Tuesday 28th July 2026

खोप अनिवार्य हुँदा श्रमिक रोकिए


तितोपाटी- श्रम गन्तव्यका कतिपय रोजगारदाताले प्रवेशका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेपछि रोजगारीका लागि विदेश जान तयार भएका श्रमिक रोकिएका छन् ।

श्रम गन्तव्य देशका सरकारले नेपाली श्रमिकको प्रवेशमा खोप अनिवार्य नगरे पनि कतिपय रोजगारदाताले नेपाली श्रमिकलाई अनिवार्य खोपको नियम बनाएका छन् । आफ्नो रोजगारदाताले कोभिडविरुद्धको खोप लगाएरमात्र आउने नियम बनाएको जनाउँदै कतिपय श्रमिकले सरकारसँग खोपको व्यवस्थापन गर्न अनुरोध गरेका छन् । हाल सरकारले श्रम स्वीकृति खुला गरे पनि समयमै कोरोनाविरुद्धको खोपको व्यवस्थापन गर्न नसक्दा यसको असर वैदेशिक रोजगारीमा समेत पर्ने देखिएको छ ।
धेरै श्रमिक माग गर्ने साउदी अरब, कतार र यूएईले विदेशी श्रमिकको प्रवेशमा खोप अनिवार्य नगरी विभिन्न स्वास्थ्य मापदण्ड भने लागू गरेको कतार र साउदी अरबमा रहेको नेपाली दूतावासले जनाएका छन् । नेपालबाट श्रम गन्तव्यमा जाने उडान सुचारु भएपछि कतार सरकारले ७२ घण्टाभित्रको कोभिड–१९ नेगेटिभ पीसीआर रिपोर्ट, ५ दिन अनिवार्य होटल क्वारेन्टिन, क्वारेन्टिन बसेको चौथो दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएमा थप १० दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम प्रष्ट पारेको छ । यसैगरी साउदी सरकारले पनि प्रवेशपछि निश्चित समय क्वारेन्टिन बस्नुपर्ने लगायतका नियममात्र लगाएको नेपाली नियोगको भनाइ छ । खोप नलगाई गएका श्रमिकले होटल क्यारेन्टिनमा एक लाख रुपैयाँसम्म तिर्नु पर्नेछ ।
साउदी अरबको एक कम्पनीमा काम गर्ने नेपाली श्रमिकले कम्पनीले कोरोनाविरुद्धको खोप लगाएर आउन भनेकाले खोपका लागि विभिन्न निकाय धाएको बताए । कतिपय रोजगारदाताले प्रवेशमा खोप अनिवार्य नगरे पनि भएसम्म खोप लगाएर आउन निर्देशन दिएको रोजगारीका लागि विदेश जान तयारीमा रहेका युवाको भनाइ छ । नयाँ श्रम स्वीकृति लिनेलाई भन्दा बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिने धेरैजसो नेपाली श्रमिकलाई रोजगारदाताले खोप लगाए आउन निर्देशन दिने गरेका छन् । विदेश जाने श्रमिकलाई रोजगारदाताले खोप लगाएर आउन दबाब दिएपछि खोप उपलब्ध गराइदिन अनुरोध आउन थालेपछि स्वास्थ्य मन्त्रालयले विदेश जानेका लागि छुट्टै खोप उपलब्ध नहुने जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख झलक गौतमले सरकारले प्राथमिकताका आधारमा सबैलाई खोप दिने योजना भए पनि विदेश जाने श्रमिकका लागि प्राथमिकता दिएर खोप उपलब्ध गराउने योजना नरहेको जनाएका छन् । उनले खोप उपलब्ध भए वैदेशिक रोजगारी तथा अध्ययन, विदेश फर्किन चाहने नेपालीलाई छुट्टै व्यवस्था गरी कोरोनाको खोप लगाउने बारेमा स्वास्थ्य मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयसँग छलफल गर्न सकिने बताए ।
हाल विदेश जानका लागि नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दैनिक ५०० सयभन्दा बढी रहेको छ । वैदेशिक रोजगार व्यवसायीले भने रोजगारीका लागि विदेश जाने श्रमिकलाई खोप लगाउने विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले रोजगारदाताले खोप लगाएका श्रमिकले लाखांै तिरेर होटल क्वारेन्टिनमा बसाउनुभन्दा खोप लगाएर आउन श्रमिकलाई निर्देशन दिने गरेको बताए । खोप नलगाई रोजगारीमा साउदी अरब जाने श्रमिकले लगभग एक लाख रुपैयाँ क्वारेन्टिनका लागि तिर्नुपर्ने पूर्वअध्यक्ष गुरुङको भनाइ छ । कोरोनाका कारण स्वदेशमा रोजगारी नपाएर विदेश जाने श्रमिकका लागि शुल्क लिएर भए पनि खोपको व्यवस्थापन गर्नुपर्ने बताए । कारोबारबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...