Tuesday 6th October 2026

फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प: प्रशान्त क्षेत्रमा सुनामीको चेतावनी


सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यो भूकम्प फिलिपिन्सको बुरियास सहरबाट लगभग २५ किलोमिटर पश्चिम-दक्षिणपश्चिम क्षेत्रमा स्थानीय समय अनुसार सोमबार बिहान ७:३७ बजे गएको हो। यो भूकम्प सन् १९९० यता फिलिपिन्समा महसुस गरिएको सबैभन्दा शक्तिशाली धक्कामध्ये एक भएको बताइएको छ।

जर्मन अनुसन्धान केन्द्र फर जियोसाइन्सेस (जीएफजेड) का अनुसार भूकम्पको गहिराइ कम रहेकाले सतहमा यसको शक्तिशाली कम्पन महसुस हुनुका साथै सुनामीको जोखिम निकै बढेको छ। भूकम्पका कारण मिन्डानाओ क्षेत्रका जनरल सान्तोस सिटी र आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणहरूले देखाएका छन्।

स्थानीय प्रहरीका अनुसार अहिलेसम्म कम्तीमा एक जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन् भने जेनेरल सान्तोस लगायतका सहरमा कयौँ घर र व्यावसायिक भवनहरू भत्किएका छन्।

भूकम्पको धक्का कतिपय क्षेत्रमा यति तीव्र थियो कि स्थानीय सुरक्षा अधिकारीहरूले यसलाई आफ्नो जीवनकालकै सबैभन्दा शक्तिशाली महसुस भएको बताएका छन्। मुख्य भूकम्पपछि त्यस क्षेत्रमा ६.१ र ६.० म्याग्निच्युडका शक्तिशाली परकम्पहरू (आफ्टरशक्स) जाने क्रम जारी रहेकाले थप जोखिम बढाएको छ।

यस शक्तिशाली भूकम्प लगत्तै फिलिपिन्स, इन्डोनेसिया, मलेसिया र जापानसहित प्रशान्त महासागरीय क्षेत्रका धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकी सुनामी चेतावनी प्रणाली र प्यासिफिक सुनामी वार्निङ सेन्टरले फिलिपिन्सका कतिपय तटीय क्षेत्रहरूमा ३ मिटर (१० फिट) सम्मको खतरनाक सुनामी छाल आउन सक्ने चेतावनी दिएका छन्।

त्यस्तै इन्डोनेसिया र मलेसियाका तटीय क्षेत्रहरूमा १ मिटर (३ फिट) सम्मका छालहरू आउन सक्ने सम्भावना औंल्याउँदै तटीय क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित र डामी स्थानतर्फ जान आग्रह गरिएको छ।

फिलिपिन्स र इन्डोनेसियाका भूभौतिकी एजेन्सीहरूले उत्तरपूर्वी र दक्षिणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र समुद्री किनारबाट टाढै रहन निर्देशन जारी गरेका छन्। प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित भएका कारण फिलिपिन्स र यस आसपासका क्षेत्रहरू भूकम्प र ज्वालामुखी विस्फोटको उच्च जोखिममा रहने गर्दछन्।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...