Sunday 31st May 2026

“बाको कोट” लघुकथा सङ्ग्रह भव्य विमोचन


मुक्तककार तथा लघुकथा लेखक राजन सिलवालको लघुकथा कृति ” बाको कोट”को आज राजधानीस्थित केन्द्रीय तथ्याङ्क विभागको सभाहलमा एक भव्य र सभ्य कार्यक्रमका बिच लोकार्पण भयो । कवि, लेखक तथा नेपाल सरकारका सचिव श्री श्यामकुमार भट्टराई (प्रमुख अतिथि), वरिष्ठ साहित्यकार महेश प्रसाईँ (अतिथि), त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. भरतकुमार भट्टराई (अतिथि) , केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक श्री नेबिनलाल श्रेष्ठ (अतिथि), कवि देवु लुइँटेल (सभाध्यक्ष), कृतिकार राजन सिलवाल र लघुकथाभित्रका पात्रहरूको प्रतिनिधि पात्र देवेन्द्रलाल कारञ्जितले संयुक्त रूपमा बाको कोटको लोकार्पण गरे ।

करिब ९० जना साहित्यकार, साहित्यानुरागी र शुभेच्छुकहरूको उपस्थितिमा साहित्यकार ओम रिजाल, कार्यक्रम सञ्चालिका कवि एलिना दुलाल र कृतिकार राजन सिलवालसमेतले कृतिभित्रका एक एक ओटा लघुकथा वाचन गरेका थिए । कार्यक्रममा प्राध्यापक भरतकुमार भट्टराईले राजन सिलवालको लघुकथाकारितामाथि टिप्पणी गर्दै सिलवालका लघुकथाहरू उनका मुक्तकहरू जत्तिकै सशक्त र विविध विषयलाई तीक्ष्णतापूर्वक अभिव्यक्त गर्दै पाठकहरूको मन मस्तिष्कमा छाप छोड्न सफल रहेको बताए । उनले आफ्नो चेलो आफूभन्दा मेधावी र श्रेष्ठ भएकोमा गौरव लाग्छ भन्दै सिलवाल अध्ययनका लागि चेलो भए पनि मुक्तक र लघुकथामा आफूले पनि गुरु सम्झेको बताए । उनले सिलवालका लघुकथाहरू माथि कसैले विद्यावारिधि गर्न सक्छ भन्ने दाबीसमेत गरे । उनले सिलवालबाट नेपाली साहित्यले अझै धेरै आशा राखेको छ भने ।

अर्का अतिथि महेश प्रसाईँले सिलवालका लघुकथाहरू पछिल्लो समयमा समकालीन लघुकथाको एउटा धार र प्रवाहका रूपमा अगाडि आएको र ती भाव, शैली, विचार, भाषा आदिको दृष्टिले अत्यन्त शक्तिशाली रहेको विचार राखे । उनले भविष्यमा आमाको आँचल वा आमाको सारी विषयको कृति पढ्न पाइयोस् भन्ने कामना गरे । उनले भने, कमै स्रष्टाहरूले यति सशक्त लघुकथा लेख्न सकेका छन् । अर्का अतिथि वक्ता केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले लेखकसँगको २५ वर्ष लामो संगत र सहकार्यको स्मरण गर्दै विभागको हलमा यसप्रकारको कार्यक्रम प्रथम पटक गर्न पाएकोमा खुसी व्यक्त गरे र लेखकको काम, क्षमता, योग्यता र लेखनीबाट आफू मुग्ध रहेको बताए ।

लेखकका सहकर्मी रामहरि गैह्रेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा लेखककी पत्नी नीता सिलवालले लेखकसँगको २४ वर्ष लामो दाम्पत्य जीवनका रोचक विविध प्रसङ्गहरूको स्मरण गर्दै लेखकको पत्नी हुन पाउँदा गर्व लागेको बताइन् । प्रकाशकले लेखकलाई पाठकसँग जोड्न पाउँदा खुसी लागेको अनुभव श्रीमती सिलवालले गरिन् । उनको प्रकाशकीय मन्तव्यमा सम्पूर्ण सहभागीहरू भावविभोर भएका देखिन्थ्यो । लघुकथाकार राजन सिलवालले सहभागीको अनुरोधमा आफ्नो सर्वप्रिय मुक्तकसहित कृतिभित्रबाट सैंतिस नम्बरको जुत्ता शीर्षकको कथा वाचन गरे ।

कार्यक्रमका प्रमुख अतिथि सचिव श्यामकुमार भट्टराईले राजन सिलवालको मुक्तक र लघुकथाको आफू नियमित पाठक र मुक्तक लाइभको स्रोतासमेत रहेको प्रसङ्ग उल्लेख गरे । उनले भने, लघुकथासङ्ग्रहभित्रका कैयन् कथाहरु आफ्नै कथा हुन् कि झैँ लाग्छन् ।

शालीन, सरल र बौद्धिक व्यक्तित्वका धनी राजन सिलवालका रहेक लघुकथा सामाजिक, यथार्थतावादी मर्मस्पर्शी हुनुका साथै जिवन्त छन् पाठकले कथा पढ्दै जाँदा सामाजिक जीवनका यथार्थ कहानी चलचित्रझैँ आँखा अगाडि घुमिरहन्छन्। नेपाली साहित्यकार विश्व सञ्जालको प्रतिनिधित्व गर्दै उपस्थित भएकी कमला महतले यस्तो भव्य र ओजिलो कार्यक्रममा उपस्थित भई सुरुदेखि अन्त्य सम्मका सबै गतिविधिमा सरिक हुन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको र कृति लोकार्पण होस् त यस्तो होस् । नेपाली साहित्यकार विश्व सञ्जालमा लघुकथा मार्गदर्शन गरिरहनु भएका राजन सिलवालको साहित्यिक यात्राले शिखर चुमोस् यस्ता थुप्रै कृतिहरूका पाठक बन्न पाइयोस् भन्दै महतले बधाई तथा शुभकामना दिइन्।


सम्बन्धित शीर्षकहरु

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा समता शुल्क नामक नयाँ कर लागू गरेको छ, जसअनुसार निजी तथा आवासीय शिक्षण…

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा…

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

प्रतिकृयाहरू
...