को छ र
ब्यापारी भाउ भन्दैछ
किसान लाउ भन्दैछ ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १७

बिरालो कुनामा ढुकेर बस्ने
मुसा दुलामा नै लुकेर बस्ने
खोला छेउमा बकुला जसरी
नभए नपाए सुकेर बस्ने
नआए गन्तव्य झुकेर बस्ने ।

होम प्रसाद
धरान,सुनसरी ।

पञ्चाङ्ग १८

बलियो र ठुलोले सानालाई पेले झैँ देखिन्छ
आहारा मेरै तँ मात्र छस् भनि झेले झैँ देखिन्छ
कुनाकाप्चा पुगेपनि नछाड्ने अडान देखेर
अहिले फस्ने बुझि जालझेल बेले झैँ देखिन्छ
परिधी घेराको बीचमा पार्दै खेले झैँ देखिन्छ ।

जमुना आचार्य
सिन्धुपाल्चोक

पञ्चाङ्ग १९

बिरालोले बाहिर ढुकेर बस्ने
मुसो दुलो भित्र लुकेर बस्ने
एउटाको आहारा अर्को हुने
खान नपाए पछि सुकेर बस्ने
मान्छेले देखे भने झुकेर बस्ने ।

दुर्गा भट्टराई
मोरङ


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

प्रतिकृयाहरू
...