तोयानाथ उपेक्षित – धन कमाए पछि मानिसलाई नाम कमाउने धोको बढ्छ । यसको मतलब धन नभई नाम कमाउन सकिंदैन भन्ने चाही होईन । जसले मानिसका लागि असल काम गर्छ, उच्च स्तरको योग्यता हासिल गरेर कुनै योगदान दिन्छ, विशेष प्रकारको विज्ञता प्रस्तुत गरेर नयाँ केही चिज दिन्छ वा राजनिती, समाजसेवा, कला, गला, खेलकुद र अन्य अदभुत काम गरेर देश र समाजको निम्ति विशेष पहिचान बनाउछ उही सेलिब्रेटी बन्छ, नेता वा सम्मानित व्यात्तित्व हुन सक्दछ । नत्र सवकोहीको पुरपुरोमा नाम कमाउने योग्यता हुदैन । तर यदि अकुत सम्पती छ भने उसले नाम कमाउन सहजै सक्छ मात्र खर्च गर्न सक्ने मन र हिम्मत हुन पर्दछ ।
एनआरएनएलाई धनको औकात देखाउने प्लेटफर्म हो भन्न त हुदैन किनकी धन विना मेहनत र लगानी कसैले शायदै कमाएको होला । उनीहरुसँग सवै खालको योग्यता हुँदा हुँदै पनि मुलुक बाहिरको नेपाली मन र माया स्थापित गर्ने अवसर चाही एनआरएन पक्कै हो । यहि प्लेटफर्मले उनीहरुको आर्थिक, बौद्धिक र समाजीक हैसियत प्रस्तुत गर्न मौका दिएको छ । उनीहरुलाई धनी अमेरिकन, अफ्रिकन, जापानीज, अष्ट्रेलिन, रसियन, बेलायती वा जर्मनी भएर बाँच्नु भन्दा गैरआवासीय नेपाली हुन पाउनुमा गर्व लागेको हुन पर्दछ । यही आफ्नोपन, आफ्नो भाषा, संस्कृति र मुलुकको मायाले दुनियाका समृद्ध देश भन्दा नेपाल नै प्यारो र आत्मिय छ भन्नेमा कसैको दुईमत नहोला ।
यसो भनिरहँदा बास्तवमै आमाको काख नभूलेर, त्यो गाउँ, भिर पाखाको बालापन सम्झेर मात्र एनआरएन भएका भनियो भने सतप्रतिशत ठिक नहोला । उनीहरुले लगानी गर्ने ठाउँ नपाएर नेपाल सम्झेका होलान भनियो भने त झन गलत हुन्छ। कुरा यति चाहि पक्का हो अरुको देशमा भोगको स्वर्ग सधै रहला नरहला ? अरुको देशमा बाँचेको जीवनमा नेपालीपन जीवन्त होला नहोला, त्यहाँको राष्ट्रियता उसको निम्ती कुन दर्जाको छ ? कुनै दिन आफ्नो देश खोज्न पर्ने दिन आए के गर्ने होला ? एनआरएन हुन खोज्नुका अनेक कारण छन । सुरक्षित र संरक्षित कमाई हुदैमा सधै सुरक्षित भविश्य हुन्छ भन्ने छैन । विश्वभरी हार्ड लाईनर राष्ट्रियताको प्रभाव बढदो छ । त्यसले कुन देशमा कति बेला के हुन्छ थाहा हुदैन । अमेरिका होस वा भारत अहिले हार्ड लाईनर राष्ट्रियता वा धर्मबाट निर्देशित हुदैछन भने विश्वभर रहेका नेपालीहरु उनीहरुका लागि सधैभरी आफ्न्त बनेर सम्मानित जिवन जिउन पाउँछन भनेर कसरी भन्न सकिन्छ । यो कुरा एआरएनहरुले राम्ररी बुझेका छन । खाडीमा रहेका एनआरएनको प्रकृति बेग्लै खालको छ।उनीहरु अस्थायी एनआरएन हुन । उनीहरु साँच्चै भन्दा बास्तविक एनआरएनका लागि सहयोगी मात्र हुन ।
एनआरएनमा तीन प्रकारको श्रेणी छ । पहिलो नम्बरमा एकदमै धनाढ्य व्यपारी, उद्योगपति वा उच्च स्तरको सम्पन्न मानिस छन । दोश्रो श्रेणीमा एनआरएनको चुनावमा आउन र जान सक्ने डेलिगेट्सको हैसियत राख्ने पर्दछन भने तेश्रो प्रकारको एनआरएनका लागि सदस्यता शुल्क समेत अरुले तिरेर बनाई दिन पर्दछ । खास गरेर यस्ता एनआरएन मध्यपूर्व र मलेशिया लगायत देशका श्रमिकहरु पर्दछन । आखिर सवैको चुनावमा मतदानको हैसियत समान भएकाले उक्त समयमा सवै समान जस्तै देखिन्छन । सानोका सामु बलियो एनआरएन हात फैलाउदै माग्न आईरहेको हुन्छ र त्यो सानो फुच्चेले विग टक गरिरहेको हुन्छ यो २४ घण्टाको रमिता देख्न दुई बर्ष कुर्न पर्दछ ।
हो यहाँ अब एनआरएनको नेतृत्वका लागि मरिहत्ते गर्नेको स्वार्थ के हो ? जहाँ लाखौ करोडौ खर्च भईरहेको हुन्छ । नाम प्रमुख कारण जस्तो देखिए पनि नेतृत्वमा जानेको पहुच बेग्लै हुने हुन्छ । जो सँग धन छ उसले त्यसलाई यहाँ व्याक्तिगत रुपमा पनि लगानी गर्न सहज बातावरण खोजिरहेको हुन्छ । सरकारसँग एनआरएनको नेतृत्वबाट सिधै हिमचिम बढ्ने भएपछि उसका निम्ति नाम र काम सँगसँगै अघि बढ्नु स्वभाविक हो । सामाजिक हैसियत, राजनैतिक पहुच, व्यापारिक तागत, आर्थिक लाभ र लगानीको पहुच बढ्ने भएपछि करोड खर्च गर्न के समस्या भो र ? जो सगँ छ उसले खर्च गर्छ र आम्दानी बढाउँछ । एनआरएनको नेतृत्वको लागि हत्ते हाल्नुको कारण यिनै हुन । देख्नेले दिन आएका एनआरएन मात्र देख्यो भने एक हिसावले होईन भनेर विरोध गर्न कुनै जरुरी छैन तर लिने गरी उसको आधार एनआरएन मार्फत कोरिन्छ । उद्देश्यका रुप, प्रकार र प्रकृति, तरिका र विधी धेरै छन । एनआरएनहरुले सकेसम्म नेपाललाई दिउन र लिउन, यसमा आपत्ति कसैको हुदैन । लगानी गर्ने जो सुकै आए पनि त्यसले कमाएर लाने नै हो । देशलाई माया गर्नेले सवै लादैन । लगे पनि एकदिन सवै लिएर आउँन पनि सक्छ । यसर्थ सवैले एनआरएनलाई गाली हैन माया गरिरहुँ । एनआरएन जस्तो एक करोड नेपालीको प्लेटफर्म देशकै हितमा, नेपाली कै हितमा काम गर्ने भएकाले यीनको सानो तिनो कमिकजोरीमा सत्तो सराप नगरौ ।