Saturday 3rd October 2026

त्रिभुवन विमानस्थलमा पासपोर्ट र टिकटबिना युवक कसरी जहाजभित्र पुगे


सोमबार राति १०:४५ मा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज कतार उड्न लागेको थियो। क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडानको तयारी गरिरहेको थियो। त्यहीबेला एक जना युवक विमानभित्रको बिजनेस क्लासको सिटमा बिना कागजात पुगेका थिए।

विमानस्थल स्रोतका अनुसार ती युवक थिए, रौतहटका १८ वर्षीय हस्पम आलम। उनी टिकट र पासपोर्टबिनै जहाजभित्र पुगेका थिए।उडान कर्मचारीले उनी जहाजभित्र छिरेको देखेपछि कागजात माग्न पुगेका थिए। कागजात नभेटिएपछि कर्मचारीले प्रहरीलाई बोलाएर जहाजबाट झारेका थिए। यसरी झार्दा वाइडबडी जहाज डेढ घन्टा डिले भएको थियो। नेपाल वायुसेवा निगमका एक वरिष्ठ पाइलटका अनुसार बोर्डिङ भइरहेका बखत आलम सुटुक्क छिरेका थिए।

‘उनी छिरेको चेकजाँचमा संलग्न प्रहरीले देखे वा देखेनन् सुरक्षाकर्मीले जानुन्,’ ती पाइलटले सेतोपाटीसँग भने, ‘तर, जहाजभित्र सिटमा बसिसकेको अवस्थामा सुरक्षाकर्मी बोलाएर उनलाई झार्नुपरेको थियो।’
यसरी संदिग्ध तरिकाले वाइडबडी जहाजभित्र छिरेका आलम यसपटक मात्रै होइन, एक महिनाअगाडि पनि त्यसरी नै उनलाई फर्काउनु परेको थियो।

आलम अहिले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा छन्। यो घटनाले विमानस्थल सुरक्षामा भने चुनौती दिएको छ।

ती पाइलटका अनुसार सात-आठ जना प्रहरी आएर आलमलाई लिएर गएका थिए। यो प्रकरणले उडान नै प्रभावित भयो र राति १२ बजेपछि मात्रै वाइडबडी कतार उड्यो।

कोही व्यक्तिलाई आन्तरिक तथा बाह्य उडान कुनैमा कागजात र टिकटबिना जहाजस्थलभित्र छिर्न दिइँदैन। तर, उनी कागजातबिना दुई पटकसम्म कसरी अन्तर्राष्ट्रिय उडानको जहाजभित्रै पुगे भन्ने अनुसन्धानको घेरामा छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले घटनाबारे अनुसन्धान भइरहेको बताए।‘एक जना व्यक्ति यसरी जहाजभित्र छिरेपछि कसरी पुगे भन्ने अनुसन्धानको विषय भयो नै, हामी यसबारे गम्भीर रूपमा छानबिन गरिरहेका छौं,’ ढकालले भने।

आलमलाई विमानस्थल सुरक्षा कार्यालयले पठाएपछि हिरासतमा राखिएको गौशाला वृत्त एक अधिकृतले जानकारी दिए।

‘विमानस्थल सुरक्षा कार्यालयले यदाकदा केही घटना हुँदा हामीलाई पठाउने गरेको छ, हामीले उनलाई हिरासतमा राखेका छौं,’ उनले भने।

उनका अनुसार आलम साधारण व्यक्ति देखिन्छन्। उनी आफू विदेश जान हिँडेको बताइरहेका छन्।

‘मानसिक सन्तुलन गुमाएको व्यक्तिजस्तो देखिन्छन्, तर स्वास्थ्य परीक्षण नगरीकन त्यो भन्न सकिएन,’ उनले भने, ‘उनी कसरी विमानस्थल पुगे भन्ने कुरा सुरक्षा कार्यालयले गरिरहेको छ।’

स्रोतका अनुसार आलम यसभन्दा अगाडि पनि गौशाला वृत्तमा पुगेका थिए। उनलाई यसअघि कारबाहीबिनै छोडिएको थियो।

‘हामीकहाँ दुई तीन चोटि आइसकेको व्यक्ति रहेछन्, अहिले हामी पनि उनको बारेमा अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘अदालतबाट म्याद थप भइसकेको छ।’

के मुद्दामा म्याद थप भएको भन्नेबारे उनले खुलाएनन्।

‘यी व्यक्ति विमानस्थलको कुन क्षेत्रबाट कसरी भित्र छिरे र बोर्डिङसम्म पुग्दा सुरक्षाकर्मीले किन रोक्न सकेनन् भन्नेबारे अनुसन्धान भइरहेको छ,’ ती पाइलटले भने।

विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार उनी विमानस्थलको दक्षिण क्षेत्र, जहाँ जहाजको नयाँ पर्किङ छ, त्यहाँको तारबार नाघेर आएको देखिएको छ।

‘यो पहिलो पटकको घटना होइन, उनी दोस्रो पटक आएको बुझिएको छ,’ ठाकुरले भने, ‘उनी तारबार नाघेर आएको सिसिटिभी फुटेजमा देखिन्छ।’

तारबार मर्मतको काम भइरहेको र पूरा भइनसकेको अवस्थामा उनले त्यो ठाउँ रोजेको देखिएको ठाकुरले बताए।

‘उनी मानसिक सन्तुलन ठिक नभएको व्यक्ति भनिएको छ, तर दोस्रो पटक आएको देखिन्छ,’ उनले भने, ‘सत्यतथ्य के हो हामी प्रहरीबाट जानकारी लिँदैछौं, यसरी विमानस्थलभित्र आउने, जहाज चढ्ने उनको वास्तविकता के हो, रौतहटको प्रहरीसँग कुरा भइरहेको छ।’

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...