Tuesday 18th August 2026

अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण


अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार इरानका विभिन्न सैन्य पूर्वाधारमाथि अतिरिक्त आक्रमण गरेको जनाएको हो ।

सेन्टकमका अनुसार शुक्रबार इरानी आक्रमणको जवाफस्वरूप अमेरिकी कारबाहीपछि इरानलाई युद्धविराम सम्झौताको पालना गर्ने अवसर दिइएको थियो । तर, इरानले शनिबार बिहान करिब ४ः३० बजे (स्थानीय समय) एकतर्फी आक्रमणकारी ड्रोन प्रहार गरी पानामाको झण्डा बोकेको तेलवाहक ट्याङ्कर लाई निशाना बनाएको आरोप अमेरिकाले लगाएको छ ।्उक्त जहाज होर्मुज जलडमरूमध्य नजिकै दुई करोडभन्दा बढी ब्यारेल कच्चा तेल बोकेर गइरहेको सेन्टकमले जनाएको छ ।

अमेरिकी सेनाले त्यसपछि इरानको सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा समुद्री सुरुङ (माइन) बिछ्याउने क्षमतासम्बन्धी सैन्य संरचनामाथि लक्षित आक्रमण गरेको जनाएको छ । सेन्टकमले होर्मुज जलडमरूमध्य हुँदै अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवतजावत जारी रहेको उल्लेख गर्दै अमेरिकी सेना सतर्क, सक्षम र आवश्यक परे थप कारबाहीका लागि तयार रहेको जनाएको छ ।

यता, इरानको खाताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम अलफिकारले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई कडा चेतावनी दिएका छन् ।

उनले लेखेका छन,‘तिमीहरूले हाम्रो सार्वभौमिकतामाथि प्रहार गरेका छौ। अब समीकरण बदल्ने व्यावहारिक जवाफको अपेक्षा गर । तिमीहरूले गलत आकलन गरेका छौ र हाम्रो धैर्य समाप्त भइसकेको छ । लामो र अन्त्यहीन रातको तयारी गर । अबका केही घण्टाले हाम्रो शक्तिको उत्तर दिनेछन् ।’

यसैबीच, बहराइनले पनि शनिबार इरानमाथि आफ्नो भूमिमा धेरै ड्रोन प्रहार गरेको आरोप लगाएको छ । बहराइनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटना आफ्नो सार्वभौमिकतामाथिको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै यसले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्ने प्रयासलाई कमजोर बनाएको आरोप लगाएको छ ।

यो घटनाक्रम पश्चिम एसियामा हालैको द्वन्द्व अन्त्य गर्न गरिएको युद्धविराम लागू भएपछि अमेरिका र इरानबीच पहिलो पटक प्रत्यक्ष सैन्य आक्रमण आदानप्रदान भएको केही घण्टापछि सार्वजनिक भएको हो । एएनआई


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको…

प्रतिकृयाहरू
...