Tuesday 4th August 2026

दुलाहाले दाईजो नलिएपछी दुलहीले बाडीन गाँउलेलाई कपडा


तितोपाटी -सप्तरीमा केटापक्षले दाइजो नमागेपछि बेहुलीले गाउँका गरिब, दलितलाई साडी, धोतीलगायत कपडा बाँडेकी छिन्। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका ४ मधवापुरकी अभिलाषा झा र सप्तरीकै बलान बिहुल गाउँपालिका ४ का अमितकुमार झाको बिहीबार सम्पन्न विवाहमा केटीपक्षले मुस्लिम टोल, मुसहर टोलका ४२५ जनालाई साडी, धोती र भेस्ट वितरण गरेका हुन् ।नम्बरी खेत, मोटरसाइकल, लैनौ भैसी, नगद रुपैयाँ दाइजोमा नदिए विवाह नै नहुने तराई मधेसमा बेहुला पक्षले दाइजो नमागेकाले बेहुलीका बुवा शैलेन्द्रचन्द्र झाले दाइजोमा दिनुपर्ने रकम गरिब, दलितका लागि खर्च गरेको बताए । उनले भने, ‘छोराछोरी बराबर भएकाले दुबैलाई पढाएको छु, विवाहमा केटा पक्षले दाइजो नै नमागेपछि खुशीसाथ गरिबलाई कपडा वितरण गरेर छोरीका लागि आशिरवाद मागेको हुँ।’

पछिल्लो समय दाइजो लिनुदिनु सामाजिक कुरीति मानिदै आएपनि दाइजोको रकम लेनदेन गरेर मात्र तराईमा विवाह गरिन्छ । तराईका अधिकांश स्थानमा दाइजोको डरलाग्दो रुप छ। दाइजो नल्याएको निहुँमा बुहारीलाई कुटपिट गर्ने, जलाउने मात्र नभइ मार्नेसम्मका घटना भएका छन् ।दाइजोमा भनेजति रकम नपुग्दा कतिले विवाहसमेत तोडेर हिँडेका थुप्रै उदाहरण छन् । यस्तोमा आफ्नै गाउँठाउँमा उदाहरणीय विवाह भएकोमा गौरव महसुस भएको विवाहको निम्तो मान्न पुगेका संविधान सभाका पूर्व सदस्य अशोक मण्डलले बताए ।

केटापक्षले दाइजो प्रथाको विरोधी रहेकाले दाइजो नमागेको बताए।अमितले आफ्नी हुनेवाला श्रीमति इञ्जिनियर र रोजगारी पनि गरिरहेकीले आफूलाई श्रीमतिको सोही शिक्षा दाइजो भएको भन्दै दाइजो नमागेको बताए ।विवाहअघि बेहुलीले मधवापुरको तीन टोलका एक सय २५ जना महिलालाई साडी, २० जना पुरुषलाई धोती र २७५ जना बालबालिकालाई भेष्ट वितरण गरिन् । दक्षिणासहित आशिर्वाद लिने चलन विपरित बेहुलीका हातबाट नयाँ वस्त्र ग्रहण गर्दै गाउँलेले टाउकोमा हात राखेर आशिर्वाद दिए । बेहुली अभिलाषाले गरिब, दलितलाई साडी, धोती बाँडेर आशीर्वाद माग्दा आफ्नो सपना पुरा भएको विश्वास व्यक्त गरिन् ।

उनले विवाहमा दाइजो दिनुपर्ने रुपैयाँ सामाजिक काममा खर्च गर्न पाउँदा खुशी लागेको बताइन् । काठमाडौं र राजविराजमा घर भएपनि मूलघर मधवापुरबाटै गाउँलेलाई साक्षी राखी विवाह गर्न पाएकोमा उनी खुशी देखिन्थिन् ।विवाहको अवसरमा ग्रामीण विपन्न परिवारलाई नयाँ कपडा वितरण गरेकोमा जाडो छल्न सजिलो हुने दृष्टिविहिन चन्दन सदाले बताए । अभिलाषा समाजसेवी एवम राजनीतिकर्मी शैलेन्द्रचन्द्र झाकी छोरी हुन्। इन्जिनियर अध्ययन पूरा गरी अभिलाषा नेपाल स्काउटमा कार्यरत छिन्। अमित पनि इन्जिनियर हुन् ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

नेपालका धेरै गाउँघरमा पुस्तौँदेखि उत्पादन हुँदै आएको रुखकटहर (कटहर) अहिले किसानका लागि आम्दानीको स्रोत बन्नुको सट्टा घाटाको कारण बन्दै गएको…

प्रतिकृयाहरू
...