Saturday 1st August 2026

विराटनगरका खोप केन्द्रमा थेगी नसक्नुको भिड, संक्रमणको जोखिम बढ्यो


तितोपाटी- कोरानाविरुद्धको खोप लगाउन सुरु भएसँगै विराटनगरका खोप केन्द्रमा सर्वसाधारणको थेगीनसक्नुको भिड लाग्ने गरेको छ । पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश १ मै कोरोना महामारीको केन्द्र बनेको विराटनगरमा खोप लगाउन नगरवासीको तँछाड मछाड नै चलेको छ ।

चिनियाँ कम्पनीको भेरोसेल खोप लगाउन खोप केन्द्रहरूमा लाग्ने गरेको भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई समेत सकस पर्दै आएको छ । विराटनगरमा सोमबारदेखि खोप लगाउन सुरु गरिएको हो । तर, अत्याधिक भिड लाग्न थालेपछि खोप केन्द्रहरूमा भौतिक दुरीसमेत कायम हुन सकेको छैन । यस्तो जोखिमपूर्ण भिडले कोरोना संक्रमण थप फैलनसक्ने भन्दै चिकित्सकले सचेत गराएका छन् ।
विराटनगर महानगरपालिकाका १८ वटा वडामा भेरोसिल खोप लगाउन सुरु गरिएको महानगरले जनाएको छ । वडा नम्बर ३ ले भने भौतिक दुरी कायम गराउने र अधिक भिड हुन नदिनेगरी व्यवस्थापन गर्ने भन्दै बुधबारबाट मात्र खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।
नेपाल सरकारले चीनबाट खरिद गरेर ल्याएको भेरोसेल लगाउन खोप केन्द्रहरूमा बिहानैदेखि घुइँचो लागेको छ । विराटनगरको वीरेन्द्र सभागृह र परिवार नियोजन संघको केन्द्रमा सर्वसाधारण बिहानैदेखि लाइन लागेर पालो कुरिरहेका छन् । कोसी अस्पताल केन्द्रमा पनि मानिसहरूको बाक्लो जमघट देखिएको छ । छाता ओढेर उभिएका सर्वसाधारणको लाइन सडकसम्म छ । महानगरले ५५ वर्ष उमेर माथिका व्यक्तिहरूलाई खोप लगाउन सुरु गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।
छुटेका फ्रन्टलाइनर, बैंकर, स्वास्थ्यकर्मीलगायत पनि तोकिएको केन्द्रमा खोप लगाउन पुगेका छन् । तर, पालो कुर्न लामो समय पर्खनुपर्ने भएपछि कतिपय भने त्यसै फर्किएका छन् । विराटनगरस्थित एक बैंकका कर्मचारीले पहिले कोरोना लागेर खोप लगाउन छुटेको र अहिले चिकित्सकको सल्लाहअनुसार खोप लगाउन मिल्ने अवधि भएपछि परिचयपत्र बोकेर केन्द्रमा आउँदा ठुलो घुइँचो भएकाले नलगाएर फर्किएको सुनाए । वीरेन्द्र सभागृह परिसरमा भेटिएका स्थानीय दिनेश साहले एक घण्टाभन्दा धेरै समय उभिएको बताउँदै भने, “खोप लगाउन बिहानै आएर लाइनमा बसेको थिएँ ।”
कोसी अस्पतालस्थित केन्द्रमा पनि ठुलो घुइँचो देखिएको छ । कोसी अस्पतालका मेसु चुमनलाल दासले धेरै भिडभाड भए कोरोनाको संक्रमण थप फैलने जोखिम हुने बताउँदै भने, “आफू र आफ्नो स्वास्थ्यको ख्याल गर्दै खोप केन्द्रसम्म पुग्नुपर्छ । अधिक जोखिम हुन नदिन स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न जरुरी छ ।”
विराटनगर महानगरपालिकाको खोप समन्वय समितिको आइतबार बसेको बैठकले महानगरपालिकाको तीन वटा स्थानमा खोप केन्द्र निर्धारण गरेको थियो । मेयर पराजुलीले भने, “हामीले सकेसम्म भौतिक दुरी कायम गराएर लाइनमा लाग्न अपिल गरेका छौँ । नत्र त खोप केन्द्रमै कोरोनाको जोखिम हुनसक्ने विषयमा पनि सर्वसाधारणलाई सचेत गरिएको छ ।”  वडा कार्यालयका कर्मचारीहरूले खोप केन्द्र पुगेका स्थानीयहरूको नागरिकतामा उल्लेख उमेरका आधारमा सहजीकरण गरिरहेको बताइएको छ । प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ९२ लाख ४० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विदेश जानेहरूका लागि जिल्ला प्रशासन कार्यालय मोरङको सिफारिसमा जनस्वास्थ्य कार्यालयमा गई खोप लगाउने व्यवस्थापन गरिएको जनाइएको छ ।बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

क्रेनमा रुसको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु र ३० घाइते, जसमा ४ बालबालिका पनि छन्। राजधानी किभसहित ड्निप्रो,…

करिब ६०,००० आप्रवासी मोरक्कोबाट स्पेनी भूभाग स्यूटा प्रवेश गरेपछि स्पेनले सीमा नियन्त्रण पुनःस्थापित गरेको छ। स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले मृत्यु…

नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा निधन भएको…

प्रतिकृयाहरू
...