Saturday 11th October 2025

जनै पूर्णिमा – लोक छन्द (झ्याउरे) -हरि शर्मा (सुबेदी)


श्रावण शुक्ल पूर्णिमा तिथि पवित्र दिनमा ।
आङमा जनै राखेर डोरो बाँधिने हातमा ।१।

रक्षाबन्धन कसैले भन्छन् कसैले राखी यो ।
जसरी हामी मनाए पनि आफूकै खुशी हो ।२।

ब्राह्मण जाति शिवको पूजा ध्यानले गर्दछन् ।
शिवालय वा घरमा पनि शिव नै बस्दछन् ।३।

रुद्रको पूजा रुद्रीको रुप श्रध्दाले गरिन्छ ।
शिवको पूजा गरेको स्थल जनैले भरिन्छ ।४।

जनैको साथ रक्षाबन्धन मन्त्रले पवित्र ।
काँधमा जनै हातमा डोरो देखिन्छ बिचित्र ।५।

बहिनी दिदी हातमा बाँध्छन् दाजु र भाइको ।
पहिले देखि भन्दछन् राखी चलेर आएको ।६।

अनेक थरी खानाको रुप घरमा भेटिन्छ ।
सेलरोटी र पायस साथ क्वाँटी नि खाईन्छ ।७।

रक्तचापको समस्या हट्छ जनैको डोरोले ।
मान्यता यस्तो बोकेको कतै भेटिन्छ शास्त्रले ।८।

सुरक्षा गर्छ रक्षाबन्धन हातमा बाँधेर ।
बिस्वास राखी देउता ढुङ्गो भएको मानेर ।९।

हिन्दूको राम्रो संस्कार हाम्रो सबैले जोगाउँ ।
काँधमा जनै हातमा डोरो खुशीले रमाउँ ।१०।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...