Friday 22nd May 2026

लघुकथाकार वसन्त अनुभव को लघुकथा “चिट्ठा” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – आज मिति २०७८/०७/२५ गते साहित्यकार वसन्त अनुभवले हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा “ चिठ्ठा “ पढेपछि मेरो मनमा आएका भावनालाई पाठकीय टिप्पणीको रुपमा यहाँ प्रस्तुत गर्दैछु ।

वसन्त अनुभवसँग मेरो साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु ।उहाँ जुन १५, २०२१ मा “पहिलो डेटिङ “ कथा प्रेषित गर्दै हाम्रो लघुकथा पाठशालामा जोडिनु भएको हो ।उहाँका कथाहरु म समयले साथ दिएसम्म पढछु । दैनिक हाम्रो लघुकथा पाठशालामा लघुकथा पोस्टगर्ने लघुकथाकारको रुपमा चिनिनु हुनुहुन्छ ।

साहित्यकार वसन्त अनुभवको वास्तविक नाम वसन्त के.सी.हो । माता भिमा कुमारी खत्री र पिता स्वर्गीय विष्णु बहादुर खत्रीका कान्छा सुपुत्र घोराही उपमहानगरपालिका १४, दाङका स्थायी बासिन्दा हुनुहुन्छ । स्नातकोत्तर (स्वास्थ्य शिक्षा) सम्मको अध्ययन गर्नुभएका साहित्यकार अधिकृत सातौ तहमा प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरी दाङमा कार्यरत हुनुहुन्छ ।

हालसम्म कुनै कृति प्रकाशन भएको नभएपनि गजल, मुक्तक, कविता, कथा, गीत, उदक आदि फुटकर रुपमा विभिन्न पुस्तक तथा पत्रपत्रिकामा प्रकाशित र रेडियोबाट प्रसारित भएको पाउछौ । २०५५/५६ तिरबाट लघुकथा लेखन यात्राको थालनीमा २/३ वटा जति रेडियोबाट प्रसारण पनि भएको थियोे। त्यसपछि २०७७ मा फेसबुकको लघुकथा पेजमा लेख्न थाल्नुभएको हो । साहित्यकारका संयुक्त गीत एल्बम -रसै कागती(२०५८) बजारमा उपलब्ध रहेको छ ।उदक साहित्य समाज, उदक प्रविधा, विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल जस्ता साहित्यिक संघ संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।

प्रस्तुत कथा “चिठ्ठा “मा मुख्यतः दुई पात्रहरु रहेका छन् । मनमाया र फोन गर्ने अपरिचित ।अपरिचित व्यक्तिले तपाई मनमाया बोल्नुभएको हो ? म भारतबाट बोल्दैछु हिन्दी स्वर फोनमा गुन्जियो। हो, तर किन? तपाई को हो ? अनि के कामले फोन गर्नुभएको हो? उसले प्रतिप्रश्न गरी। बधाई छ। तपाईंलाई पचास लाखको चिट्ठा परेको छ जानकारी दिन फोन गरेको।अपरिचितले जानकारी गरायो।

वाहियात! त्यत्तिकै पनि चिट्ठा पर्छ? मैले कुनै टिकट लिएकै छैन्। विहान विहान मलाई मूर्ख बनाउने खोज्ने? तपाईं को हँ ? उसले फोनकर्तालाई झपारी। आप बन गए करोडपती कार्यक्रमबाट बोल्दैछु। तपाईले उक्त कार्यक्रमको क्विज कन्टेष्टमा भाग लिनु भएको होकी होइन् ?सोध्दै फोनकर्ताले विश्वास दिलाउने प्रयास गर्यो। ठिकै छ म तपाईको विश्वासको लागि केही डकुमेन्ट पठाउँछु। हेरेर निर्क्यौल गर्नुहोला भन्दै फोनकर्ताले तुरुन्तै मेसेज बक्समा केही तस्बिरहरू पठायो।
तपाईले चिट्ठाको रकम लिने कि नलिने? लिने भए इन्कम ट्याक्स, टिडिएस लगायत चिट्ठा प्राप्त गर्ने प्रक्रियाका लागि तपाईंले सुरुमा तीसहजार जति जम्मा गर्नुपर्ने हुन्छ। कहाँ जम्मा गर्ने बारे म्यासेज गर्नेछु। आवाजसँगै फोन काटियो। यसरी कथाको अन्त्य भएको छ ।

