ब्यङ्ग्य कविताः- पुराना थाङ्ना
लोक छन्द: (झ्याउरे)
************
कोइली बास्छे कुनामा बसी कसैले सुन्दैन ।
कागको मात्र भएको हावी अहिले युगमा । १ ।
सुटुक्क पस्यो छुचुन्द्रो कतै साहित्य क्षेत्रमा ।
भेटेको जति कत्रन थाल्यो राखेर मुखमा । २ ।
कसैको राम्रो देखेमा नाना छिनमै काट्दछ ।
खोजेर हिँड्छ पुराना थाङ्ना भुजुरी पार्दछ । ३ ।
पारखी भनी घोषणा गर्यो भ्यागुतो आफैले
समाती खुट्टा गर्ल्याम्म पार्छ के गरुन् अरुले । ४ ।
छेपारो पनि फेर्दछ रूप समय सापेक्ष ।
जता नि सर्ने गडौँला बाट के गर्नु अपेक्षा । ५ ।
गोरुले भन्छ मैँ धेरै जान्ने गधाले ज्ञानी छु ।
बाँदर त्यतै उफ्रन थाल्यो बिगार्न जान्दछु । ६ ।
तथापि अग्लो शंकर गौरी अरु नि चुलिनु ।
कोइली बास्दा सत्कार गर्नु आदेश यो लिनु । ७ ।
भनेर यहाँ शास्त्रले भन्छ कसैले सुन्दैन ।
आफूको बाहेक कसैको कथा कसैले भन्दैन ।८ ।
हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका