Friday 2nd January 2026

तितो सत्य (छन्द कविता) -हरि शर्मा (सुबेदी)


अहम ताल बजायो भने घमण्ड नाच्दछ।
मपाईं भाका गाएमा इर्श्या कम्मर भाँच्दछ।
रिपुले मौका हेरेर बस्छ झुक्क्याई डस्दछ।
अरुले चाल दिएमा चम्चा मुखमा पस्दछ ।१।

भेडाको हुल हुलकै पछि लागेर मर्दछ।
कुत्ताको बाङ्गो पुच्छर सदा बाङ्गो नै पर्दछ।
पुराण सुनी भालुले मकै सखापै गर्दछ।
माहुरी सदा भलाई मात्र गरेर मर्दछ ।२।

सुतेको सिँह जिस्काए झम्टा आफूमै पर्दछ ।
सर्पले दूध पिएर पनि बिष नै झर्दछ ।
कपिको हुल बिगार्न मात्र अगाडि सर्दछ ।
सत्यको साथ लागेको जन अकेलो पर्दछ ।३।

फलाम काटी फलामलाई फितलो पार्दछ।
भएको बल फलामसँग खियाले झार्दछ।
निर्दयी घात आफन्त साथ आफन्त गर्दछ।
रामायणमा रावणलाई भाइले मार्दछ ।४।

हातले दियो खुट्टाको सास्ती धनले गर्दछ।
धनको बात आफन्त साथ अफ्ठ्यारो पर्दछ।
कलिको मान्छे धनको पछि लागेर मर्दछ।
मान्छेको मती धनको सती खरानी पर्दछ ।५।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...