तपाईंलाई चिठ्ठा परेको छ भनी फोन गरेर रकम लिनु भन्दा अगाडि केही रकम जम्मा गर्नुपर्ने भनी झुक्याउने, ठग्ने र भारतीय नागरिक हुँ भनी भारतकै पनि बेइज्जत गर्ने तितो यथार्थलाई रोचक लघुकथाको माध्यमबाट प्रस्ट पार्न सफल हुनुभएको छ कथाकार । मैले चिठ्ठा किनेको छैन भन्दाभन्दै पनि विश्वासको लागि केही कागजात पठाएर तुरुन्तै पैसा पठाउनु भन्दै फोन काटिएको छ। यस्तो घटना जताततै घटिरहेको छ । यस्तो ठगको फन्दामा नपर्न कथाले सचेत गराएको छ । मनमाया पैसापठाएर ठगिईन् वा पठाईनन् भन्ने उत्सुकता हुदाहुदै कथाको समापन भएको छ ।

१७५ शब्दमा लेखिएको कथाको भाषा सरल छ । यथार्थपरक छ । संवादबाट शुरु भई संवादमा नै अन्त्य भएको छ । समग्रमा भन्नुपर्दा लघुकथाको लघुत्व, सुक्ष्मता र कौतुहलता छ । नजानिदो पारामा कथाले ठुलो संन्देश दिएको छ । कथा सफल छ।

साहित्यकार वसन्त अनुभवको साहित्यिक यात्राले सगरमाथामाको शिखर चुमोस् । २०० भन्दा बढी लघुकथा लेखिसक्नु भएका कथाकारका कृतिहरु सिघ्र पढ्न पाईयोस् भन्ने अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दै सु- स्वास्थ, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

बन्दना घिमिरे
गठ्ठाघर, भक्तपुर

लघुकथा – चिट्ठा
वसन्त अनुभव

“तपाई मनमाया बोल्नुभएको हो? म भारतबाट बोल्दैछु।“ अपरिचित हिन्दी स्वर फोनमा गुन्जियो।

“हो, तर किन? तपाई को हो ? अनि के कामले फोन गर्नुभएको हो?“ उसले प्रतिप्रश्न गरी।

“बधाई छ। तपाईंलाई पचास लाखको चिट्ठा परेको छ। त्यहीँ जानकारी दिन फोन गरेको।“ अपरिचित स्वरले जानकारी गरायो।

“वाहियात! त्यत्तिकै पनि चिट्ठा पर्छ? मैले कुनै टिकट लिएकै छैन्। विहान विहान मलाई मूर्ख बनाउने खोज्ने? तपाईं को हँ ? “ उसले फोनकर्तालाई झपारी।

“मुर्ख बनाएको होइन् । म “आप बन गए करोडपती“ कार्यक्रमबाट बोल्दैछु। तपाईले उक्त कार्यक्रमको क्विज कन्टेष्टमा भाग लिनु भएको होकी होइन्?“ फोनकर्ताले विश्वास दिलाउने प्रयास गर्यो।

“हो तर …. यो कुरा साँचो हो भनेर म कसरी विश्वास गरुँ ?“ ऊ अझै विश्वस्त हुन सकिन।

“ठिकै छ । म तपाईको विश्वासको लागि केही डकुमेन्ट पठाउँछु। हेरेर निर्क्यौल गर्नुहोला।“ फोनकर्ताले तुरुन्तै मेसेज बक्समा केही तस्बिरहरू पठायो।

“तपाईले चिट्ठाको रकम लिने कि नलिने? लिने भए इन्कम ट्याक्स, टिडिएस लगायत चिट्ठा प्राप्त गर्ने प्रक्रियाका लागि तपाईंले सुरुमा तीसहजार जति जम्मा गर्नुपर्ने हुन्छ। कहाँ जम्मा गर्ने बारे म्यासेज गर्नेछु।“ आवाजसँगै फोन काटियो।

घोराही उपमहानगरपालिका १४, दाङ


सम्बन्धित शीर्षकहरु

तितोपाटी- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा…

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई…

बंगलादेश–म्यानमार तनावले भारतलाई के सन्देश दिन्छ ? म्यानमारको विद्रोही समूहसँग सम्बन्धित धार्मिक नेताद्वारा सार्वजनिक गरिएको तथाकथित “स्वतन्त्र अरकान” को नक्साले…

प्रतिकृयाहरू
...