Thursday 6th February 2025

पञ्चाङ्ग चित्रपट, भाग – २३


पञ्चाङ्ग चित्रपट
=========
पञ्चाङ्ग चित्रपट : भाग: २३
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०४/०५

प्रशिक्षक :
————
रामराजा के.सी.
नारायण प्रसाद निरौला

चित्र संकलक
—————-
सविता के.सी.

समायोजन
————-
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बाइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा व्यस्त समयको वावजुद पञ्चाङ्ग लेखि पठाउनुहुने सम्पुर्ण सर्जक/स्रष्टाहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्दछाैं

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

पञ्चाङ्ग चित्रपट
=========

पञ्चाङ्ग १

मेरो दोष के छ भन नलुट्नु लुटायौ किन
भएका आमा अनि बाबा पनि छुटायौ किन
बज्रपात मलाई मात्रै , दु:ख पर्‍यो असाध्यै
म एक्लोको सहारा छैन भाग्य फुटायौ किन
पीडा रुपी ढिंकीको ओखलमा कुटायौ किन

प्रेम थापा

पञ्चाङ्ग- २

अनेकौं दु:ख कष्ट,भोग गरेर पनि
कन्दमूल खोजेर, पेट भरेर पनि
सुखद बिहानीको,स्वागतमा देखिन्छ
दैवले भाग्यबाट, सुख हरेर पनि
आेठमा मिठो हाँसो,आँसु झरेर पनि ।

चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।

पञ्चाङ्ग ३

सहाराको लागि हात जोडी बिन्ती गर्दैछौ तिमी
कसैको जडौली थापेरनै आङ ढाक्दैछौ तिमी
तैपनि उमंगले भरिएका छन् ति तिम्रा आँखा
भोको पेटमा पनि मन्द मुस्कान छर्दैछौ तिमी
खाली पाइतालाले पनि पाइला चाल्दैछौ तिमी ।

देबकी के. सी., काभ्रे

पञ्चाङ्ग ४

एउटा सुन्दर घर बनाउनुछ ।
ढुङ्गा र माटोको भर बनाउनुछ ।
म पनि त एउटा मानिस हुँ बुझ,
मेरो सुन्दर डगर बनाउनुछ ।
सारा गाउँ र सहर बनाउनुछ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ५

संस्कार सानैदेखि सिक्ने गराैँ
राम्ररी बाचुञ्जेल टिक्ने गराैँ
आपसी मेल मिलाप गरेर
धर्तीकाे बजारमा बिक्ने गराैँ
माया ममता आफैँ झिक्ने गराैँ

ताेयानाथ सुवेदी, काठमाडौँ ।

पञ्चाङ्ग ६

जहिले निर्दोष ठान्छु आफू त
दैवकै दुर्गुण मान्छु आफू त
सम्बन्धविच्छेदको फल रछ
जुठोपुरो सबै खान्छु आफू त
बालखै काममा जान्छु आफू त।

✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹

पञ्चाङ्ग ७

जीवनमा नपाउनु दुःख पाइयो आमा
नमस्कार गर्दै कति घर धाइयो आमा
बलख कालमै टुहुरो भएर बाटो बाटो
अर्काले देको जडौरी नी लाइयो आमा
धेरै पटक अनिलो भात खाइयो आमा ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

के थाहा यो बालकलाई जीवनमरणको सार के हो भनेर
लड्दै उठ्दै गर्ने पाइलाहरूमा जित के हो हार के हो भनेर
अन्जान छ यो दुनियाँ जस्तो बनायो उस्तै बन्दछ बालक शिशु
रित्तो र नाङ्गो छ शरीर सभ्यतामा तौलको भार के हो भनेर
नभेटिने क्षितिजमा कालो सेतो जीवनको धार के हो भनेर ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग ९

टुहुराे गरीब हुँ पाउने आश गरेँ प्रभु
आज खाने नै छैन पानीले पेट भरेँ प्रभु
जिउमा लुगा छैन नाङ्गै छु के लगाउने हाे
चिसाेले मरिने हाे भनेर साह्रै डरेँ प्रभु
अब म कहाँ जाने हाे दाेधारमा परेँ प्रभु ।

