राजतन्त्र ढल्यो- बेसै भयो
लोकतन्त्र चल्यो- बेसै भयो
गणतन्त्र गल्यो- बेसै भयो
लूटतन्त्र फल्यो- बेसै भयो
घरजग्गा लुट्यो- बेसै भयो
बन्दुकले भुट्यो- बेसै भयो
निर्दोलाई कुट्यो – बेसै भयो
ज्यानमारा छुट्यो- बेसै भयो
भ्रष्टाचारी चिने – बेसै भयो
अख्तियारी किने – बेसै भयो
कचहरी छिने – बेसै भयो
खुलेआम हिने- बेसै भयो
रेलगाडी चल्यो- बेसै भयो
हावाबत्ती बल्यो – बेसै भयो
पनडुब्बी टल्यो- बेसै भयो
ग्याँस पाइप फल्यो- बेसै भयो
दक्षिणले मिच्यो – बेसै भयो
उत्तरले थिच्यो – बेसै भयो
पूरबले सिंच्यो- बेसै भयो
पश्चिमले किच्यो – बेसै भयो
सीमा साँध बेचे- बेसै भयो
होइन् भनी छेके – बेसै भयो
नयाँ नक्शा लेखे – बेसै भयो
सत्ता कुर्ची टेके – बेसै भयो
दुताबास धाए- बेसै भयो
गुणगान गाए – बेसै भयो
सहिछाप लाए- बेसै भयो
बाँडीचुडी खाए- बेसै भयो
पार्टी नेता जुटे- बेसै भयो
सकेसम्म लुटे- बेसै भयो
आपसमा फुटे- बेसै भयो
मनभित्रै टुटे- बेसै भयो
चुनावमा नुग्यो- बेसै भयो
मिटिङमा उग्यो- बेसै भयो
जनतालाई ठुग्यो- बेसै भयो
सातपुस्ता पुग्यो – बेसै भयो
खरानी पो घस्यो – बेसै भयो
दरबारै पस्यो- बेसै भयो
राजा भई बस्यो- बेसै भयो
नाग बनी डस्यो- बेसै भयो
छोरी चेली मार्यो – बेसै भयो
लापुर्जा सार्यो – बेसै भयो
बिदेशमा चार्यो – बेसै भयो
नाता गोता पार्यो- बेसै भयो
हुक्काआँ करायो- बेसै भयो
कोरोना चरायो- बेसै भयो
आहत गरायो- बेसै भयो
राहत हरायो – बेसै भयो
गरीवलाई सोस्यो- बेसै भयो
आफ्नालाई पोस्यो- बेसै भयो
बोल्न लेख्न खोस्यो – बेसै भयो
नयाँ आगो झोस्यो- बेसै भयो
मुखिया भो रूके- बेसै भयो
भ्रष्ट नेता लुके – बेसै भयो
काम गर्न चुके – बेसै भयो
जनताले थुके- बेसै भयो
कार्यकर्ता झोले – बेसै भयो
आपसमा पोले- बेसै भयो
हातखुट्टा मोले – बेसै भयो
जथाभावी डोले- बेसै भयो
अन्ततः आगे- बेसै भयो
नवशोषक भागे- बेसै भयो
जनता लौ जागे- बेसै भयो
देशप्रेमी लागे – बेसै भयो
पुष्कर अथक रेग्मी
तानसेन,पाल्पा