Wednesday 22nd July 2026

हजारको नोटमा दुर्लभ जुम्ल्याहा हात्ती ‘राम-लक्ष्मण’


साविकको हजारको नोटमा जुन हात्तीको चित्र हामी देख्छौं, त्यो नेपालको हात्ती होइन। ठ्याक्कै कहाँको हो, त्यो पनि थाहा छैन। हेर्दा कान ठूलो देखिएकाले अफ्रिकी मूलको हो कि भन्ने अनुमान गरिएको छ।हात्ती विज्ञ नरेन्द्रबाबु प्रधान भने उक्त हात्ती एसियाली मूलकै रहेको दाबी गर्छन्। ‘हात्तीको आकार र कान हेर्दा अफ्रिकीजस्तो देखिन्छ तर टाउकोले एसियाली नै हो भन्ने पुष्टि गर्छ,’ प्रधानले भने। उनका अनुसार एसियाली हात्तीको टाउकोको माथिल्लो भागमा दुइटा डल्लोजस्तो उठेको भाग हुन्छ, जसलाई ‘ट्वीन डोम हेड’ भनिन्छ। हजारको नोटमा भएको हात्तीको टाउकोमा पनि दुइटा डल्लोजस्तो उठेको भाग देखिन्छ। अफ्रिकी हात्तीमा यस्तो डल्लो एउटा मात्र हुन्छ।

नेपालमै हात्ती पाइने भए पनि नोटमा भने किन अरू देशको हात्तीको चित्र राखियो? यसको जवाफ कसैसँग छैन। त्यो हात्तीको फोटो कसले दियो? त्यो पनि कसैलाई याद छैन।२०२६ सालदेखि प्रचलनमा आएको हजारको नोटमा अब भने नेपालकै हात्ती राखिने भएको छ।

राष्ट्र बैंकले साविकको एउटा हात्तीको सट्टा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट जारी गर्ने जनाएको छ। बुधबारबाट चलनचल्तीमा आउने नयाँ नोटको आकार र रंग भने पुरानै जस्तो हुनेछ।२०६५ कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा देवीकली नामको हात्तीले एकैपटक दुइटा छावा जन्माएकी थिइन्। विज्ञहरूका अनुसार यसरी हात्तीले जुम्ल्याहा बच्चा पाउने घटना विश्वमै दुर्लभ हुन्छ।

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. भीषण गजमेरका अनुसार जनावरको शारीरिक बनोट जति ठूलो भयो, त्यति जुम्ल्याहा बच्चा जन्मिने सम्भावना कम हुन्छ। यसरी जुम्ल्याहा छावा जन्मेको थोरै मात्र घटना छन्। नेपालमा पनि जुम्ल्याहा छावा जन्मेको यो पहिलो हो।जुम्ल्याहा जन्मिहाले पनि बाँच्ने सम्भावना एकदम कम रहने विज्ञहरू बताउँछन्। तर, देवीकलीले चमत्कार गरिन्।उनले जन्माएकी ‘राम-लक्ष्मण’ जुम्ल्याहा छावा अहिले तन्नेरी भइसके। राम जन्मिएको तीन घन्टापछि लक्ष्मण जन्मिएका थिए। अहिले यी दुइटै छावा चितवन राष्ट्रिय निकुञ्जमा छन्।

राम-लक्ष्मण दुवैले जंगलको गस्ती गर्न सुरू गरेको चार वर्ष भइसक्यो। ‘सानो भएकाले राम-लक्ष्मणलाई नियमित जंगल पठाउँदैनौं। सातामा एकचोटि नजिक-नजिकै लान्छौं,’ हात्ती प्रजनन तथा तालिम केन्द्रका शाखा अधिकृत बुधन चौधरीले भने।राष्ट्र बैंकले हजारको नोटमा जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राम-लक्ष्मणको फोटो पठाएको थियो।नयाँ आउने हजारको नोटका डिजाइनर सुन्दर श्रेष्ठ हुन्।

कस्तो छ नोटको डिजाइन?

यो नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र छ। दायाँतर्फ ४ मिलिमिटर चौडाइ भएको चलायमान ‘एनआरबी’ र ‘१०००’ अंकित सुरक्षण धागो छ। दायाँतर्फ हजार दरको नोट जनाउने अंग्रेजी अंकको केही अंश छ।नोटको दायाँतर्फ लालीगुराँस र हजार दरको नोट जनाउने पानीछाप छ। यसमा दृष्टिविहीन व्यक्तिहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी हजार अंक जनाउने रोमन अक्षर ‘एम’ पनि लेखिएको छ।यो नोटमा तत्कालीन गभर्नर चिरञ्जीवि नेपालले हस्ताक्षर गरेका छन्। नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ।’राम-लक्ष्मण’ को चित्र भने नोटको पृष्ठभागमा छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी सीमासँग जोडिएको बंगलादेशको सिलहट क्षेत्रमा अमेरिका र बंगलादेशले संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। दुवै देशले यो अभ्यासलाई…

इरानको सैन्य रणनीतिक कमाण्ड “खातम अल–अनबिया केन्द्रीय मुख्यालय” (Khatam al-Anbiya Central Headquarters) ले अमेरिकाले इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएमा त्यसलाई…

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

प्रतिकृयाहरू
...