Sunday 15th November 2026

कविताः मलाई आरक्षित गरिराख -कृष्ण बाउसे


मै किन जानुपर्यो र !
धेरै तयार छन् तिम्रो जन्ती जान ।

मलाई आरक्षित गरिराख
तिम्रो मलामीको रूपमा ।

जब तिमी
आफ्नो मलामी बनाउँछौ कसैलाई
तबमात्र
तिमी आफ्नो दानवीय रूपबाट मुक्त भएका हुन्छौ ।
तिम्रा दुष्ट आकांक्षाहरू पूरा गर्न
तिमीले स्वरूप दिएका
लडाइँका बर्बर शृङ्खलाको निर्देशकको भूमिकाबाट
तिमी त्यही दिनमात्र
निवृत्त भएका हुन्छौ
र त्यही दिनदेखि मात्र
तिमी
मेरो मित्र भएका हुन्छौ ।

तिम्रो निर्देशनमा चलेको
कुनै पनि नाटकको पात्र भएर
मलाई खेल्ने रहर छैन ।

कृपया
नायक बनाएर खेलाउँछु भन्दै
जाल नथाप ।

मै किन चाहियो र !
अरू नै तयार छन् तिम्रो नाटकको नायक बन्न
दम्भको लडाइँमा
मार्न र मर्न – मर्न र मार्न !

कोही बँच्दैन तिम्रो नाटकमा
तिम्रो द्वन्द्वको दृश्यपछि ।

नाटकको समाप्तिपछि
रङ्गमञ्चको पर्दा झार्न पनि कोही त चाहियो !

त्यसैले त भन्दैछु
जबर्जस्ती नगरेर नाटकको मूल पात्र बनाउन
मलाई आरक्षित गरिराख
तिम्रो मलामीको रूपमा ।


सम्बन्धित शीर्षकहरु

माइक्रोसफ्टका विभिन्न सेवा विश्वव्यापी रूपमा अवरुद्ध हुँदा दशौँ हजार प्रयोगकर्ता प्रभावित भएका छन् । कम्पनीका टिम्स, आउटलुक र आर्टिफिसियल इन्टेलिजेन्स…

हाम्रो सौर्यमण्डल स्थिर छैन। यो आकाशगङ्गा (मिल्की वे) को केन्द्र वरिपरि प्रतिघण्टा ८ लाख किलोमिटरभन्दा बढीको अविश्वसनीय गतिमा यात्रा गरिरहेको…

कुवेतमा रहेका नेपाली समुदायबीच खेलकुद, भाइचारा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पूर्वेली टाइगर फुटबल क्लब, नेपाल–कुवेत को आयोजनामा “प्रथम…

प्रतिकृयाहरू
...