तितोपाटी – बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनिबोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।
यसैबीच बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । मिचेक घाटको पुल बाढीले बगाएको छ भने दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो तथा कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो ।
यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्याएको छ ।
गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदैआएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ । ताराखोला–१ पूरै र सिले र अर्गलको केही भागबाहेक अन्य स्थान अन्धकार भएको छ । बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्याएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ ।-रासस