Monday 3rd August 2026

अाज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपिंदै


तितोपाटी – आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ ।

आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।

हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले  जानकारी दिनुभयो ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको उहाँले जानकारी दिनुभयो ।

आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

पाशुपत क्षेत्रमा तुलसी वितरण गरिने
यसैबीच पुडासैनी मैत्री समाजले यही साउन ७ गते हरिशयनी एकादशीका दिन पाशुपत क्षेत्रमा १० हजार तुलसी वितरण गर्ने भएको छ । समाजले राम तुलसी र कालो तुलसी गरी १० हजार तुलसीका बिरुवा निःशुल्क रुपमा वितरण गर्ने जनाएको छ । पशुपतिनाथ मन्दिरको पश्चिम ढोकामा बिहान ७ बजेदेखि साँझसम्म तुलसीका विरुवा उपलब्ध गराइनेछ ।

धार्मिक दृष्टिले विष्णु भगवान्का प्रतीकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने परम्परा हुँदा सो एकादशीलाई तुलसी एकादशीसमेत भनिन्छ । एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिएको छ । प्रतिव्यक्ति तीनवटा तुलसीका विरुवा वितरण गर्न लागिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

व्यावहारिक पक्षलाई हेर्ने हो भने वृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र तुलसीलाई मानिन्छ । विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्वपूर्ण मानिने तुलसीको विरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ बनाउन सकिने बताइएको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

अष्ट्रेलियामा घातक H5N1 बर्ड फ्लु का कारण वन्यजन्तुहरूको पहिलो सामूहिक मृत्यु पुष्टि भएको छ। दक्षिण अष्ट्रेलियाको केप जाफ्फा नजिकको बाउडिन…

प्रतिकृयाहरू
...