नवराज भट्ट
महेन्द्रनगर,कञ्चनपुर

पञ्चाङ्ग १०

दुखी छु तर संस्कार भुल्दिन कहिल्यै
श्रमले खान्छु घर्घर डुल्दिन कहिल्यै
बुझ्नू जीवन ठक्करले चम्केकाे हुन्छ
खुशी छु असन्तुष्टि म घुल्दिन कहिल्यै
गुलाव हुँ पलाँस झैँ फुल्दिन कहिल्यै ।

चन्द्रावती अधिकारी, कोहलपुर ।

पञ्चाङ्ग ११

धनीहरु त पैसाले खुशी किन्दा रैछन्
आफ्नोलाई भने दुरबाटै चिन्दा रैछन्
सडकमा जति नमस्कार गरे पनि
खाते भन्दै पो मान्छेहरू त हिन्दा रैछन्
यहाँ मान्छेले मान्छेलाई नै पिन्दा रैछन् ।

पशपती राई खोटाङ

पञ्चाङ्ग १२

सानै देखि दु:खकष्ट गरेको छु आमा
यस्तै कन्तमूलले पेट भरेको छु आमा
आमा गुमाउनुको पिडा ताजै छ अझै,
तिमी नभए छि अन्तै सरेको छु आमा
जिउनको लागि धेरै लडेको छु आमा

दुर्गा भट्टराई, मोरङ ।

पञ्चाङ्ग १३

सबैलाई प्रणाम गर्छु म
ठूलाको चरणमा पर्छु म
नराम्रो हैन संस्कारी हुनु
संस्कार बोकी अघि सर्छु म
नम्रपनको बीज छर्छु म।।

अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

पञ्चाङ्ग १४

यी हात जोडेको अर्थ बुझि ज्ञान वा काम देऊ
छैन नबुझी मागेको मलाई खान माम देऊ।
खोज्दा अबसर पीडा होला हिड्छु नथाकि कत‌ै
दुःख देउ, कति दिन सक्छौ संझेर नाम देऊ
तिम्रै संतान बुेझर मात्र मनमा राम देऊ ।

@होम प्रसाद नेउपाने
धरान,सुनसरी

पञ्चाङ्ग १५

कति हँसिलो कति खुसिलो नमस्कार छ बाबु
भ्याङ्ग्ले कोट ता नफुकाल्नु है जाडोले मार्छ बाबु
सडक डुलेर हुँदैन भुल्नु जमाना गाह्रो छ
मागेर हिँड्दा कसैले दिन्छ कसैले टार्छ बाबु
मसँग आऊ स्कुल पढौला के बिचार छ बाबु ।॥

गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
उर्लाबारी मोरङ हाल अमेरिका ।

पञ्चाङ्ग १६

भोको पेट सधैं संघर्समा जुटेको छु आमा
हजुरको यादमा हरदम् टुटेको छु आमा
न पेट भरि खान न बासको छ कुनै ठेगान्
जसो तसो लरखरिदै नि उठेको छु आमा
सडक पेटि आकाश ओडि सुतेको छु आमा

चेतना पोखरेल
मोरङ

पञ्चाङ्ग १७

कताको साथ भनी खोजी जारी छ
खाना बोकेर हिँड्न गोजी जारी छ
आश्रयमा पुर्‍याउँछ प्रणामले
सर्व सारा गुमाएँ बोजी जारी छ
हातजोडी धाइछु रोजी जारी छ ।।

✍️जमुना आचार्य
सिन्धुपाल्चोक ।

पञ्चाङ्ग १८

रुप रङ्गमा नजानोस् संस्कार हेर्नुहोस्
सानो र ठूलो भन्दापनि प्यार हेर्नुहोस्
दम्भ के को गर्नुहुन्छ रुप या धनको ?
टुप्पोमा नहेर्नुहोस् न आधार हेर्नुहोस्
अरूको निन्दा पूर्व अनुहार हेर्नुहोस्

वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग १९

लाउने खाने भन्दा पनि बाँच्ने हो रहर मेरो
अोत लाग्ने झुपडी लाग्छ हजुर शहर मेरो
गरिबी कुनै श्राप त होइन होला तर पनि
अभावमा जीउनु नै भयो ठूलो कहर मेरो
स्वाभिमानको गाँस मात्र हो अब ठहर मेरो ।

पञ्चाङ्ग २०

बालक हँसिलाे रहेछ
संस्कार रसिलाे रहेछ
दु:खि नै नरम हुनु याे
शरीर कसिलाे रहेछ
ऊ हेर मसिलाे रहेछ ।

मधुसूदन प्रसाद घिमिरे, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...