Thursday 30th July 2026

होटलमा लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा


तीतोपाटी डटकम-विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानून बमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए ।

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकीर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गरे ।

हाल प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन खड्काले आफु आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दावी गरेका छन् ।

विर्तामोडको खोप कार्यक्रममा खटिएका केही स्वास्थ्यकर्मी होटल आइसोलेसनमा बस्ने गरेको र सोही क्रममा खोप भेटिएका कारण स्थानीयबासीले खोपमा अनियमितताको आशंका गरेका छन् ।

तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको विर्तामोड नगरपालिकाले स्वीकार गरेको छ ।

होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि विर्तामोडका सामाजिक अभियन्ताले घटनाको निष्पक्ष छानविन र दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफु अनभिज्ञ भएको बताए ।

उनले घटना बारे सोधखोज भइरहेको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

इम्फाल: भारतको मणिपुर राज्यस्थित नोनी जिल्लामा बुधबार बिहान सुरक्षा बल र नागा भिलेज गार्डबीच भएको गोली हानाहानमा एक जना नागा…

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

प्रतिकृयाहरू
...